नुवाकोटमा तीन हजार बढी मतदाता थपिए
नुवाकोट : नुवाकोटमा यसपटक मतदाता नामावली दर्तामा सर्वसाधारणको उत्साह बढेको छ। दुई महिनामा तीन हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा विवरण भरेका छन्।
१२ स्थानीय तह रहेको नुवाकोटमा गत स्थानीय तह सदस्य निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाता रहेको थिए। गत असार १ देखि हालसम्म नुवाकोटमा एक हजार ६६१ महिलासहित तीन हजार ६५८ ले फोटोसहितको मतदाता नामावलीमा फर्म भरेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।
कार्यालयका अनुसार नुवाकोटमा गत निर्वाचनमा तीनजना तेश्रो लिंगीसहित एकलाख १५ हजार २९ जना महिला र एकलाख २२ हजार ४०२ जना पुरुषको नामावली समावेश भएको थियो।
जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार निर्वाचन आयोगले गत जेठ ३१ गते प्रकाशित नुवाकोटको मतदाता नामावलीमा थप चार हजार ८४४ जनासमेत गरि कुल दुई लाख ४२ हजार दुई सय ७८ को नामावली पठाएको थियो।
नुवाकोटमा चार हजार आठ सय ४४ मतदाता थपिएका छन्। यसबाहेक १६ वर्ष उमेर पुगेकाहरूसमेत तीन हजार ६५८ जनाले फोटो खिचेर फर्म भरेको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए। निर्वाचन आयोगले पछिल्लो तीन हजार ६ सय ५८ मध्येबाट मतदानका लागि उमेर पुगेकाहरूको प्रमाणित गर्ने कार्य गरिरहेको जनाइएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्ला बाहिरबाट ९४ जनाले नाम दर्ता गराएका छन्। सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित भएको छ।