बाजुराको बडिमालिकामा चार घर बगायो, चार परिवार विस्थापित
बाजुरा : मंगरबार राति परेको अविरल वर्षाका कारण बुढीगंगा नदीमा आएको बाढीले बाजुरामा चारवटा घर बगाएको छ।
जिल्लाको बडिमालिका नगरपालिका-२ भौनेरामा घर बगाउँदा चार परिवार विस्थापित भएका छन्।
स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले बताए।
बिहानै नेपाल प्रहरी नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थल तिर पठाएको र टोलीले उद्धार गरि विस्थापित
परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रहरी प्रमुख थापाले बताए।
चार परिवारका २३ जना परिवार पशु चौपाएलाई उद्धार गरिएको जनाएको छ।
खेतीयोग्य जमिनको क्षतिको विवरण आएको छैन। बुढीगंगा नदीमा आएको बाढीले कटान गरिरहकोले नदी छेउछाउका नागरिकहरूलाई सर्तक रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।