कर्मयोगी वीर

कर्मयोगी वीर

काठमाडौं : एउटा संयोग नै मान्नु पर्छ, जब देशमा माओवादीको सशस्त्र संघर्ष सुरु भयो, वीरबहादुर तामाङले पनि काठमाडौं छाडे। काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजल नयाँपाटीका स्थायी बासिन्दा वीरबहादुर त्यतिबेला उसुका स्वयंमसेवक प्रशिक्षक थिए। आफ्नै गाउँमा प्रशिक्षण गराउँदै आएका उनले पोखरा र लमजुङमा पनि उसुको प्रशिक्षण गराउनु पर्ने भयो। उनी प्रशिक्षणका लागि पोखरा र लमजुङतर्फ हिँडेसँगै देशमा माओवादीको सशस्त्र संघर्ष सुरु भयो। जसले घर बाहिर हिँड्दा पनि डराइडराइ हिँड्नु पर्ने अवस्था आयो। दुर्गम गाउँहरूमा माओवादीको दबदबा निकै बढ्यो। 

तर, वीरबहादुर माओवादी द्वन्द्वको परवाह नगरी पोखरा र लमजुङको अग्सवर्ग एकेडेमीमा उसुको प्रशिक्षण गराउँथे। उनको एकेडेमीमा डेढ सयभन्दा बढी खेलाडी थिए। एकेडेमीमा लाठी, तरबार र किक बक्सिङको नियमित प्रशिक्षण हुन्थ्यो। खेलाडी र प्रशिक्षकले कालो पोसाक ‘उफाङ’ लगाउँथे। स्कुलका विद्यार्थीलाई कालो पोसाकमा खेलाउने गरेको कुरा माओवादीहरूले पनि थाहा पाए। त्यसपछि उनीहरू हरेक दिन खेल खेलाउने मान्छे खोज्दै आउन थाले।

माओवादीले खोज्न थालेपछि डरैडरमा प्रशिक्षण गराउनुपर्ने अवस्था आयो। पटक पटक उनलाई खोज्न माओवादीहरू स्कुलमा आउँथे। ‘कालो लुगा लगाएर खेलाउने को हो हँ ? भन्दै खोज्दै आउन थाले। त्यसपछि लुकीलुकी सिकाउनुको विकल्प नै भएन’, वीरबहादुर भन्छन्, ‘माओवादीले धेरै दुःख दिन थालेपछि परिवारबाट पनि काम छाडेर घर फर्किन दबाब आयो। माओवादी र परिवारको दबाब झेलेरै केही समय निरन्तर रुपमा काममा खटिरहें। तर, भार्लेटार चौकीमा आक्रमण भएपछि भने त्यहाँ बस्न सकिँदैन भनेर घर फर्किएँ।’

त्यसपछि उनले आफ्नै घरछेउमा प्रशिक्षण सुरु गरे। आफैले खेल्ने ठाउँ बनाए। आफै खटिएर खेलाडीहरूलाई प्रशिक्षण गराउन थाले। उनले त्यतिबेला सुरु गरेको ठाउँमा अहिले पनि खेलाडीले प्रशिक्षण गरिरहेका छन्। 

२०४६ पछि खेलकुदमा सक्रिय

वीरबहादुर तामाङ २०४६ सालदेखि खेलकुदमा सक्रिय भएका हुन्। उनी ब्रुसुलीको फिल्म खुबै हेर्थे। ब्रुसुलीको कलाकौशल देखेर नै उनलाई पनि खेलकुदप्रति रुची बढ्यो। उनी ब्रुसुलीले जस्तै कला देखाउन चाहन्थे। मार्सल आर्ट्स उनलाई निकै मन पर्ने खेल थियो। उनको घरनजिकै केही समय अघिदेखि शैलेन्द्र श्रेष्ठले उसु खेलाउँथे। उनले पनि केही समय त्यहीं सिके। त्यसपछि उनी दशरथ रंगशाला पुगे। त्यहाँ प्रणिलध्वज कार्की, कर्मा लामा, चिरन सापकोटा, रामगोपाल महर्जन, चन्द्र लामा, गोपाल श्रेष्ठलगायतले उसु सिकाउँथे। उनलाई ताइचीमा विशेष रुची थियो। सान्सौ पनि कहिलेकाहिँ खेल्थे। तर, ताइची गर्दा निकै खुसी हुन्थे। ‘म सानैदेखि ब्रुसुलीको फ्यान थिएँ। त्यही कारण ताइची गर्दा उनले गरेका कलाकौशललाई सम्झन्थें’, उनी भन्छन्। 

वीरबहादुरले उसुको प्रशिक्षण मात्रै लिएनन्, थुप्रै जिल्ला तथा क्षेत्रीय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा पनि गरे। केही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक पनि जित्न सफल भए। आफूले खेल्दाखेल्दै उनले प्रशिक्षण पनि सुरु गरेका थिए। २०५० सालदेखि विभिन्न विद्यालयमा उसुको प्रशिक्षण दिन्थे। त्यही क्रममा २०५२ सालमा स्वयंमसेवक प्रशिक्षकका रुपमा पोखरा र लमजुङमा प्रशिक्षण गराउन पुगेका थिए। उनले लमजुङ र पोखरामा प्रशिक्षण मात्रै गराएनन्, २०५४ सालदेखि तीन संस्करणसम्म उसु च्याम्पियनसिपको आयोजना पनि गरे। उक्त प्रतियोगितामा पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीहरूको उल्लेख्य सहभागिता रहन्थ्यो। त्यही प्रतियोगिताले खेलकुदमा लाग्न त्यहाँका खेलाडीहरूलाई हौसला प्रदान गरेको थियो। २०६० सालपछि वीरबहादुरले सुन्दरीजलमै ‘क्वान’ स्थापना गरेर प्रशिक्षण सुरु गरेर खेलाडी उत्पादनमा सक्रिय भए। करिब १९ वर्षअघि सुरु गरेको त्यो ‘क्वान’ अहिले पनि सञ्चालन भइरहेको छ। ‘क्वान’बाट खेलाडी उत्पादन पनि भइरहेको छ। ‘मैले सुरु गरेको क्वान अहिले पनि चलिरहेको छ। खेलाडीहरूले नियमित प्रशिक्षण गरिरहेका छन्। यो देख्दा खुसी लाग्छ’, वीरबहादुर भन्छन्।  

वीरबहादुरले प्रशिक्षकसँगै राष्ट्रिय रेफ्रीको भूमिका पनि निर्वाह गरे। अन्तर्राष्ट्रिय रेफ्री प्रशिक्षणका लागि आफ्नै खर्चमा चीन जान खोजेका थिए। तर, त्यतिबेला उसु संघले उनलाई जान दिएन। स्वयंमसेवक प्रशिक्षकले अन्तर्राष्ट्रिय रेफ्रीको प्रशिक्षण गर्न नमिल्ने भन्दै उनलाई संघले रोकेको वीरबहादुर बताउँछन्। संघको जिम्मेवार तहमा नपुगेसम्म खेलाडी, प्रशिक्षक र निर्णायकको क्षमता अभिवृद्धि गर्न नसकिने देखेपछि उनले संघमा सक्रिय हुने योजना बनाए। त्यही योजना अनुरुप २०६३ सालमा उनी नेपाल उसु संघको उपाध्यक्षमा मनोनीत भए। आङडेन्डी शेर्पाको अध्यक्षतामा बनेको तदर्थ समितिमा उनले उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए। उनी संघको नेतृत्व तहमा पुगेसँगै सुर्खेतमा राष्ट्रिय रेफ्री तथा राष्ट्रिय निर्णायक सेमिनार सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अहिले पनि हरेक दुई/दुई वर्षको अन्तरालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक सेमिनार सञ्चालन हुँदै आएको छ। उनकै पहलमा रेफ्रीहरूलाई अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी गराउने प्रचलन पनि सुरु भएको थियो।

तदर्थ समितिमा उपाध्यक्षको भूमिका निर्वाह गरेका वीरबहादुर अधिवेशनमार्फत चुनिएको कार्यसमितिमा सहअध्यक्ष भए। सहअध्यक्षको भूमिकामा पनि उनले उसुको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याए। चीनबाट खेल सामग्री ल्याउन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा उनले पुर्‍याएको योगदान महत्वपूर्ण मानिन्छ। वल्र्ड उसु महासंघलगायतका निकायसँगको सम्बन्ध विस्तारमा पनि उनी सक्रिय रुपमा लागेका थिए। उसुको विकास र विस्तारमा सक्रिय रहेकै कारण चार वर्ष अघि भएको अधिवेशनबाट उनले उसु महासंघको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए। उनकै नेतृत्वमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले उसुमा ऐतिहासिक सफलता हासिल गरेको थियो। घरेलु भूमिमा भएको १३औं सागमा उसुले पाँच स्वर्ण जितेको थियो। यस बाहेक पनि नेपाली उसु खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। 

वीरबहादुरको नेतृत्व घरेलु उसु महासंघले मात्र पाएको छैन। उनले दक्षिण एसियाली उसु महासंघको उपाध्यक्षको भूमिका पनि निर्वाह गर्दै आएका छन्। खेलाडी, प्रशिक्षक हुँदै संघको नेतृत्वसमेत गरिरहेका वीरबहादुरले उसुसँगै नेटबलको नेतृत्व पनि गर्ने अवसर पाएका थिए। नेपालमा नेटबललाई स्थापित बनाउन उनले विशेष भूमिका निर्वाह गरेका थिए। उनकै कार्यकालमा हङकङमा एसियन स्तरको रेफ्री तथा प्रशिक्षक सेमिनारमा नेपालले सहभागिता जनाएको थियो। यस्तै श्रीलंकामा आयोजना भएको एसियन नेटबल च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो। यसैगरी ब्रुनाईमा आयोजना भएको एसियन जुनियर नेटबल च्याम्पियनसिपमा पनि नेपाली टोलीले सहभागिता जनाएको थियो भने नेपालमा दुई पटक नेटबल वर्कसप आयोजना पनि गरिएको थियो। 

कलाकारिता क्षेत्रमा पनि सक्रिय

वीरबहादुर पछिल्लो समय कलाकारिता क्षेत्रमा पनि आफ्नो परिचय बनाउँदै छन्। उनले अभिनय थालेको करिब ६/७ वर्ष भइसकेको छ। सुरुमा म्युजिक भिडियोमार्फत अभिनय जीवन सुरु गरेका उनले सन् २०१८ मा चलचित्र नै निर्माण गरेका थिए। तामाङ भाषाको चलचित्र ‘तिल्दा’ निर्माणसँगै उनले अभिनय पनि गरेका थिए। आफ्नो कला, संस्कृति जोगाउन र जनतालाई सुसुचित गराउन चलचित्र निर्माण गरेको वीरबहादुर बताउँछन्। ‘तामाङ समुदायको कला संस्कृति, भाषा, भेषभुषा संरक्षणसँगै जनतालाई सुसुचित गराउन चलचित्र निर्माण गरेको हुँ’,वीरबहादुर भन्छन्। 

वीरबहादुरले चलचित्रमा अभिनय गर्नुअघि म्युजिक भिडियोहरूमा काम गरेका थिए। उनले सात वटा म्युजिक भिडियोमा काम गरिसकेका छन्। वीरबहादुर गायक पनि हुन्। उनले आफ्नै शब्द र संगीतमा ‘केही लिएर आको’ गीत गाएका छन्। उनी अरु तीन वटा गीत रेकर्डिङको तयारीमा छन्। दुई वटा एकल गीत हो भने एउटा गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका प्रिति आलेसँग रेकर्ड गर्न लागेका छन्। यी सबै गीतमा शब्द तथा संगीत वीरबहादुरकै छ। 

वीरबहादुर सामाजिक सेवामा पनि उक्तिकै सक्रिय छन्। रोटरी क्लबमा विगत १२ वर्षदेखि आवद्ध भएर सामाजिक काममा सक्रिय रहँदै आएका उनी लायन्स क्लबमार्फत पनि सामाजिक कामलाई अगाडि बढाइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.