महिला आयोग बन्यो झगडाको थलो

महिला आयोग बन्यो झगडाको थलो

काठमाडौं : महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शनिबार सामाजिक सञ्जालमा लेखिन्, ‘सरकार मलाई शान्ति सुरक्षा चाहियो। मउपर कुनै पनि समय कुनै पनि घटना हुन सक्ने संभावना यो परिदृश्यले संकेत गरेको छ। आज दिउँसो ५:३० बजे तस्बिरमा भएका पेसेवर व्यक्तिहरू मेरो घर र बस्तीमा आएर मेराविरुद्ध मनपरी तथानाम नारावाजी गरेर आंतक मच्चाएका छन्। यी व्यक्ति किन र कसरी कोबाट परिचालित छन् ? सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण होस्।’

तस्बिरमा उनका घरअगाडि सडकमा प्लेकार्ड बोकेको समूह देखिन्छ। यो कतै महिला आयोगको विवादको प्रतिबिम्ब त होइन भन्ने यसले देखाउँछ। तर, पराजुलीले ती व्यक्ति को हुन् भन्ने जानकारी र पहिचान नभएको बताइन्।

के हो आयोगको विवाद ?

राष्ट्रिय महिला आयोग महिलाको हक, हित र अधिकारलाई संरक्षण गर्दै महिलाविरुद्ध हुने भेदभावलाई निर्मूल गरी लैंगिक न्याय सुनिश्चित गर्ने संवैधानिक निकाय हो। तर, यही आयोगका अध्यक्ष कमला पराजुली र सदस्य कृष्णकुमारी पौडेल खतिवडा आरोप प्रत्यारोप गर्दै आएका छन्।

आयोगका पदाधिकारीबीच मुख्य रूपमा कोभन्दा को ठूलो भन्ने विवाद देखिन्छ। केही दिनअघि प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा आयोगका पदाधिकारीबीचको विवादबारे प्रश्न उठ्यो। पीडितलाई न्याय दिनुभन्दा आयोग आफैंभित्र समन्वय र सहकार्य गर्न नसक्दा प्रभावकारी बन्न नसकेको समितिको निष्कर्ष थियो।

अध्यक्ष पराजुली आफू अध्यक्ष भएर आएको महिना दिन नबित्दै प्रोटोकलको होडबाजीले विवाद हुँदै आएको बताउँछिन्। सदस्य पौडेलले आफू वरिष्ठ सदस्य भएको भन्दै मनोमानी गर्न चाहेको, अध्यक्षका निर्णयमा अटेर गरेको उनले आरोप लगाइन्।

समितिको बैठकमा पराजुलीले यसबारे असन्तुष्टि पोखेकी थिइन्। उनले आयोगको छवि धमिल्याउन सामाजिक रूपमा आफूलाई बदमान गर्न झुटो समाचार लेखाउने र सेयर गर्न लगाउने गरेको आरोप लगाइन्। नीतिगत काम गर्नभन्दा पनि अध्यक्षलाई धम्काउने, अध्यक्षको निर्णयविपरीत गएर कर्मचारीलाई दबाब दिने खालका काम सदस्य पौडेलले गरेको उनको भनाइ छ।उनले आफ्नो मौनताको गलत फाइदा उठाउँदै झुटो आरोप लगाएको बताइन्। ‘मेराबारे जे बाहिर आएको छ यो सबै झुटो हो। चरित्रहत्या गरेका छन्। तर, पनि यस्ता चुनौतीका बीचमा काम गरेको छु’, उनले भनिन्, ‘भ्रष्टाचारविरुद्ध लगाएको लाञ्छना पुष्टि गर्न चुनौती दिन्छु।’

सदस्य पौडेलले भने अध्यक्ष पराजुलीले आयोगमा भ्रष्टाचारको रोग लिएर आएको आरोप लगाइन्। ‘भ्रष्टाचारको रोगको कारण महिला आयोगमाथि प्रश्न उठेको छ’, उनी भन्छिन्, ‘संकल्प नेपाल भन्ने संस्थाबाट ज्येष्ठ नागरिक भवन बनाउने कुरामा अनियमितता भेटेपछि पत्रिकाले लेखेको छ। लेखेको कुरा मैले सेयर गरेँ। यसमा मेरो के दोष ? यस विषयमा बाहिर हामीमाथि पनि प्रश्न गर्छन्।’ ‘म नै आयोग, आयोग नै म भन्ने भनेपछि कसरी चल्छ ?’ पौडेलले थपिन्।

पराजुलीले आयोगमा सबैलाई वशमा राख्न खोजेको पौडेलले बताइन्। ‘म थिइन् भने आयोग एनजीओ बन्थ्यो। उहाँले त स्वतन्त्र रूपमा काम गर्न दिनुभएन’, पौडेलले भनिन्, ‘अध्यक्षका कारण काम गर्न केही असहज भए पनि आ–आफ्नो जिम्मेवारीका काम गरेकै छौं। जिल्ला–जिल्लामा पुगेर महिलाका समस्या र समाधानका उपाय खोजेकै छौं। आयोगमा काम नभएका होइनन्। धेरै भएका छन्। धेरैले न्याय पाएका छन्।’

आयोगका अन्य सदस्य भने आयोग गठनपछि महिला हिंसाका विषयमा थुप्रै काम गरेको दाबी गर्छन्। सदस्य विद्याकुमारी सिन्हाले अध्यक्ष पराजुलीको निर्देशनमा सहज रूपमा काम गर्दै आएको बताइन्। उनले भनिन् ,‘हाम्रो काममा कुनै अवरोध भएको छैन। महिला आयोगले काम गर्दै आएको छ।’ सदस्य र अध्यक्षको खटपटले काममा अवरोध नभएको उनको भनाइ छ।

सदस्य सावित्राकुमारी शर्माले सदस्य पौडेल म वरिष्ठ सदस्य हुँ भन्दै हिँड्ने गरेको बताइन्। ‘हामी ४ जना सदस्य सबै बराबर हो। उहाँले म वरिष्ठ सदस्य हो भन्नुहुन्छ। सबै सदस्य बराबर हो। आ–आफ्नो क्षेत्रमा जिम्मेवारीपूर्वक सबैले काम गर्दै आएका छौं’,उनले भनिन्।

अर्का सदस्य जया घिमिरेले आयोगको कामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको बताइन्। ‘अध्यक्षको नेतृत्वमा राम्रो काम भएको छ’, पराजुली र पौडेलको विवादको विषयमा उनले घर भित्रको विवाद भनेर सामान्य रूपमा लिने गरेको बताइन्।

३ करोड १२ लाख बजेट फ्रिज

आयोगका सचिव कविराज पौडेल भने आयोगले अपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गर्छन्। उनले भने, ‘हामीले धेरै काम गरेका छौं तर पनि जति अपेक्षा थियो त्यति गर्न सकेनौं।’ आयोगमा ९ करोड ८ लाख बजेटमा ३ करोड १२ लाख फ्रिज भएको हो।

सचिव पौडेलले भने, ‘होटलहरूमा हुने कार्यक्रम सरकारी हलमा गरिएको छ। यससँगै उनले धेरै पटक कर्मचारी तथा सचिवको सरुवा हुनु, स्थानीय चुनावका कारण वैशाख र जेठ दुई महिना काम गर्न नपाएकाले पनि थप काम हुन नसकेको बताए।

प्रवक्ता तथा उजुरी तथा मुद्दा शाखाका उपसचिव चमिला भट्टराई महिला आयोगले अहोरात्र खटिएर काम गरेको बताउँछिन्। उनका अनुसार आयोगमा दिनमा २५ देखि ३० वटा उजुरी आउने गर्छन्। वर्षभरिमा आयोगले १४ देखि १५ सय उजुरी परेको भट्टराईले जानकारी दिइन्।

‘रातभरि खटिएर काम गरेका छौं। तर, महिला आयोगको औचित्यमाथि प्रश्न उठ््दा दुःख लाग्छ’, उनले भनिन्।

‘मेराबारे जे बाहिर आएको छ यो सबै झुटो हो। चरित्रहत्या गरेका छन्। तर, पनि यस्ता चुनौतीका बीचमा काम गरेको छु। भ्रष्टाचारविरुद्ध लगाएको लाञ्छना पुष्टि गर्न चुनौती दिन्छु।’
– कमला पराजुली, अध्यक्ष राष्ट्रिय महिला आयोग

‘भ्रष्टाचारको रोगको कारण महिला आयोगमाथि प्रश्न उठेको छ। संकल्प नेपाल भन्ने संस्थाबाट ज्येष्ठ नागरिक भवन बनाउने कुरामा अनियमितता भेटेपछि पत्रिकाले लेखेको छ। मैले सेयर गरेँ। यसमा मेरो के दोष ?’ 
– कृष्णकुमारी पौडेल, सदस्य, राष्ट्रिय महिला आयोग


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.