उपभोक्ताको भोगाइ : चर्को महँगी

उपभोक्ताको भोगाइ : चर्को महँगी

काठमाडौं : अन्तर्राष्ट्रिय प्रभावका कारण समग्रमा चर्को महँगीको मार खेपेका आम उपभोक्ताहरूले मुद्रास्फीति १४ प्रतिशतसम्म पुगेको अनुमान गरेका छन्। एकातिर सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीति ७ प्रतिशतको सीमामा राख्ने भनिरहे पनि चर्को महँगी भोगिरहेका सर्वसाधारणले भने बजारमा लक्षित सीमाको दोब्बर अर्थात् १४ प्रतिशतसम्म पुग्ने अनुमान गरेका हुन्। 

यो महँगी अझै ३ महिनासम्म रहने नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ।  यससँगै, १ वर्षसम्म साढे १३ प्रतिशत मुद्रास्फीति रहने अनुमान गरिएको छ। केन्द्रीय बैंकको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणले यस्तो नतिजा सार्वजनिक गरेको हो। राष्ट्र बैंकका अनुसार सो सर्वेक्षण २०७९ असार २० देखि असार २७ सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको हो। सर्वेक्षणको परिणामहरू १ हजार १ सय ४१ सहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको बताइएको छ। अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २ सय १० थप व्यक्तिहरू थपिएका छन्। 

यसैक्रममा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ सो सर्वेक्षणबाट आम सर्वसाधारणले अधिकांश वस्तुको मुल्य बढ्ने आंकलन गरिरहेका छन् र यसअनुसार महँगी बढ्ने संकेत देखिएको बताउँछन्। यससँगै अहिलेसम्म केन्द्रीय  बैंकले लगातार त्रैमासिक रूपमा ४ ओटा सर्वेक्षण निकालेको छ।

‘पहिलाको सर्भेले मुद्रास्फीति ८ प्रतिशत हुनसक्ने प्रक्षेपण गरेको थियो। अहिले यही हाराहारीमा छ। यो सर्वेक्षणमा धेरैले गरेको अनुमान मेल खाएको छ। यसले अबको महँगीको संकेत गर्ने र आगामी दिनमा सजग बनाउन मद्दत गर्नेछ,’ उनले भने। यद्यपि नेपाल राष्ट्र बैंकले हरेक महिना चामल, साग, दाललगायतका उपभोग्य वस्तु आदि गरेर ४ सय ९६ वस्तुको बजार मूल्यमा रहेर मुद्रास्फीतिको तथ्यांक सार्वजनिक गर्ने गर्छ। यसअनुसार आर्थिक वर्ष २०७८/०७९ को ११ महिनासम्म मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ।  

  •     मुद्रास्फीति लक्षित सीमाको दोब्बर हुने
  •     ३ महिनासम्म १४% र १ वर्षमा साढे १३% पुग्ने अनुमान

‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’अनुसार तीन महिनापछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ। एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको  केन्द्रीय बैंकको भनाइ छ। ‘तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ। उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महसुस गरेका छन्। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ।   

उक्त सर्वेक्षणमा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको केन्द्रीय बैंकले बताएको छ।

यसैगरी, गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा बढेको छ। यस्तै, तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूहबाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा घटेको छ। तीन महिनापछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ। एक वर्ष पछिको मध्यअपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.