चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ
झापा : चेक बाउन्स चेक मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका- ४ निवासी दिलकुमार कार्की रहेका छन् ।
कार्की राष्ट्रियस्तरका पूर्वफुटबल खेलाडी समेत हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले बिहीबार बिहान सुरुङ्गा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
उनलाई झापा जिल्ला अदालतले चेक बाउन्सको मुद्दामा एक वर्ष कैद र एक हजार जरिमानासहितको सजाय सुनाइएको थियो । बिगो ७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
कनकाई- ३ स्थित प्रधान होटेलका सञ्चालक मिनकुमार प्रधानले कार्कीविरुद्ध चेक बाउन्सको मुद्दा हालेका थिए ।
कार्कीले प्रधानलाई १० लाख रुपैयाँको चेक दिएका थिए । तर, कार्कीको बैंक खातामा पैसा थिएन ।