त्रिशूली अस्पताल विकास गर्न सम्झौता : वार्षिक साढे दुई करोड सहयोग
नुवाकोट : नुवाकोटस्थित जिल्ला अस्पताल त्रिशूलीलाई विकास गर्नका लागि मंगलबार सम्झौता भएको छ। सम्झौताअनुसार अस्पतालमा विविध कार्य विकास गर्न वार्षिक साढे दुई करोड रुपैयाँ बराबरको सामग्री प्राप्त हुनेछ।
५८ वर्ष अगाडि त्रिशूली जलविद्युत गृह निर्माणमा संलग्न मजदुरहरूको उपचार गर्ने थलोको रूपमा रहेको त्रिशूली अस्पतालमा हाल नुवाकोटका साथै रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार हुँदै आएको छ। विदुर नगरपालिका ९ बाघटार कोलोनीमा रहेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीलाई विकास गरि उपकरणको व्यवस्था गरि अब 'हव अस्पताल' को रूपमा विकास गर्ने सम्झौता गरिएको छ।
अस्पतालका अध्यक्ष राजु पण्डित, निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. अनील श्रेष्ठ र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सो अवसरमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले त्रिशूली अस्पताललाई यन्त्र उपकरण तथा सम्बन्धित चिकित्सक उपलब्ध गराएर बिरामीहरूको प्रभावकारी रूपमा उपचार गर्न सकिने बताए।
सम्झौतासँगै इन्स्टिच्युटले वार्षिक २ करोड ४० लाख रुपैयाँका दरले ४ वर्षमा १० करोड रुपैयाँ बराबरको विभिन्न सहयोग गर्नेछ। जनशक्ति, विभिन्न औजार, उपकरण, भौतिक पूर्वाधार र तालिमका लागि इन्स्टिच्युटले सहयोग गर्ने त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
अस्पतालले २४ घण्टा नै उपचार सेवा उपलब्ध गराइरहेको छ। आकस्मिक र बहिरंग सेवा अस्पतालले प्रदान गरिरहेको छ। अस्पतालबाट प्रदान गरिने बहुविशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरतालाई सम्झौताले सुनिश्चित भएको मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेको भनाइ छ। अबदेखि विशेषज्ञ चिकित्सकलगायत अन्य जनशक्ति, उपकरण र तालिमको व्यवस्था गरी चिकित्सकीय सेवा र सुविधा उपलब्ध गरिने उनले बताए।
अस्पतालले यसअघि सेकेन्डरी 'ए' लेभलको सेवा प्रदान गरिरहेकोमा उत्कृष्टता हाँसिल गरिरहेकोमा अब बहुविषेशज्ञ सेवामा पनि उत्कृष्टता हाँसिल गर्ने अस्पतालका अध्यक्ष पण्डितले विश्वास व्यक्ति गरे। उनले बिरामीहरूको गुणस्तरीय सेवा उपलब्धताका लागि आफू, कर्मचारी तथा प्राविधिकको हौसला बढाउन र उपकरण थप्ने अभियानमा निरन्तर परेको बताए।
अस्पतालमा पछिल्लो समय महत्वपूर्ण शल्यक्रिया, प्रयोगशाला, स्वास्थ्य बीमा, सामाजिक सेवा इकाई तथा फिजियोथेरापी सेवा पनि सञ्चालन हुँदै आएको छ। दैनिक दुई सय जनाको उपचार गरिरहेको त्रिशूली अस्पतालमा पछिल्लो पटक डायोलोसिस, एचडियु, आइसियुलगायत सेवा पनि सञ्चालन भइरहेको छ।