बाढीले जलविद्युतको उत्पादन बन्द
नुवाकोट : नुवाकोटमा रहेको पाँच मेगावट क्षमताको वुद्दभूमि जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। अविरल वर्षाका कारण खोलामा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो।
बाढीले आयोजनाको बाँधमा निकै क्षति गरेको छ। क्षतिको मूल्यांकन सुरु भएको छ। बाढीले करोडौ क्षति गरेको आंकलन गरिएको छ।
दुप्चेश्वर गाउँपालिका-५ र पञ्चकन्या गाउँपालिका-४ भई बहने तादी र चन्द्रवती खोला दोभानमुनि तादीखोलामा आयोजनाको बाँध रहेको छ। सो आयोजनाको बाँध मंगलबार राति आएको बाढीले क्षति गरेको हो।
पञ्चकन्या-४ थप्रेकको नौटारीसम्म २ हजार ८ सय मिटर लामो पाइपबाट विद्युतगृहमा पानी पठाई विद्युत् उत्पादन गरिँदै आएको थियो। ६ महिनाअघि आयोजनाको विद्युत् केन्द्रीय प्रणाली (ग्रीड) मा जोडिएको थियो।
हाइड्रोपावरको बाँधस्थलमा फसेका तीन जना कर्मचारीको बुधबार बिहान उद्धार गरिएको थियो। उनीहरू पानी खोल्न र बन्द गर्न खटिएका थिए। खोलामा पानीको बहाव एक्कासि बढेपछि उनीहरू सोही खोलाको बीचमा अड्किएका थिए।