काकडभिट्टाबाट लत्ताकपडा र सुपारी बरामद
झापा : पूर्वी नाका झापाको काकडभिट्टाबाट लत्ताकपडा र सुपारीसहित करिब ४ लाख मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ स्थित काकडभिट्टा नाकाबाट भारततर्फ अवैधरूपमा लैजाँदै गरेको पाँच बोरा सुख्खा सुपारी बरामद गरेको हो।
त्यस्तै सोही नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको चार पोका कपडा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
प्रहरीले ५० हजारको सुपारी र ३ लाख ५० हजारको सटिङसुटिङको कपडा बरामद गरेको हो।
बरामद गरिएको सुपारी र कपडालाई आवश्यक कारवाहीका लागि आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइसकेको जनाइएको छ।