मैथिली भाषाकी लोकगायिका प्रिया पुरस्कृत
![मैथिली भाषाकी लोकगायिका प्रिया पुरस्कृत](https://annapurnapost.prixacdn.net/media/albums/IMG_20220723_163028_20220724163159_i6niLJciL6.jpg)
राजविराज : मैथिली भाषाकी लोकगायिका मुनचुन देब प्रिया पुरस्कृत भएकी छिन्।
मधुश्रावणी पर्वको अवसरमा मैथिली महिला परिषद्ले राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति पुरस्कारबाट प्रिया पुरस्कृत भएकी हुन्।
पुरस्कृत गायिका एवम् रेडियोकर्मी प्रियालाई सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सम्मानपत्र, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले नगद पुरस्कार २ हजार पाँच सय रुपियाँ र पुरस्कारका संस्थापक झाले दोसल्ला ओढाए।
मैथिली साहित्य परिषद्की आजीवन सदस्य गायिका उर्मिला झाको चार वर्ष अघि मधुश्रावणी पर्वकै समयमा मोरङको विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो। झाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी झाले तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आएका छन्।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी गौतमले धर्म, सँस्कार, संस्कृति र मातृभाषालाई जोगाउन महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
गौतमले जीवनउपयोगी संस्कारलाई जिवित राख्दै समाजमा विद्यमान ढोंगी कुप्रथा, कुरिती, बिकृति हटाउन महिलाहरू अग्रसर हुनु पर्ने बताए।
मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराईले भाषासंस्कृतिले समाजलाई जोडे जस्तै हरेक चाडपर्वले परिवारमा स्नेह, दाम्पत्य जीवन सुखमय बनाउन र विविधितायुक्त समाजलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)