वीरगन्जमा चिडियाखाना निर्माणका लागि सरकारको अनुमति

वीरगन्जमा चिडियाखाना निर्माणका लागि सरकारको अनुमति

वीरगन्ज : वीरगन्ज महानगरपालिका-३२ मा सदर चिडियाखाना निर्माण हुने भएको छ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्जमा सदर चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएको हो। 

एक अर्ब एक करोड सात लाख रुपैयाँको लागतमा चिडियाखाना निर्माण गरिने वन मन्त्रालयले जनाएको छ।

चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल समिति गठन भइसकेको छ। समितिले आफ्नो प्रतिवेदन समेत मन्त्रालयमा पेश गरिसकेको छ।

वीरगन्ज महानगरपालिकाको ग्रामीण भेगमा पर्ने सोलखपुर रामवनमा प्राकृतिक चिडियाखाना स्थापना गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भन्दै चिडियाखाना निर्माणका लागि उपयुक्त स्थान भएको प्रतिवेदनमा उल्लेख छ।

प्रस्तावित चिडियाखानाको क्षेत्रभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएका सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नुपर्ने, प्रस्तावित चिडियाखाना स्थापना गर्दा प्राकृतिक चिडियाखानाका साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र निर्माण गरिने, वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनुपर्ने एवं जैविक विविधता शिक्षा प्रवद्र्धन तथा वन्यजन्तुको कल्याण समेतलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार चिडियाखाना स्थापना र सञ्चालनका लागि मानवीय, प्राविधिक तथा आर्थिक स्रोतको सुनिश्चित हुने गरी प्रस्तावित चिडियाखाना स्थापना र सञ्चालन गर्नुपर्ने उक्त अध्ययन प्रतिवेदनको राय रहेको छ।

प्रस्तावित चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नंबर ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहले समेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडियाखाना स्थापनाका लागि सहमति दिएको छ। 

सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेक्टर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ।

प्रस्तावित वन क्षेत्रमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, सुँगा, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घस्रने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँ चिडियाखाना बनाउन उपयुक्त रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताए।

वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौं पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले सामाजिक सन्जाल मार्फत प्रतिकृया दिएका छन्।

उनले भनेका छन्, 'पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको छु, गृहनगर वीरगन्जमा निर्माण हुने चिडियाखानाले पर्यटन प्रवर्द्धनसहित यहाँका नागरिकको आर्थिकस्तरमा वृद्धि गर्ने मैले अपेक्षा लिएको छु।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.