सोलार लिफ्टिङबाट घरघरमा पानीको धारा

सोलार लिफ्टिङबाट घरघरमा पानीको धारा

बैतडी : बैतडीको सिगास गाउँपालिका–३ ठूलीसैनमा खानेपानी ल्याउन छिमेकी जिल्लाबाट खानेपानीको जोहो गर्नुपथ्र्यो। डडेल्धुराको नवदुर्गा गाउँपालिका क्षेत्रबाट करिब २ घण्टाको पैदल हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता थियो। तर, करिब २ सय घरपरिवार बस्दै आएको ठूलीसैनमा अहिले अवस्था फेरिएको छ। प्रदेश सरकारको सहयोगमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट घरघरमा धाराहरू पुगेपछि दैनिकी सहज बनेको छ। 

छिमेकी जिल्ला डडेल्धुराको नवदुर्गाका स्थानीयले ‘हाम्रो पानीको मुहान’बाट पानी लग्न पाइँदैन भनेर झगडा गरेका दिनहरू सम्झँदै ठूलसैनकी सारती धामीले भनिन्, ‘दुई घण्टाभन्दा बढी पैदल हिँडेर खोलाबाट खानेपानीको जोहो गर्नुपथ्र्यो, त्यहाँ पनि पानी लग्न पाइँदैन भनेर झगडा हुन्थ्यो, अहिले घरघरमा धाराहरू जडान भइरहेका छन्, दैलोमै खानेपानी पुगेपछि सहज भयो,’ उनले भनिन् । 

पाटन ३ मा रहेको लिफ्टिङ खानेपानी योजना 

प्रदेश सरकारको सहयोगमा ठुलीसैन खानेपानी योजना करिब २ करोड ८० लाख लागतमा निर्माण हुन लागेको लिफ्टिङ खानेपानी योजना निर्माणको अन्तिम चरणमा छ। ३ किलोमिटर तल सिन्या खेतबाट सोलार लिफ्टिङ प्रबिधिबाट खानेपानी योजना निर्माण सम्पन्न भइरहेको योजना उपभोक्ता समितिका अध्यक्ष सुन्दर धामीले बताए। ३ किलोमिटर उकालोमा तानिएको पानीबाट खानेपानीका लागि मात्रै नभइ सिँचाइका लागि पनि सहज भएको छ।

खानेपानी जम्मा गरिएको ट्याङ्कीबाट बढी भएको पानीलाई सिँचाइ 

ट्यांकीमा जम्मा गरेर सिँचाइका लागि पनि सहज भएको अर्का स्थानीय पारु धामी बताउँछिन्। ‘पानीको अभावकै करण बस्तुभाउसमेत पाल्न नसक्ने हामीहरू, आजभोली गाई भैसी पाल्छांै, खेती किसानीसमेत गर्छांै,’ उनले भनिन्। 

जिल्लाको दोगडाकेदार गाउँपालिका ४ को महरगाउँ खम्तोला निङ्ले पातल भरडी कोठला सोलार लिफ्टिङ खानेपानी योजना निर्माण सम्पन्न भएपछि १ घण्टाको दूरीबाट खानेपानी ल्याउनुपर्ने समस्या टरेको छ। खानेपानीको मुहान नभएर योजना पाउनै मुस्किल भएको उक्त टोलमा खानेपानी पुगेपछि स्थानीयहरूको खुसीको सीमा छैन। ‘राणाकालदेखि कुनै योजना पाएका थिएनौं, यो यस टोलको पहिलो योजना हो,’ स्थानीय नन्दराम महरले भने, ‘खानेपानीको ठूलो समस्या अहिले टर्‍यो, खानेपानीको मुहानै नभएपछि कुनै योजना आउँदैन थे, लिफ्टिङ प्रविधिको योजना सम्पन्न भएपनि दैनिकी सहज भयो।’ महरटोलका २५ परिवारका लागि खानेपानी घरघरमै पुगेपछि दैनिकी निकै सहज भएको उनले सुनाए।  

यता दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पनि समुद्री सतहबाट २२ सय मिटर अग्लो स्थानमा संघीय सरकारको सहयोगमा साढे ३ करोड लागतमा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको छ। खानेपानीको मुहान नै नभएको ठाउँमा चार किलोमिटर दूरीमा पाँच ठाउँमा पम्प राखेर अग्लो भीर पार गर्दै मालिकार्जुन गाउँपालिका–२ को कुटिया खोलाबाट न्वालपानी गाउँमा खानेपानी पुर्‍याइएको छ।

प्रदेश सरकारको सहयोगमा बैतडी र दार्चुलामा १६ वटा योजनाहरू कार्यान्वयको चरणमा छन्। २२ करोड ५० लाखभन्दा बढी लागतमा १६ वटा लिफ्टिङ खानेपानी योजनाहरू निर्माणको क्रममा छन्। ती मध्ये ३ वटा योजनाहरू सम्पन्न भइसकेका छन्। दोगडाकेदार गाउँपालिकाको निङ्ले पातल भरडी कोठला लिफ्टिङ खानेपानी योजना, पञ्चेश्वर गाउँपालिकाको पानडी धामकुडी खानेपानी योजना र दार्चुलाको दुहु गाउँपालिकामा गौमुल खानेपानी योजना सम्पन्न भइसकेको छ। बाँकी १३ योजनाहरू पनि यसै वर्ष सम्पन्न गर्ने गरी कार्यान्वयनको चरणमा गइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए।  

उपभोक्ता समितिमार्फत् निर्माण भइरहेका योजनाहरू सम्पन्न भइसकेपछि पनि ‘खानेपानी ब्यवस्थापन समिति’ निर्माण गरिने उनले बताए। उक्त समितिले खानेपानी उपभोग गरेबापत मासिक रुपमा  उपभोक्ताबाट न्यूनतम महसुल उठाएर कोष खडा गर्ने प्रावधान रहेको छ। कोषको रकमले खानेपानी योजनाको स्याहार सम्भार र मर्मतमा खर्च गर्ने गरी कार्यान्वयन भइरहेको डिभिजन कार्यालयका प्रमुख बोगटीले बताए। दोगडाकेदार गाउँपालिकामा चारवटा सोलार लिफ्टिङ खानेपानी योजनाहरू निर्माण गरिएको छ। वडा नं ५ मा दुई, वडा नं ४ र वडा नं ८ मा पनि एउटा एउटा योजनाहरू सम्पन्न भइसकेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए। 
‘बस्तीभन्दा तल खानेपानीका मुहानहरू थिए’, उनले भने, ‘लिफ्टको विकल्प थिएन, सोलार लिफ्टिङको माध्यमबाट खानेपानी योजनाहरू सम्पन्न गरिएको छ। घरघरमा धाराहरू जडान गरिएका छन्।’  त्यसैगरी वडा

नं ३, ६ र ७ मा पनि लिफ्ट सिँचाइ योजनाहरू कार्यान्वयनको चरणमा रहेको उनले  बताए। प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा योजनाहरू कार्यान्वयनको चरणमा गएको पनि उनले बताए। बस्तीभन्दा माथि मुहान नभएका ठाउँहरूमा बस्तीभन्दा तलको मुहानबाट लिफ्टिङ प्रविधिबाट माथि बस्तीमा लग्नेगरी लिफ्ट प्रविधिलाई प्राथमिकतामा राखेको पालिकाले जनाएका छन्। खानेपानी मुहान नभएकै कारण खानेपानीको सुविधाबाट वञ्चित भएका ठाउँहरूमा यतिखेर लिफ्टिङ प्रविधि विकल्पको रुपमा बैतडीबाट प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए। 

‘जिल्लामा पहिलोपटक डीप बोरिङ प्रविधि भित्र्याउन विभिन्न ठाउँमा अध्ययन गरिएको थियो। डीप बोरिङ भन्दापनि लिफ्टिङ प्रविधि सजिलो देखियो, अहिले ठूला लिफ्टिङ प्रविधिका आयोजनाहरू सम्पन्न भइरहेका छन्’ उनले भने, ‘बैतडीको मेलौलीमा सबैभन्दा ठूलो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ।’ 

भौगोलिक रुपमा खानेपानीका मुहानभन्दा टाढा रहेका बस्तीमा लिफ्ट प्रविधिबाट खानेपानी पहुँच पुर्‍याउने कार्य भइरहेकाले सरकारले अवलम्वन गरेको एक घर एक धारा अभियानमा पनि टेवा पुग्ने उनको विश्वास छ। 
पहाडी क्षेत्रका डाडाँमा बस्ती हुने भएकाले खानेपानीका मुहान अभावले लिफ्टिङ खानेपानीका योजनाहरू प्राथमिकतामा रहने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.