सुदूरपश्चिममा ओल्के पर्व धुमधामका साथ मनाइँदै

सुदूरपश्चिममा ओल्के पर्व धुमधामका साथ मनाइँदै

बैतडी : सुदूरपश्चिममा ओल्के पर्व मनाइँदैछ। भाद्र १ गतेका दिन ओल्के पर्व मानाइन्छ। सुदूरपश्चिममा ओल्के पर्वलाई चाँडबाँड भित्रिएको संकेतको रुपमा लिइने गरिन्छ।

काँक्रा, पिँडालुका पात तथा हरियो सागपात र मकैलाई देवीदेवताको थानमा चढाउने र आफन्तजनलाई बाढेर खाने चलन पनि रहेको छ। यी खानेकुराका परिकारलाई सगुन र उपहारको रुपमा लिने गरिन्छ। 

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहेको पण्डित गंगादत्त अवस्थीले जानकारी दिए। नयाँ अन्न तथा सागपातलाई देवीदेवताको थानमा चढाउने र आफन्तजनहरुलाई बाढेर खाने चलन रहेको उनले बताए। 

बारीमा फलेको फल, अन्न तथा सागपात देवी देवातालाई चढाएर मात्रै खानुर्पर्ने मान्यताले नयाँ कृषि उपजलाई देवताको थानमा लगेर चढाइन्छ। ओल्के पर्वपछि लगत्तै तीज, गौरा पर्व, दसैं, तिहार लगायतका चाड आउने भएर यसलाई चाड लागेको संकेत दिने पर्वको रुपमा मनाइने पण्डित अवस्थीले बताए। 

बुढी पनि हालिंदै

ओल्के पर्वकै दिन बुढी हाल्ने पर्व पनि मनाइन्छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ। 

त्यो गाडेको रुख तथा झ्याङमा  भदौ महिनाभर प्रत्येक दिन हाङ्गा बुटाहरु थप्दै असोज एक गतेको दिन पोल्ने गरिन्छ। असोज १ गतेलाई बुढी पोल्ने पर्वको रुपमा मनाउने गरिएको पाटन १० का मानबहादुर बिष्टले बताए।

यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ। भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको मान्यता छ। 

यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ। यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ। ओल्के सक्रान्तीको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.