कार्तिकाको व्यथा : स्वास्थ्य चौकी पुगिन्, तर बाटोमा बच्चा जन्माइन्
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालका २ की ३५ वर्षीया कार्तिका विकलाई बिहीबार दिउँसो सुत्केरी ब्यथा लाग्यो। ब्यथा लागेपछि आफन्तले गाउँबाट एक घण्टाको दूरीमा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्र पुर्याए।
माझगाउँ स्वास्थ्य इकाईमा स्वाथ्यकर्मी नभएपछि आफन्तले कार्तिकालाई घर फिर्ता ल्याउँदै गर्दा ताहाडा खोला भन्ने ठाउँमा ब्याथाले च्याप्यो। उनले बीच बाटोमै छोरा जन्माइन्।
'कार्तिका विकले सुत्केरी नियमित स्वास्थ्य चेक गरे नगरेको थाहा भएन। सुत्केरी ब्यथा लागेको थाहा पाएपछि घरभन्दा पनि स्वाथ्य इकाईमा लिएर सुत्केरी गराउँदा राम्रो हुने भन्दै लग्यौं। तर स्वास्थ्य इकाईमा स्वास्थ्यकर्मी नै नभएपछि फिर्ता ल्याउँदा ल्याउँदै बच्चा जन्माउन पुगिन्,' स्थानीय बलबहादुर विकले भने।
वडाध्यक्ष अजय बहादुर विकका अनुसार माझगाउँ इकाई स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको बताए। स्वामीकार्तिक खापर गाउँपालिकाले यो साउन महिनादेखि करारका कर्मचारीहरुको करार सेवा थप नगरेपछि माझगाउँ स्वास्थ्य इकाईमा कर्मचारीविहीन भएको अध्यक्ष विकले बताए।
माझगाउँ स्वास्थ्य इकाई केन्द्रमा कार्यरत अनमी र अहेव दुबै करारका थिए। म्याद थप नगरेपछि उनीहरु काममा आउन छाडेका थिए।
आवश्यकताका आधारमा मात्र करार थप गर्ने वा विज्ञापनमार्फत् भर्ना गर्ने बताएको भए पनि गाउँपालिकाले अहिलेसम्म कर्मचारी ब्यवस्थापन नगर्दा समस्य भएको अध्यक्ष वकले बताए।
पालिकाका अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। बाजुरामा ३ वर्ष यता ८ जना गर्भवती तथा सुत्केरी आमाले ज्यान गुमाइसकेका छन्।