‘ऐना झ्यालको पुतली’को बालगीत
काठमाडौं : भदौ २४ मा प्रदर्शन हुने चलचित्र ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बालगीत सार्वजनिक भएको छ। ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैं केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ।
रामबाबु सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका हुन्। २०४२ सालमा रामेश श्रेष्ठले यस गीतको संगीत गरेका थिए। रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बालगीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) को रुपमा सार्वजनिक गरेको हो। रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरेजस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए।
‘मैले फिल्म पनि हेरें। गाउँले परिवेश र शिक्षाको महत्वका विषयमा असाध्यै राम्रो फिल्म बनेको रहेछ। मैले त ज्यादाभन्दा ज्यादा बालबालिकाले गीत सुनुन् भनेर बनाएको हो। अब फिल्ममा राखेपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ’, उनले भने, ‘यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि। हाम्रो उद्देश्य पनि मिल्यो।’ लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भए पनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा पनि प्रयोग गर्ने निर्णय गरेको बताए।
‘यो गीत मैले सानोमा सुनेको पनि थिएँ। तर, कलेज पढ्दा बढी ख्याल गरेको थिएँ। यतिबेला सुन्दा पनि म नोस्टाल्जिक बनेको थिएँ। अहिले यो फिल्ममा गीत राख्ने कारण हाम्रो यही नोस्टाल्जिया फर्काउने हो। किनकी यो फिल्म नै एक प्रकारको हाम्रो नोस्टाल्जिया हो’, सुजितले भने।
बुसान, ढाका, फ्रिवर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा प्रस्तुत गरेको छ। जुन परिवार आर्थिक अभावका कारण छोरीलाई माध्यामिक शिक्षा दिन पनि संघर्ष गर्छ।