नुवाकोटमा खोलामा महिलाको शव भेटियो
नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको कोल्पुखोलामा एक जना महिलाको शव फेला परेको छ। शवको सनाखत हुन समस्या परेको छ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको बेलकोटगढी नगरपालिका-३, बाह्रबिसेस्थित कोल्पुखोलामा महिलाको शव नचिन्ने अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। महिलाको शव पहिचानका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको प्रहरी निरीक्षक लक्ष्मी खड्काको भनाइ छ।
खड्काका अनुसार कोल्पुखोलामा घोप्टो परेको, रातो कुर्था लगाएको, टाउकोमा कपाल नभएको र अनुहार नचिन्ने अवस्थाको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेबारिसे अवस्थामा फेला परेको महिलाको शव ३० देखि ३५ वर्ष उमेरको रहेको जनाइएको छ।
शवको प्रकृति हेर्दा के भएको हो भन्ने स्थिति नरहेपनि शंकास्पदा अवस्था शव नचिन्ने अवस्थामा फेला पर्नुले थप रहस्य थपिदिएको छ। शवको पहिचानका लागि प्रहरीले सूचना परिचालन गरेको छ।