३ सातामै घट्यो ९५ अर्ब निक्षेप
![३ सातामै घट्यो ९५ अर्ब निक्षेप](https://annapurnapost.prixacdn.net/media/albums/money_20220124061552_6qSME58dWy.jpg)
काठमाडौं : बैंकले गएको आर्थिक वर्ष तरलता अभावमा बिताए। अझै पनि तरलता दबाबमै रहेको छ। चालू आर्थिक वर्षको ३ सातामै २६ वाणिज्य बैंकबाट ९५ अर्ब रुपैयाँ निक्षेप घटेको छ। असार मसान्तमा ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकको निक्षेप घटेर साउन तेस्रो सातासम्म ४४ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।
यद्यपि २६ वाणिज्य बैंकको निक्षेप अघिल्लो आवको तुलनामा १२.२० प्रतिशतले वृद्धि भएको छ। तरलता चापका बाबजुद बैंकले गत आर्थिक वर्षमा औसत १३.०६ प्रतिशत हाराहारी कर्जा वृद्धि बढाउन सफल भए। २०७७/७८ मा ३६ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। ४१ खर्ब ६९ अर्ब २८ करोड रुपैयाँ प्रवाह गर्न सफल भएका छन्। जबकि अघिल्लो आर्थिक वर्ष कोभिड महामारीकै प्रभाव रहँदा पर्याप्त तरलता थियो। पर्याप्त तरलता भएको सो अवधिमा वाणिज्य बैंकको कर्जा वृद्धि औसत १५.०४ प्रतिशत रहेको थियो। गत आवमा सबै वाणिज्य बैंकहरूले कर्जा निक्षेप (सीडी रेसियो) कसिलो हुनेगरी लगानी गरेका थिए। सीडी रेसीयो ९० प्रतिशत हुनुपर्नेमा कतिपयले यसलाई नघाएरै भए पनि लगानीमा जोड दिए। यद्यपि अहिले सो रेसियो ८७.८६ प्रतिशत हाराहारीमा छ।
२०७८/ ७९ को वार्षिक प्रतिवेदनअनुसार वाणिज्य बैंकले ७४ अर्ब ८० करोड १४ लाख ३६ हजार खुद नाफा कमाउन सफल भएका छन्। अघिल्लो आव बैंकको खुद नाफा ६२ अर्ब ५५ करोड ७८ लाख ९१ हजार थियो। तरलता दबाबकाबीच पनि बैंकले अघिल्लो वर्षभन्दा १२ अर्ब २४ करोड ३५ लाख ४५ हजार रुपैयाँ नाफा बढाउन सफल भएका छन्। पूर्वबैंकर भुवन दाहाल बैंकले राम्रो पर्फमेन्स गर्न सफल भएको बताउँछन्। उनका अनुसार बैंकको कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) गत वर्षभन्दा धेरै घटेकाले पनि नाफा बढ्न मद्दत पुगेको हो। ‘साथै तरलता कसिलो भएपछि बैंकहरूले अन्तरबैंक ब्याजदर बढाएका थिए।
यसर्थ गत वर्षभन्दा अन्तरबैंक ब्याजबाट आम्दानी भयो। कर्जा नोक्सानी व्यवस्था कम भएकाले पनि नाफा बढेको हो,’ उनले भने। अझै बैंकहरूले समग्रमा सञ्चालन मुनाफा करिब ९ प्रतिशतले मात्रै बढाउन सकेको उनले बताए। २६ मध्ये सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको ५ अर्ब २१ करोड हाराहारीमा देखिएको छ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ गत आवमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कसिलो हुने गरी कर्जामा जोड दिएको र अघिल्लो वर्षको तुलनामा आम्दानी पनि राम्रो गर्न सफल भएकाले नाफामा फड्को मार्न सकेको बताउँछन्। ‘तरलता दबाबले अझ बिजनेस १९ प्रतिशत जति घटेको थियो। तर कसिलो सीडी रेसियोमा रहेर काम गरियो,’ श्रेष्ठले भने, ‘कर्जा असुली भएकाले आम्दानी बढ्यो। साथै निष्क्रिय कर्जा घट्न गएकाले पनि अहिले नाफामा सकारात्मक प्रभाव परेको हो।’
ग्लोबल आईएमई बैंकले ५ अर्बकै हाराहारीमा नाफा कमाएको छ। यस्तै ४ अर्बमाथि ५ अर्बभन्दा कम नाफा गर्नेमा क्रमशः नबिल, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट बैंक छन्। अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा सिभिल बैंक अगाडि छ। अघिल्लो वर्ष ६२ करोड ९३ लाख २० हजार रुपैयाँ नाफा कमाएको सो बैंकले ह्वात्तै बढाएर १ अर्ब ३५ करोड ७२ लाख ३२ हजार रुपैयाँ कमाउन सफल भएको छ।
बैंकको पोर्टफोलियो बढेकाले नाफा बढी भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले जानकारी दिए। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २५ वाणिज्य बैंकको कुल वितरणयोग्य नाफा ५३ अर्ब ८३ करोड हाराहारीमा रहेको छ। सबै बैंकको तुलनामा सबैभन्दा बडी लाभांश क्षमता एभरेस्ट बैंकको देखिन्छ। यसको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाखभन्दा बढी छ। सो बैंकको चुक्तापुँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ। यस हिसाबले बैंकको सम्भावित लाभांश क्षमता ४१ दशमलव १५ प्रतिशत हुन आउँछ।
- वाणिज्य बैंकको निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैयाँ
- बैंकले ७४ अर्ब ८० करोड १४ लाख नाफा कमाए
- १ दर्जन बैंक निष्क्रिय कर्जा घटाउन सफल
अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा (एनपीएल) नियन्त्रणमा आएको छ। १ दर्जन बैंकले निष्क्रिय कर्जा घटाउन सफल भएका छन्। सबैभन्दा बडी निष्क्रिय कर्जा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकै वर्ष १.२३ प्रतिशत विन्दुले निष्क्रिय कर्जा घटाउन सफल भएको छ। ३.२३ प्रतिशत एनपीएल भएको सो बैंकको अब २ प्रतिशत मात्रै बाँकी छ। जबकि कुनै बेला ६० प्रतिशतसम्म थियो।
अहिले धेरै नियन्त्रणमा ल्याउन सफल भैसकेको छ। यद्यपी यसपटक पनि निस्क्रिय कर्जा घटेकाले बैंकले राम्रो नाफा कमाएको सीईओ श्रेष्ठ बताउछन्। यससँगै नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, मेगा बैंक नेपाल, प्रभु बैंक, सेञ्चुरी कमर्सिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एसिया बैंकले निष्क्रिय कर्जा घटाएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)