कथा मौलिक, वाचन प्रतिस्पर्धी

कथा मौलिक, वाचन प्रतिस्पर्धी

नेपाली सिनेमा कस्तो हुनुपर्छ ? 

सिनेमामा कथा कसरी वाचन हुनुपर्छ ? 
कस्ता सिनेमाले नेपाललाई विश्व सिनेमासँग जोड्न सक्छन् ? 

यस्ता सबै प्रश्नको सामूहिक जवाफ बनेर आएको छ, ‘ऐना झ्यालको पुतली’।

धेरै वर्ष पहिले ग्रिक दार्शनिक एरिस्टोटलले कथामा नभई नहुने तीन गुणको चर्चा गर्ने क्रममा ‘युनिटी, टाइम एन्ड स्पेस’ को सिद्धान्त प्रतिपादन गरेका थिए। कथा वाचनलाई भित्रैदेखि बुझेका फिल्मकर्मीले यो सिद्धान्तलाई राम्ररी अनुशरण गरेर कालजजी सिनेमा बनाएका छन्। नेपालमा भने अधिकांश समय यो सिद्धान्तको छेउछाउमै पुग्न नसकेको दृष्टान्त थियो। तर, मौलिक कथा वाचन गर्दागर्दै लेखक तथा निर्देशक सुजित बिडारीले कथा वाचनको यो गुरुमन्त्रलाई पनि व्याकरणझैं फिल्ममा स्थापित गरेका छन्। त्यसैले यो फिल्मलाई मौलिक कथासँगै कथा वाचनको कडीमा पनि राखेर हेर्दा पाठशालाझैं प्रतीत हुन आउँछ। 

फिल्मको केन्द्रमा मुख्यतः तीन चरित्र छन्। विद्या (कञ्चन चिमरिया), वसन्त (दिनेश खत्री) र आमा (सिरु विष्ट)। संखुवासभाको ज्यामिरेका यिनै तीन चरित्रमार्फत सुजित बिडारीले हामीलाई ५० को दशकको नेपाली समाजको टाइम ट्राभल गराउँछन् र गाउँले जीवनका साना साना कुरा देखाउँदै नेपाली समाजमा महिलाको दारुणिक अवस्थालाई ऐनामाझैं दुरुस्त देखाउँछन्।

ज्यामिरेकी विद्यालाई सात कक्षा पास गरेर आठ कक्षा पढ्न ठूलो स्कुल जानुपर्छ। तर, घरको अवस्था यस्तो छ कि विद्यालाई त्यो ठाउँमा बसेर पढाउनका लागि उनको परिवारसँग प्रशस्त पैसा छैन। विद्या प्रथम भएको भए त्योवापत आउने छात्रवृत्तिबाट माध्यमिक शिक्षा पढ्ने उनको बाटो खुल्थ्यो तर, घरधन्दाले पढ्न पाउने समय नहुँदा विद्या दोस्रो भएसँगै त्यो सम्भावना सकिन्छ। यसपछि सुरु हुन्छ पैसाको अभावलाई परिवारले सामूहिक रुपमा पूर्ति गर्ने खेल। यो खेलमा खुल्दै जान्छन् छोरी पढाउन चाहने आमाको सुषुप्त चाहना, भाइको इष्र्यासहितको प्रेम अनि विद्याले नियतिसँग गरेको सम्झौता। 

‘ऐना झ्यालको पुतली’को कथामा फिल्मी भाषामा भनिने भीमकाय टर्निङ प्वाइन्ट छैनन् न त छन् पन्च लाइनवाला डाइलग। तर, यी सबै नहुनु नै यो फिल्मको शक्ति हो। हामीले देखेभोगेका कथालाई लेखक÷निर्देशक सुजित बिडारीले कुरुषले स्वेटर बुनेझैं मन छुनेगरी बुनेका छन्। फिल्मको अन्त्य यस्तो छ कि पाषाण हृदयको मानिस पनि बाहिर रोओस् नरोओस् भित्र रुन्छ नै। 

यो फिल्मको कथा जति सरल छ, बुनाई उत्तिकै कलात्मक। निर्देशकले गाउँको जनजीवन दुरुस्त टिपेका छन्। त्योबाहेक निर्देशकले दर्शकलाई यो कथा कुन समयको भन्ने पनि उत्तिकै स्पष्टताका साथ वाचन गरेका छन्। यो विशेषता उत्पातै मनोरञ्जन दिने फिल्ममा पनि पाउन गाह्रो पर्छ। जस्तो कि यसको कथा मंसिरबाट सुरु भएर वैशाखसम्म जान्छ। 

५० को दशकमा शैक्षिक सत्र मंसिरमा सुरु हुन्थ्यो। विद्यार्थीबीच अघिल्लो कक्षाका विद्यार्थीको किताब माग्नेदेखि लिएर नयाँ स्कुलमा जाँदा नयाँ लुगा सिलाउने, पिकनिक जाने, बिहे बटुलो र श्राद्ध गर्ने कुराहरू यो टाइमलाइनमा अटाउँथे। फिल्मले यस्ता कुनै कुरा छुटाएको छैन। संखुवासभाको ज्यामिरे देखाउँदा देखाउँदै निर्देशक बिडारीले पूरा देशका घटनाक्रमसँग पनि दर्शकलाई जोड्छन्। फिल्म २०५२ सालको माओवादी द्वन्द्वभन्दा अगाडिबाट सुरु भएको छ। तर, यही सालको फागुनबाट सुरु भएको माओवादी द्वन्द्वलाई रेडियोको समाचारमार्फत स्थापित गरेको छ। त्यो समयमा देशमा भइरहेका अरु घटनालाई पनि निर्देशकले यही रेडियोमार्फत वाचन गरेका छन्। मूलकथालाई रत्तिभर नछाडी पूरा समाज र देश पर्दामा समेट्नु निर्देशकको शिल्पको उच्चतम नमुना हो। यही कारण निर्देशक बिडारी पूर्ववर्ती र समकालीन निर्देशककाबीच सगरमाथाझैं ठडिएका छन्। दाम बढाबढ गरेर पैसा माग्ने तर, संधै एउटै कथा ओल्टाइपल्टाइ गरेर फिल्म बनाउने र समसामयिक फिल्म बनाएको दाबी गरेर समाज र समय नै नबुझी सिनेमा बनाउने निर्देशकले सुजित बिडारीको यो फिल्म १० चोटी हेर्न जरुरी छ। 

निर्देशक बिडारीसँग कथा भन्ने शिल्प त उनको आफ्नो छँदै थियो तर, जीवनमा फिल्म हल नै नदेखेका कलाकारबाट यो स्तरको अभिनय निकाल्न सक्नु पनि चानचुने उपलब्धि होइन। स्टारबाट कलाकार भएँ भन्नेदेखि म एक नम्बर भन्नेले पनि यी कलिला किशोरीबाट अभिनय कसरी गरिन्छ भन्ने कुराको जवाफ पाउन सक्छन्। कञ्चन चिमरिया, दिनेशखत्री र सिरु विष्टले अभियनको नयाँ मापदण्ड प्रस्तुत गरेका छन्। सानो सानो भूमिकामा देखापरेका बाँकी कलाकारले पनि कहिँकतै ‘जा है’ भन्ने मौका दिएका छैनन्।

अभिनय र निर्देशनको पक्षमा मात्र यो फिल्म अब्बल छैन, यो फिल्मको छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनिमि श्रण सबै कुरामा अब्बल छ। अमर महर्जनले संखुवासभाको जीवनलाई अनावश्यक लिपपोत नगरी सरल रुपमा प्रस्तुत गरेका छन्। उनले कलाकार पछ्याउने ट्रयाकिङ सटहरू असाध्यै सुन्दर तरिकाले लिएका छन्। सिनेमाको क्लाइमेक्समा वसन्तको आँखाबाट आफ्नो घरमा भइरहेका घटना देखाउने शैली छ। वसन्तको आँखाले जे हेर्छ क्यामराले त्यही देखाउँछ। तर, यो कुरा अमर महर्जनले जुन सरलताका साथ टिपेका छन्, त्यो सुन्दर छ। फिल्मभरि नै सुजित बिडारी र अमर महर्जन एकअर्कासँग आफ्नो अब्बलता प्रमाणित गर्ने प्रतिस्पर्धामा छन्। यसैगरी किरण श्रेष्ठको सम्पादन चुस्त छ भने संगम पन्तको पाश्र्व संगीत चोटिलो छ। 

‘ऐना झ्यालको पुतली’गाउँको कथा हो र गाउँमै सकिन्छ तर, फिल्मले सहर पनि जोडेको छ। फिल्मभित्र एउटा पात्र छ, जो बाउको कुटाइ खानुको साटो काठमाडौं गएर गलैंचा बुन्ने सपना देख्छ। भाडामा फिल्म हेर्ने पात्रको गेटअप र फिल्म छनोटका सन्दर्भमार्फत यसले दर्शकलाई सहरसँग जोडेको छ। तर, यी सबै दृश्यहरू मनोरञ्जनका रुपमा मात्र आएका छन्, तिनले कथामा मुख्य पात्रको संघर्ष थप्न उत्प्रेरकको भूमिका निर्वाह गरेका छन्। जस्तो कि फिल्मको लती वसन्तका यही फिल्म हेर्ने बानीको लहरोले पहरो तानेको छ, जसले यो फिल्मको अन्त्य जन्माएको छ। पटकथामा यति सूक्ष्मता कमै फिल्ममा देख्न पाइन्छ। 

नेपालमा पछिल्ला केही वर्षमा मौलिक कथामा उस्तै शिल्पसहित फिल्म बनाउने सर्जकको जमात बढेको छ। यो नेपाली सिनेमाको विविधता र राष्ट्रिय उद्योगका लागि सकारात्मक पक्ष हो। तर, यस्ता सिनेमा मौलिक हुँदाहुँदै पनि प्रतिस्पर्धी बन्न सकेका थिएनन्। तर, ‘ऐना झ्यालको पुतली’ यस्ता सबै प्रयत्नको साझा सपना बन्न सफल भएको छ। यो फिल्म कथामा मौलिक छ र प्रस्तुतिमा प्रतिस्पर्धी। यो फिल्म हेरेपछि सायद तपाईलाई ‘मनपर्ने नेपाली फिल्म कुन ? ’ भनेर कसैले सोध्यो भने नाम भन्न अनकनाउनु पर्दैन। झट्टै जवाफ आउनेछ, ‘ऐना झ्यालको पुतली।’


‘पाँच वर्षपछि बल्ल देखाउन पाइयो’

 आकाश पौडेल, निर्माता

‘ऐना झ्यालको पुतली’ पाँच वर्ष अघि नै निर्माण गरिएको हो। कोरोना महामारीका कारण पाँच वर्षपछि मात्रै चलचित्र रिलिज गर्न पायौं। ‘ऐना झ्यालको पुतली’ पारिवारिक चलचित्र हो। यस चलचित्रमा एउटी बालिकाले पढ्नका लागि गर्ने संघर्षको कथालाई प्रस्तुत गरिएको छ। चलचित्रको व्यापार पनि राम्रै छ। अहिलेसम्म ६० प्रतिशत अकुपेन्सी छ। त्यसैले लगानी उठ्नेमा विश्वस्त छु।

विभिन्न विद्यालयका भाइबहिनीहरूले चलचित्र हेरुन् भनेर हामीले अभियान पनि चलाइरहेका छौं। त्यही कारण विद्यार्थीहरूको सहभागिता पनि पछिल्लो समय उत्साहजनक छ। दोस्रो सातामा चलचित्र गयो भने कम्तीमा सय दिन मनाउँछ भन्ने लागेको छ। चलचित्र हेरेपछि दर्शकहरूले हामीलाई ‘स्ट्यान्डिङ अवेसन’ दिइराखेका छन्। चलचित्र सकिएपछि दर्शकबाट ‘स्ट्यान्डिङ अवेसन’ पाउने सम्भवतः यो पहिलो चलचित्र बनेको छ।

लोकल सिनेमाको ब्यानरमा यो तेस्रो चलचित्र हो। यसअघि ‘कथा ७२’ र ‘चिसो एक्स्ट्रे’ निर्माण गरेका थियौं। म पनि चलचित्र विषय पढेको व्यक्ति हुँ। त्यसैले म आफै पनि चाँडै नै चलचित्र निर्देशन गर्दैछु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.