झापामा एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु
झापा : झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा गाउँपालिका- ६ निवासी २३ वर्षीय राजेश कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
घाइते कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको डिएसपी पाठकले बताए। प्रहरीका अनुसार साउन ४ गते दिउँसो २ बजे कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा कुमरखोद सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ गई रहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी स्कुटर चालक कार्की र सोही स्कुटरको पछाडि उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए। घाइतेमध्ये चालक कार्कीलाई बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारका लागि पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो। यता एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड- १० निवासी ४६ वर्षीय चन्द्र बहादुर बिकलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ।