वीरगन्जमा पनि कोरोना संक्रमण बढ्यो
वीरगन्ज : देशभर फेरि कोरोना संक्रमणदर बढ्न थालेसँगै वीरगन्जमा पनि संक्रमित फेला पर्न थालेका छन्।
वीरगन्जमा एकैदिन ६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कोरोनाको तेश्रो लहर शुन्य भएपछि यता पहिलो पटक वीरगन्जमा एकैदिन ६ जनामा संक्रमण भेटिएको हो।
नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालामा मङगलबार ३४ जनाको पिसिआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
उनका अनुसार, संक्रमण पुष्टि भएका सबै ६ जना महिला हुन्। उनीहरूमध्ये वीरगन्जको एक नर्सिङ कलेजका ५ जना छात्रा र १ जना कलैयाको रहेको डाक्टर सिंहले बताए।
संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइशोलेनमा बस्ने गरि पठाइएको डाक्टटर सिंहले जानकारी दिए।
कोरोनाको तेश्रो लहर शुन्य भएपछि पहिलो पटक मंगलबार अस्पतालको प्रयोगशालामा ३४ जनाको परीक्षण गरिएको र ती मध्ये ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए।
डाक्टर सिंहले भने, 'यसले के संकेत गर्दैछ भने अब फेरि वीरगन्जमा पनि संक्रमण देखिदैछ। तर आत्ति हाल्नुपर्ने अवस्था भने छैन। सजग र सतर्क भने हुनु नै पर्छ।'
यसअघिका महामारीका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका उपाय भने फेरि हरेक नागरिकले अपनाउनुपर्ने सुझाव उनले दिए।
मंगलबार एकै दिन ६ जनामा संक्रमण पुष्टि भएपछि त्यसलाइ मध्यनजर गरि नारायणी अस्पतालमा १७ शैयाको कोभिड उपचार कक्ष तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।