सान्जेनको आईपीओमा बिहीबारसम्म ११ लाख १५ हजार कित्ताका लागि आवेदन
काठमाडौं : सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन अझै परेको छैन।
मागअनुसारको आवेदन नपरेपछि आवेदन दिने समय थप भएको छ। अब असोज ४ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। सो अवधिमा माग अनुसारको आवेदन परेन।
कम्पनीका अनुसार बिहीबार साँझसम्म ६ हजार २१० आवेदकले ११ लाख १५ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ।
यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र यसको सह-निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल तथा एनएमबी क्यापिटलले गरिरहेका छन्।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो।
कम्पनीले रसुवाको आमाछोदिङ्मो-५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ।
स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !