जो जीवनमा छ, मनमा छैन...

जो जीवनमा छ, मनमा छैन...

काठमाडौं : ‘जो जीवनमा छ, ऊ मनमा छैन। जो मनमा छ, ऊ जीवनमा छैन।’ अर्थात् प्रेमगञ्ज। नेपाली कथानक चलचित्र प्रेमगञ्ज यही भावमा सुरु हुन्छ र सकिन्छ। अर्जुनदृष्टिका साथ लेखक एवं निर्देशक परिच्छेद सेनले प्रेमगञ्जलाई सार्थक बनाएका छन्। नायक तेज गिरी, नायिका बेनिशा हमाल र सम्पदा बानियाँ छन्। तिनको बाल्यकालको भूमिकामा क्रमशः राइडर प्रशान्त, सुप्रिया खनाल र सिमरन खड्का छन्। प्रशान्तको साथीको भूमिकामा अञ्चित ढुंगाना र उनको ठूलो हुँदाको भूमिका पवन भट्टराईले निभाएका छन्।

कसैले नछुनेलाई समयले छुँदो रै’छ, त्यसपछि रुन्न भन्ने मान्छे पनि रुँदो रै’छ। चलचित्रमा यो पक्ष सशक्त छ। गाउँ र बाल्यकालबाट प्रेमगञ्जको कथा सुरु हुन्छ। कक्षा १० मा पढ्दै गर्दा राजालाई शारदाले मन पराउँछे। राजाले भने गाउँकै मैनालाई मन पराउँछ। राजा र मैनाको भेट जसरी गराइएको छ, त्यो ‘नमुना’ छ। दर्शकलाई यो भेटको शैलीले छुन्छ। तीनैजनाले एसएलसी दिन्छन्। राजा र शारदा पास हुन्छन् तर मैना फेल। बुवाबिनाकी मैना गरिब परिवारकी भएर राम्ररी पढ्न नपाएको पीडा यसमा छ। राजा र शारदा उच्च शिक्षालाई राजधानी काठमाडौं जान्छन्। शारदाले राजालाई आफ्नो बनाउन आपसी सम्बन्ध गहिरो भएको दृश्य राखेको भिडियो मैनालाई पठाएपछि कथामा द्वन्द्व उत्कर्षमा पुग्छ।

त्यसपछि अनेक आरोपसमेत खेप्नु खेपेकी मैना र उनकी आमा गाउँ छोडेर सहर पस्छन्। डाक्टर बनेको राजा मैनाको अभावमा मानसिक रूपमा विक्षिप्त भइरहन्छ। साथीले फरक अस्पताल लैजाने भन्दै डान्सबार पुर्‍याएपछि राजाको मैनासँग भेट हुन्छ। यो भेट पनि दर्शकलाई अप्रत्याशित हुन्छ। मैनाकी आमाको निधन भइसकेको हुन्छ भने देहव्यापारले जीवन धानेकी मैनाकी सानी छोरी हुन्छे। प्रेमीप्रेमिकाको मिलन–बिछोडसँगै बालमनोविज्ञानलाई मन छुने ढंगले कथा बगाइएको छ। ‘उत्तर मसँग छैन, प्रश्न यो कस्तो सोध्छौ ? हातमा विष दिएर सञ्चो–बिसञ्चो सोध्छौ।’ आफूलाई धोका दिने राजासँग मैनाले कवितात्मक शैलीमा बोलेका यी वाक्यले वास्तविकता छर्लंग्याएको छ। तीनैजनाको प्रेम निस्वार्थ छ तर जीवनमा प्रेमसम्बन्ध तीनैजनाको पीडादायी छ। कोही सफल हुँदैनन्।

शब्दभन्दा बढी परिवेश, हाउभाउ र सन्दर्भ बोल्छ, प्रेमगञ्जमा। निर्देशक सेनले बुबाले छोडेका सन्तानहरूको पीडालाई चलचित्रको केन्द्रबिन्दु बनाएका छन्। झन्डै तीन वर्ष लगाएर पहिलोपटक लेखन र निर्देशन गरेका युवा निर्देशक सेनको यो संकेत ‘उदाउँदो घाम’ झैं छ। किताबसम्म नपाएर विद्यार्थी जीवनमा पीडा खेपेकी मैनाको सपना पूरा गर्न राजा र मैना गाउँ फर्कन्छन्। परिवार र समाजको दबाबमा विवाहको मिति तय हुन्छ। पुस्तकालय बनिसक्छ तर सञ्चालनमा आएको हुँदैन। बिहे भइरहँदा मैना ढल्छिन्। गाउँकै हेल्थपोस्टमा पु¥याउँदा डाक्टर बनेकी शारदाले सौता मैनाको उपचार गर्नुपर्ने अवस्था हुन्छ। हेलिकोप्टर त्यो विकट ठाउँमा झिकाउन सम्भव हुँदैन। राजाले आफूलाई एड्स भएको भनेर ढाँटे पनि मैनाले त्यसबेला आफूलाई एड्स भएको थाहा पाउँछिन्। उनको त्यही ज्यान जान्छ।

बिहेकै दिन सिउँदो भर्ने समयमा प्रेमिकाको बिदाइ गर्ने परिकल्पनाले प्रेमगञ्ज बेजोड बनेको छ। उपचार सौताले गर्ने परिवेशको कल्पना सशक्त छ। घाट पुर्या‍एपछि दागबत्ती दिन लागेका राजाले गरेका फरक क्रियाकलापको परिकल्पना पृथक् छ। यतिबेला दर्शकले सोचेविपरीत कथालाई मोड्न सेन सफल देखिन्छन्। सहरमा छोडेकी छोरीले आमाको कथा लेखेर उपन्यास ‘प्रेमगञ्ज’ तयार पारेकी हुन्छिन्।  निर्देशक सेन भन्छन्, ‘चलचित्रमा प्रेमगञ्ज प्रेमिल जोडीहरू बस्ने एउटा बस्ती हो। काभ्रे, सोलुखुम्बु र भक्तपुरको नाला मिलेर प्रेमगञ्ज बस्ती निर्माण गरिएको छ।’ 

काठमाडौंमा पनि छायांकन छ। चलचित्रमा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, रामबाबु रेग्मी, मनोज पण्डितलगायतको भूमिका छ। पुरुषोत्तम ढुंगेलका गीत र कविता छन्। ६ गीतमा किरण भुसाल र एउटामा गैरे सुरेशको संगीत छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.