ठोरी नाकाबाट ठूलो परिमाणमा लागूऔषधसहित युवक पक्राउ
वीरगन्ज : पर्साको ठोरी नाका हुँदै ठूलो परिमाणमा लागूऔषध भित्र्याउँदै गरेका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ का ३० वर्षीय रवीन्द्र कुमार साह रहेका छन्। उनको साथबाट नेपाल प्रतिबन्धित लागूऔषध कोडिवेल सिरप चार सय ७४ बोत्तल बरामद गरिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।
प्रहरीका अनुसार भारतको भीखनाठोरीबाट बुधबार मध्यरातमा लागूऔषध बोरामा राखेर पैदल ठोरी नाका हुँदै सुन्दरवस्तीतर्फ आउँदै गरेका साहलाइ प्रहरीले ठोरी-२ सितागुफा नजिक रोकेर चेकजाँच गरेको थियो।
त्यस क्रममा साहले बोकेको जुटको बोरा खानतलासी गर्दा बोराभित्र चार सय ७४ बोत्तल लागूऔषध कोडिवेल सिरप बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।
लागूऔषधसहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान भभइरहेको बस्नेतले जानकारी दिए।