सीमाविहीन श्रद्धा

सीमाविहीन श्रद्धा

कहिल्यै भेटिनँ प्रत्यक्ष, विश्वेश्वरप्रसाद कोइरालालाई। तर, चिनेकै जस्तो, जानेकै जस्तो उनको नाम चेतनाले बुझ्ने भएदेखि नै मस्तिष्कमा खेल्यो। थाहा छैन, पहिलोपटक उनको नाम कहिले सुनें ? राजनीतिक प्रसंगमा सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, भरतशम्शेर, डा. केआई सिंह, महेन्द्रनारायण निधि, भद्रकाली मि श्रहरूको नामसम्म सुनेको हुँ।

कुनै एक साँझ। मिति स्मरणमा छैन। अलइन्डिया रेडियोबाट आएको साँझको नेपाली भाषाको समाचार– ‘नेपालका नेता वीपी कोइरालालाई आज नेपाल सरकारले फाँसी दिएको छ।’ जसले मनमा खैलाबैला मच्चायो। बालमनले त्यतिखेर के सोच्यो होला ? प्रष्ट सम्झना छैन। तर यत्तिचाहिँ धमिलो–धमिलो थाहा छ, त्यसबेला मन काँपेको थियो। सम्भवतः बालमस्तिष्कमा एउटै दृश्य फनफनी घुमेको हुनुपर्छ, फाँसी भनेको जिउँदो मान्छेलाई डोरीमा झुन्ड्याउनु हो र कोही मान्छे डोरीमा झुन्डिरहेको छ। ओहो ! जिउँदै, श्वास फेरिरहेको मान्छेलाई डोरीमा झुन्ड्याउँदा कस्तो होला ? सायद मनमनै अत्यन्त त्रसित भएको थिएँ र त्यही त्रस्त मनस्थितिमा कल्पना गरें– किताबमा पढिएका/देखिएका हाम्रा शहीदहरूको अनुहार।

तथापि समाचार गलत थियो। यसैबीच २०३३ पुसमा ‘राष्ट्रिय मेलमिलाप नीति’को नारा दिएर वीपी नेपाल प्रवेश गरेका थिए। पछि बुझें, ‘राष्ट्रिय मेलमिलाप’को त्यो नीतिको प्रमुख बुँदा ‘राजा र मेरा घाँटी जोडिएको छ।’ यो वाक्यले व्यापक आलोचना पनि खेप्नुपरेको थियो। त्यसको कुनै पर्वाह नगरी शुभचिन्तक–साथीको सरसल्लाह–सुझावलाई अटेर÷बेवास्ता गर्दै सर्वत्र चर्चा चलेझैं शिरमा कात्रो बेह्रेर स्वदेश आएका थिए उनी। उनीमाथि राज्यद्रोहको आधा दर्जनभन्दा बढी मुद्दा थिए। कदाचित् ती पुष्टि भएमा उनलाई मृत्युदण्ड दिइने हल्ला व्यापक थियो।

देशका लागि गोली खाने वा फाँसीमा झुन्डिने मात्रै शहीद कहलिने हुन् कि देशकै लागि आफ्नो पूरै जीवन अर्पण गर्ने महान् मान्छे पनि शहीद हुन् ?

२०३३ सालदेखि धेरै समयसम्म वीपीमाथिको राजनीतिक मुद्दाहरूमा निकै बहस भए। अन्ततः तत्कालीन राजा वीरेन्द्रबाट उनलाई आममाफीको घोषणा भयो। त्यसले देशमा नौलो तरंग ल्यायो। र, त्यो तरंगमा अर्को तरंग थपियो– देशमा जनमत संग्रहको घोषणाले। सोका लागि निर्वाचन हुने पूर्वसन्ध्यामा पहिलोपटक उनको आवाज प्रत्यक्ष सुनें। टुँडिखेलको खुलामञ्चमा आयोजना भएको थियो विशाल जनसभा। त्यही सभाबाट बहुदलको पक्षमा नीलो रङ रोज्ने आह्वान गरिएको उनको आवाज आइरहेको थियो। डेरा गरी बसेको भोटाहिटीको घरको कौसीबाट सुनेको थिएँ, त्यो आवाज। अहिले पनि त्यो आवाज प्रतिध्वनित हुन्छ। सामान्यतः अलिक फरक किसिमको लाग्ने, घाँटीको क्यान्सरबाट ग्रसित उनको मसिनो स्वर माइकमार्फत आउँदा कुनै नारीआवाजजस्तो सुनिएको थियो।

राजनीतिक क्षेत्रमा उनको स्पष्ट छुट्टै दर्शन थियो– ‘समाजवाद’को। आर्थिक विपन्नताबाट गुज्रिरहेको विकासोन्मुख देशमा तत्कालीन समय सुहाउँदो प्रत्येक एक परिवारका लागि कमसेकम ‘एउटा बस्ने घर, एकहल गोरु र एउटा दुहुनो गाई’को राजनीतिक लक्ष्य राखेका थिए। राष्ट्रियताको सन्दर्भमा भन्ने गर्थे, ‘जब–जब राष्ट्रियताको बारेमा तपाईंलाईं द्विविधा हुन्छ, त्यस्तो बेलामा एकमुठी माटो उठाएर त्यसलाई सोध्नुहोस्। त्यसले के भन्छ ? त्यो सुनेर निर्णय लिनुहोस् !’

०००

वीपीमा तर्कशील व्यक्तित्वले बास गरेको थियो। कुनै पनि विषयमा आफ्नो धारणाको तार्किक बहस गर्न सक्ने अद्भूत् क्षमता थियो उनमा। प्रसंगवश, सेना विषयक घटनामा वीपीको तार्किक बहस सबैभन्दा स्मरणयोग्य छ। सन् १९४७ मा विराटनगरको जुटमिलको हडतालको क्रममा उनलाई आफ्नो अघिपछि सेना लगाएर काठमाडौं ल्याइँदै गर्दा उनीभित्र जुर्मुराइरहेको थियो– ‘के सेनासँग आत्मनिर्णयको क्षमता हुँदैन ? सेना सधैं किन ‘नुनको सोझो’ भन्छ ? सधैं किन एउटै जवाफ आउने गथ्र्यो– हामी त हुकुमका बन्दी हौं। त्यही हुकुम मान्ने आफ्नो कर्तव्य पूरा गरिरहेछौं।’

‘कसको हुकुम ? ’ एक दिन वीपीले एक सैनिकका सामु अनभिज्ञता दर्शाए। सैनिकले सांकेतिक रूपमा ‘माथि’ भनेर उच्चअधिकारीतर्फ इशारा गरे। वीपीले तर्क गरे, ‘ती माथिकाले जुनसुकै आदेश दिए पनि मान्नुहुन्छ तपाईं ? ’

‘हाम्रो लागि सबै थोक माथि हो। आदेश भन्नुस् कि अर्डर भन्नुस्, वा हुकुम भन्नुस्; जे भन्नुस् त्यही नै सर्वोच्च हुन्छ हाम्रो लागि।’ सैनिकले आफ्ना लागि यही नै अकाट्य सत्य भएको बताए। ‘ए... ’, वीपीले तत्काल तातो फलाममा घन ठोके, ‘माथिबाट आदेश आयो भने अपराध पनि गर्न सक्नुहुन्छ तपाईं ? ’

‘सक्छु।’ सैनिकले हाँसेर भने।

वीपीले प्रश्न थपे, ‘बलात्कार पनि ? ’ ‘सक्छु महाशय।’ आफ्ना छातीमा झुन्ड्याइएका तक्माहरूप्रति गर्व गर्दै सैनिक बोले। तत्काल वीपीले पर्तिरको एउटा गाउँतिर औंल्याउँदै उनलाई सोधे– ‘ऊ त्यो गाउँको आइमाईलाई बलात्कार गर्न सक्नुहुन्छ ? ’ ‘सक्छु’ उनले छाती जुरुक्कै उचाल्दै भने– ‘अनुशासनको कुरो हो, यदि माथिकाले अर्डर गर्छन् भने किन नसक्नु ? सक्छु, पक्कै सक्छु।’

२०३३ सालदेखि धेरै समयसम्म वीपीमाथिको राजनीतिक मुद्दाहरूमा निकै बहस भए। अन्ततः तत्कालीन राजा वीरेन्द्रबाट उनलाई आममाफीको घोषणा भयो। त्यसले देशमा नौलो तरंग ल्यायो।

ओहो ! बडो तिलमिलाउने खालको जवाफ थियो त्यो। स्वभावतः वीपी आश्चर्यमा नपर्ने कुरै भएन, कस्तो अचम्मको रहेछ यो ‘माथि’ भन्ने विषय ! जसको अर्डरले एक सैनिक बलात्कार गर्नसमेत तयार छ। एक हिसाबले वीपी अत्यन्तै चिन्तित पनि भए यस कुराले कि कति विसंगतपूर्ण अनुशासन कायम छ समाजमा ? यही चिन्ताकै बीच वीपीले ती सैनिकको मर्ममाथि प्रहार गर्दै सोधे– ‘माथिको अर्डर पाए... त्यसो भए... तपाईं आफ्नी आमा...।’

वीपीले वाक्य पूरा गर्नै परेन, सैनिकको अनुहार रातो भयो। वीपीसामु उनको शिर लत्रक्कै झुक्यो, निरीह आवाजमा शिथिल जवाफ फर्काए, ‘भो, म तपाईंसँग बहस गर्न सक्तिनँ।’ र, राइट टर्न एभाउट गरेर उनी फरक्क फर्कंदै पछिल्तिर हटे।

यसरी, त्यो घटना हेर्दा सामान्यजस्तो देखिए पनि वीपीले त्यहाँ जे खोजी गरेका छन्, त्यो खोजी केवल सामान्य बहसका लागि मात्रै थिएन, नैतिक बहस पनि थियो त्यो।

०००

२०३९ साउन ६ गतेको त्यो अलिच्छिना साँझ ! समाचार बोकेर आयो– वीपीको शारीरिक अवसानको। साउन ७ गते जयबागेश्वरी–चाबहिलको आधुनिक घर। बाहिर प्रांगणमै मान्छेको कति ठूलो जमघट ! खोई, कसले डोर्‍यायो मलाई त्यो घरभित्र, जहाँ कहिल्यै नदेखेको–नभेटेको मान्छेको अनुहार हेर्न लालायित थिएँ। भित्रको भीडमा मेरो सानो शरीर लुसुक्क छिर्‍यो। ओहो ! पूरै फूलमाला–अबीरले ढाकिएको थियो आरामले सुतिरहेका जस्ता वीपी। केवल अनुहार देखिएको थियो, लाग्यो– मलाई देखेर मुस्कुराइरहेका थिए उनी। प्राण नभएका जस्ता पटक्कै देखिएनन्। उज्यालो मोहडा, आँखा चिम्लेर देशभक्तिका गीत गाइरहेजस्ता। स्वयं मलाई थाहा छैन, कुन श्रद्धाभावले उनको शवलाई परिक्रमा गरेछु ? श्रद्धासुमन चढाएँ। यति याद छ। कसले त्यतिखेरै तत्कालको फोटो पनि खिचेछन्, पछि तस्वीर हात लागेपछि मात्रै थाहा पाएँ।

श्रद्धाको सीमा कहाँ हुन्छ ? कति हुन्छ ? वीपीको निधनमा देखिएको त्यो भीड ! जसले पुष्टि गरेको थियो कि श्रद्धाको कुनै सीमा हुँदैन। एउटा ट्रकमा उकालिएको थियो वीपीको शवलाई। ओहो ! तालीको त्यो गडगडाहट ! ‘वीपी कोइराला– अमर रहून्’को नाराले पूरै आकाश गुञ्जिएको थियो, मानौं धर्ती सम्पूर्ण काँपेको थियो त्यो एकक्षण। फूलमाला, सिन्दूर–अबीर, अगरबत्तीले घेरिएको उनको शव बोकेर जयबागेश्वरीबाट त्यो ट्रक हिँड्दा मानौं समय टक्क अडिएको भान भइरहेको थियो। के भोक, के प्यास !

ट्रकको पछि–पछि म पनि शवयात्रामा सामेल थिएँ। शवयात्रामा जब पुरानो बानेश्वर चोकमा आइपुगें। अगाडि हेर्दा डिल्लीबजार हाइटसम्म मान्छेका शिर र चारतारे झन्डै–झन्डा। पछाडि फर्केर हेर्दा गौशाला चोक र त्यसभन्दा पर देखुञ्जेल मान्छेको भीड। त्यो दृश्य आज पनि ताजै छ– ती झन्डाहरू, ती फूल–अबीर, पानीका ती बर्साद्बीच शवयात्रामा प्राणविहीन मुस्कानका साथ क्रमशः टाढिँदै गएका ती महापुरुष; वीपीको प्रेमिल मुहार !

साँच्चै, यतिखेर प्रश्न सलबलाइरहेछ, शहीदको उच्चतम परिभाषा के हुन्छ ? देशका लागि गोली खाने वा फाँसीमा झुन्डिने मात्रै शहीद कहलिने हुन् कि देशकै लागि आफ्नो पूरै जीवन अर्पण गर्ने महान् मान्छे पनि शहीद हुन् ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.