प्रहरी खटाएर फालियो फोहोर
नुवाकोट : काठमाडौं उपत्यकाको फोहोर प्रहरी परिचालन गरी नुवाकोटको बन्चरेडाँडामा विर्सजन गरिएको छ। स्थानीयवासीको अवरोधका बीच पनि ठूलो संख्यामा प्रहरी परिचालन गरी बुधबार फोहोर विर्सजन गरिएको छ।
फोहोर लैजाने क्रममा करिब ३ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। सोही क्रममा १ सय ८८ थान ट्रिपरमा ल्याइएको फोहोर विसर्जन गरिएको प्रहरीले जनाएको छ। बन्चरेडाँडामा मंगलबार पनि प्रहरी परिचालन गरेर १ सय ८५ थान ट्रिपरमा ल्याइएका फोहोर विर्सजन गरिएको थियो। विभिन्न माग राखेर स्थानीयवासीले २ महिनादेखि बन्चरेडाँडामा फोहोर विसर्जन रोकिनुपर्ने माग गर्दै आएका छन्।
स्थानीयवासीले फोहोर, संक्रमण, स्वास्थ्य सुरक्षालगायतका आवाज उठाउँदै फोहोर व्यवस्थापनमा अवरोध भएपछि प्रहरी प्रशासनको सहयोगमा सयौं गाडी फोहोर बन्चरेडाँडामा लगिएको होे। स्थानीयले अवरोध गरेपछि प्रहरीले मंगलबारदेखि नै बल प्रयोग गरेको हो। काठमाडौंबाट लगिएको फोहोर ओखरपौवाका स्थानीयवासीले व्यवस्थापन गर्न नदिएपछि नुवाकोटको ककनीमा सरोकारवालाको छलफल भएको छ। सो बैठकले बन्चरेडाँडामा फोहोर विर्सजनको विषयमा विविध तीनवटा निर्णय गरेको छ।
बञ्चरेडाँडामा फोहोर व्यवस्थापन सन्दर्भमा बसेको बैठकले बन्चरेडाँडा जाने सडकमार्गमा फोहोर बोकेका ट्रिपरले लिच्चड नचुहिने गरी बोक्ने र त्यसको प्रबन्ध ७ दिनभित्र गर्ने, सडकको धुलो तथा हिलो नियन्त्रणको कार्यहरू औषधि तथा पानी छर्कने र त्यसको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने फोहोर विर्सजनस्थलमा ३ दिनभित्र फोहोर विसर्जन गरेपछि टेपिङको व्यवस्था गर्ने निर्देशनसहितको निर्णय गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।
नुवाकोटको बन्चरेडाँडामा फोहोर व्यवस्थापनका सम्बन्धमा बुधबार नुवाकोट, काठमाडौं र धादिङका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाको बसेको बैठक। तस्बिर : देवचन्द्र भट्ट
बञ्चरेडाँडामा फोहोर व्यवस्थापन सन्दर्भमा गरिएको छलफलमा नुवाकोटका प्रजिअ रिसाल, काठमाडौंको गोविन्द रिजाल, धादिङका प्रजिअ कृष्णप्रसाद लम्साल, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल तथा स्थानीय जनप्रतिनिधिको सहभागीता रहेको थियो। छलफलमा ककनीका अध्यक्ष सुमन तामाङ सज्जन, छिमेकी धादिङको धुनीबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायतले फोहोर व्यवस्थापनमा देखिएको विवादको दीर्घकालीन रूपमा निराकरण गरिनु पर्ने बताए।
उनीहरूले जनताका जायज मागलाई सकारात्मक रूपमा लिँदै फोहोर व्यवस्थापनमा राखिएको स्थानीयको माग र अपेक्षाबारे पनि प्रक्रियागत रूपमा समाधान गर्दै लगिनुबपर्ने बताए।बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने सडक मर्मतको काम पूरा नगरी फोहर लैजान थालिएको र फोहर बोक्ने गाडीमा लिच्चड ट्यांकी अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले आन्दोलन गरेका हुन्। फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको स्थानीयवासीको भनाइ छ।
यसअघि फोहोर बोकेका गाडीबाट लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको स्थानीयको भनाइ छ। स्थानीय बासिन्दाको अवरोधकैबीच मंगलबार र बुधबार गरी ३ सय ७३ वटा फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडा पुर्याएको थियो।