पहिरो पीडितलाई क्षतिपूर्ति प्रदान गरिने
नुवाकोट : नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाउँपालिकाले पहिरो पीडितलाई क्षतिपूर्ति प्रदान गर्ने प्रतिवद्धता जनाएको छ। पहिरो गएको स्थानको शुक्रबार स्थलगत अवलोकन गरेर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले पहिरो पीडितलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
गाउँपालिकाको-२ बदेलीका दिनेश श्रेष्ठको घर र परिवारको अवस्थाबारे स्थलगत अवलोकन गरेपछि उनले २० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गरेका हुन्। उनले सो परिवारको तत्काल सार्नुपर्ने अवस्था नरहेको बताए।
अविरल वर्षातको कारण माथिबाट आएको पहिरोले घर पुर्न लागेको र घरभित्र पानी पसेर मान्छे बस्न सक्ने अवस्थासमेत नरहेको गुनासो आएपछि गाउँपालिकाका अध्यक्ष अधिकारीले पहिरो पीडितको घर पुगेर पहिरोको स्थलगत अवलोकन गरेका थिए।
उनले घर नजिक गएको स्थलगत अवलोकन गरि पीडितको गुनासो सुन्नुका साथै पीडित परिवारलाई २० हजार रुपैयाँ नगद सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले पालिकाबासीहरूको जनधनको सुरक्षाका लागि सधैँ तयार रहेको र आवश्यक परेको अवस्थामा अन्य सहयोगसमेत उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
उता नुवाकोटको पूर्वी भेगमा रहेको दुप्चेश्वर गाउँपालिका-१ घ्याङ्फेदीको घ्यावरमुनिको उब्रा भन्ने स्थानमा अविरल वर्षात् र पहिरोको कारण जमिन भासिएको छ। जमिन भासिएसँगै कान्लामाथि रहेको बस्ती असुरक्षित रहेको दुप्चेश्वर-१ का वडाध्यक्ष सीताराम तामाङले जानकारी दिए।
सो स्थानको आफूसहित प्राविधिक टोली पुगेर स्थलगत अवलोकन गरेको र आवश्यक परेको खण्डमा पहिरो नियन्त्रण र बस्तीको सुरक्षाका लागि विविध कार्य गरिने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए।