उक्सिएन मेचे र सन्थालको जीवनस्तर
झापा : मेचे जाति पूर्वी तराईको झापा जिल्लाका आदिवासीमध्ये एक हुन्। परापूर्वकालमा मेची नदी र कनकाई नदीका बीचमा बस्ने भएकाले उनीहरूलाई मेचे भनिएको हो। बोडो जातिको नामले परिचित उनीहरू झापाको भद्रपुर, कप्तानबारी, आयाबारी, जलथल, शनिश्चरे, धुलाबारी, अनारमनि, बेलडाँगी, धाइजन जस्ता क्षेत्रमा बसोबास गर्छन्।
२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार नेपालमा ४ हजार ८ सय ६७ मध्ये झापामा मात्रै ४ हजार ७६ जना रहेको हल्दिबारी गाउँपालिका–४ निवासी मेचे समुदायका अग्रज सन्तलाल मेचेले जानकारी दिए।
जिल्लाको १५ वटा स्थानीय तहमध्ये हल्दिबारी र मेचीनगरमा सबैभन्दा बढी मेचे जातिको बसोबास रहेको उनले बताए। सरकारले मेचेसहित १० वटा जातिलाई लोपोन्मुख जाति भनेर घोषणा गरेको छ। ‘सरकारले ती जातिलाई लोपोन्मुख सामाजिक सुरक्षा भत्ताबापत प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ,’ उनले भने, ‘हाम्रो समुदायमा जन्मिनेबित्तिकै राज्यले दिने सेवा सुविधा पाउँछन्।’ मेचे भाषा तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हल्दिबारी गाउँपालिकाले मेचे भाषामा छुट्टै पठनपाठन सुरु गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए।
सन्थाल जाति नेपालसहित भारत, बंगलादेश र भुटानमा बसोबास गर्ने आदिवासी जनजातिमा पर्छन्। उनीहरू निकै सरल, मिलनसार र मेहनति हुन्छन्। आफ्नो परिश्रमबाट नै जीवन गुजारा गर्नुपर्छ भन्ने सन्थालहरू चोरी र बेइमानीलाई पाप सम्झन्छन्। खास गरी पूर्वी तराईका झापा र मोरङका आदिवासी सन्थालहरूको घरको बनोटबाट नै सन्थाल गाउँ भन्ने छुटिन्छ।
भूमिपतिबाट भूमिहीन बनेका सन्थाल समुदायमा शिक्षित निकै कम छन्। मुलुकमा आमूल परिवर्तन भए पनि सन्थाल समुदायको जीवनशैलीमा खासै परिवर्तन आएको छैन। अधिकांश मजदुरी गरेर गुजारा गर्न बाध्य छन्।