नुवाकोटमा ठूलो मात्रामा अखाद्य वस्तु नष्ट
नुवाकोट : नुवाकोटमा उपभोक्ताहरूले खाद्य सामग्रीबारे गुनासो गरेपछि सोमबार बजार अनुगमन गरिएको छ।
अनुगमन टोलीले बजार अनुगमनका क्रममा अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरेको छ। मुख्य चाडपर्व नजिकिएसँगै संयुक्त बजार अनुगमन समितिले नुवाकोटमा बजार अनुगमनलाई तीव्रता दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल संयोजक रहेको समितिले सोमबार विदुर नगरपालिकाको विभिन्न स्थानमा बजार अनुगमन गरेको छ।
विदुर नगरपालिका-५ देवीघाट बजारमा संयुक्त रूपमा बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार १० वटा खाद्यान्न, किराना सप्लायर्स, एक/एक वटा फेन्सी, मासुपसल, मदिरा र मिष्ठान्न भण्डार गरी उपभोक्तासँग प्रत्यक्ष सरोकार रहेको १५ वटा पसलहरूमा अनुगमन गरिएको हो।
अनुगमनको क्रममा भेटिएका ठूलो परिमाणको अखाद्य वस्तुहरू नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमनका संयोजक सप्रजिअ वेदप्रसाद अर्यालले बताए।
उनका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिनुका साथै विविध कारणले अखाद्य भएका वस्तुहरू नियन्त्रणमा लिएर नष्ट गरिएको हो।
अनुगमन टोलीले बिस्कुट, चकलेट, खाने तेललगायतका विविध सामग्रीसमेत गरी १५ हजार चारसय ८५ रुपैयाँ बराबरको सामग्री अखाद्य रहेको पुष्टि गरेपछि तत्काल नियन्त्रणमा लिएर नष्ट गरिएको हो।
अनुगमन गर्दा आठवटा पसलहरूमा अखाद्य वस्तु भेटिएपछि पहिलो पटकलाई नियन्त्रणमा लिएर नष्ट गरिएको र पुनः दोस्रो पटकको अनुगमनमा पनि अखाद्य वस्तु भेटिएमा नियन्त्रणका साथै कानून अनुसार जरिवाना समेत गरिने सप्रजिअ अर्यालको भनाइ छ।
अनुगमनको क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्य सूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बिल र बिक्री बिलको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा देखिएका कमजोरी हटाउन निर्देशन दिइएको संयोजक अर्यालले बताए।
चाडपर्व नजिकिएसँगै अनुगमनलाई तीव्रता दिइएको टोलीले जनाएको छ। चाडपर्व मात्रै नभई न्यूनतम महिनाको एक पटक अनिवार्य अनुगमन गरिनुपर्ने उपभोक्ताहरूको माग छ।
साथै उपभोक्तालाई सचेत भएर खाद्य सामग्री खरिदका लागि जिल्ला प्रशासनले आग्रह गरेको छ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको संयोजकमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता अधिकार मञ्च, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।