अलपत्र परेको बेलहिया-बुटवल व्यापारिकमार्ग आयोजना सुरु हुने

अलपत्र परेको बेलहिया-बुटवल व्यापारिकमार्ग आयोजना सुरु हुने

भैरहवा : रुपन्देहीको बेलहिया नाका क्षेत्रको निर्माणाधीन सडकको काम सुरु हुने भएको छ। पैदलमार्ग हुँदै नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै यही नाका भएर आउने गरेका छन्। 

सिद्धार्थनगर नगरपालिकामा पर्ने भएकोले पटक पटकको आग्रह र छलफलपश्चात् ठेकेदार कम्पनीले बेलहिया नाका क्षेत्रको अलपत्र सडक निर्माणअघि बढाउन लागेको हो। 

बेलहिया-बुटवल व्यापारिक मार्ग आयोजना नामबाट बेलहियादेखि बुटवलसम्म दशकअघि सडक निर्माण सुरु भएको थियो। तर, आयोजना अझै सम्पन्न हुन सकेको छैन। सुरुवाती बिन्दु बेलहिया, मध्य ओमसतिया र अन्तिमविन्दु बुटवल गरि तीनवटा क्षेत्रको सडकको निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सनले पाएको छ। तर, वर्षौ बितिसक्दासमेत विभिन्न कारण देखाउँदै ठेकेदारले काम सम्पन्न गरेको छैन।

ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दा नागरिकलाई सास्ती भएको छ। सोमबार बुटवलमा ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनसहित सरोकारवालाहरूको बसेको बैठकले ठेकेदार कम्पनीले भदौ-असोज भित्र काम सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ। जसमा ठेकेदार कम्पनीले बुटवल क्षेत्रको सडक भदौ महिनासम्म र बेहलियाको साइट क्लियर भएमा दसैँमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ।

बेलहिया र बुटवल दुवै क्षेत्रको सडक निर्माण सम्पन्न गर्नका लागि सरोकारवाला कार्यालयका प्रमुखसहित सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिती गठन गरिएको छ।

गठित समितिको मंगलबार बेलहिया र बुटवल दुवै स्थानमा बैठक बसेको छ। बेलहियाको सडक निर्माणको लागि सिद्धार्थनगर नगरपालिकामा बसेको बैठकले साउन २८ गते (शनिबार) देखि काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक एंव नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए।

उनले निर्माण हुने सडकको आफूहरूले अनुगमन गर्ने र नागरिकलाई सास्ती नहुने गरी निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे।

बैठकले साइट क्लियर भएको स्थानमा साउन २८ गतेदेखि सब-बेसको कार्य गर्ने, साइट क्लियर नभएको स्थानमा नगरपालिकालगायत सरोकारवाला निकायहरूबाट आवश्कताअनुसार यथोचित सहयोग तथा समन्वय गर्ने निर्णय भएको उनले बताए। 

उनका अनुसार निर्माण व्यवसायीले पेश गरेको कार्य योजनाअनुसार समयमै कार्य पूरा गर्ने र आयोजना कार्यालयले प्रभावकारी अनुगमन गर्ने, समितिको बैठक कम्तीमा १५ दिनमा बस्ने निर्णय भएको छ।

सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खानले मुलुक/नगरको सौन्दर्यकरणका लागि निर्माण व्यवसायीको पनि भूमिका रहने बताए। उनले अलपत्र सडकका कारण नागरिकका साथै पर्यटकहरूले धेरै सास्ती खेप्नुपरेकोले फूलमाला लगाएर पठाउन सक्ने गरी गुणस्तरीय काम छिटो सम्पन्न गर्न आग्रह गरे।

'निर्माणधिन सडक अलपत्र हुँदा मुख्य नाकाबाट आवातजावत गर्ने नागरिक र पर्यटकसमेतले सास्ती खेप्नु परेको छ' उनले भने, 'पर्यटकसमेतमा सडकका कारण नकारात्मक सन्देश जानु हामी कसैको लागि पनि राम्रो होईन। त्यसैले छिट्टै नै सडक निर्माण सम्पन्न गर्नुहोस्।' 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.