गाउँमा व्यवस्थित विद्युतीकरण
नुवाकोट : सर्वसाधारणको सुविधाका लागि नुवाकोटको बेलकोटगढीमा ग्रामीण विद्युतीकरण सुरु भएको छ। सो स्थानमा फलामे पोल र नयाँ ट्रान्समिटरसहितको ग्रामीण विद्युतीकरण भइरहेको छ।
बेलकोटगढी नगरपालिका ५, ६ र ७ नं. वडा हुँदै नगरपालिकाको केन्द्र बाघखोरसम्म लाइन विस्तार भइरहेको हो। सबै वडामा नियमित, सुरक्षित र व्यवस्थित रूपमा विद्युत् पुर्याउने लक्ष्य अनुसार काम सुरु भएको कार्यालयले जनाएको छ।
बेलकोटगढी नगरपालिकाको सबै घरमा सुरक्षित रूपमा बिजुली पुर्याउने लक्ष्य अनुसार लाइन विस्तार भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन रेग्मीले जानकारी दिए।
उनका अनुसार मेयर जगतवहादुर गुरुङलगायतका जनप्रतिनिधिको सक्रियतामा नगरबासीलाई बिजुलीको उज्यालोमा राख्ने काम हुँदैछ।
सो नगरपालिकाको सबै वडामा यसअघि विद्युत् लाइन पुगेपनि व्यवस्थित नभएको स्थानीय बताउँछन्।
कतै बाँसको लौरो गाडेर, कतै काठको खम्बा गाडेर विद्युतीकरण गरिएकोमा अहिले पक्की फलामे पोल र नयाँ ट्रान्समिटर सहितको व्यवस्थित विद्युतीकरणको कार्य भरहेको मेयर गुरुङले बताए।
उनका अनुसार यसअघि, बेलकोटगढी नगरपालिकामा अव्यवस्थित विद्युतीकरण भएका कारण जनधनको क्षति भइरहेको थियो। नेपाल विद्यत प्राधिकरण नुवाकोट वितरण केन्द्रको सहकार्यमा व्यवस्थित र पक्की पोलमार्फत विद्युतीकरणको काम भरहेको हो।
बेलकोगढी नगरपालिका-७ स्थित थालडाँडामा हालसम्म बिजुलीको लाइन नपुगेपनि केही दिनमै पुर्याउने योजना छ।