फैसलाको २९ वर्षपछि अभियुक्त पक्राउ
नुवाकोट : नुवाकोटमा अदालतले कैद सजाय तोकेको २९ वर्षपछि एक जना अभियुक्त पक्राउ परेका छन्। नुवाकोट जिल्ला अदालतले एक मुद्दामा कैद सजाय तोकिएका एक युवकलाई झण्डै तीन दशकपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
अदालतले मानव वेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत नुवाकोटको लगत नं. ६२१ मा २०५० पुस १९ गतेको फैसलाले दुई वर्ष ६ महिना कैद सजाय फैसला भएकोमा त्यसबेलादेखि नै फरार रहेका एक युवकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
घटनापश्चात् फरार रहेका नुवाकोटको उत्तरी भेगमा रहेको दुप्चेश्वर गाउँपालिका- ७ का ५६ वर्षीय ध्रुव नेपालीलाई २९ वर्षपछि पक्राउ गरी फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला कारागार ढुंगे चलान गरिएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए।
यसैगरि सवारी ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालत विदुरको लगत नं. १६१० मा एक महिना कैद सजाय फैसला भएकोमा घटनापश्चात् फरार रहेका अर्का एक जना युवकसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। नुवाकोटकै पूर्वी भेगमा रहेको पञ्चकन्या-३ का ३९ वर्षीय रामकुमार भण्डारीलाई बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय ढुंगे नुवाकोट चलान गरिएको डीएसपी खड्काले बताए।
उता सदरमुकाम विदुरदेखि ५५ किलोमिटर पूर्वमा रहेको ककनी गाँउपालिका- २ खानिखोलामा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा महोत्तरीको भटोलिया-३ बस्ने २० वर्षीय अविनाश ठाकुर पक्राउ परेका छन्। उनले बोकेको कालो झोलाबाट प्लाष्टिकको बोराले बेरेको लागूऔषध गाँजा ९ मुठा (दुई किलोग्राम) बरामद गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ परेका युवकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।