नुवाकोटमा मिनीट्रकले बाटो हिंडिरहेका २ जनालाई ठक्कर दियो : एकको मृत्यु, एक गम्भीर घाइते
नुवाकोट : नुवाकोटको महादेवफांटमा भएको सडक दुर्घटनामा एक जना पैदलयात्रुको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । बेलकोटगढी नगरपालिका ७ महादेवफाँटमा आइचरको मिनीट्रकले बेलुका साढे सात बजे पैदल यात्रुलाई ठक्कर दिँदा एक जना स्थानीय यात्रुको घटनास्थलमै ज्यान गएको हो । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बेलकोगढी नगरपालिका ७ महादेवफाँटका ४५ वर्षीय वीरेन्द्र कुंवर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटको देवीघाट–गल्छी सडकमार्गको बीचमा रहेको सो स्थानमा गल्छीतर्फ जाँदै गरेको बा३ख १६४ नम्बरको आइचरले मंगलबार बाटोमा हिँडिरहेका कुंवरसहित दुई जनालाई ठक्कर दिएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिइन् ।
सडक दुर्घटनामा अर्का पैदल यात्री बेलकोटगढी नगरपालिका ७ कै ४५ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएका छन् । उनको स्थानीय महादेवफाँटकै अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौंको बिएन्डबी अस्पताल पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिइन् ।
घाइते युवकको अवस्था गम्भीर रहेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले पिछा गर्दै केही टाढा पुगेर ठक्कर दिने आइचर तोडफोड र आगजनी गरेका छन् । घटनालगत्तै स्थानीयले सडकमार्ग अवरुद्ध गरेका थिए। दोषीलाई हदैसम्मको कारवाही गरिनुपर्ने तथा घाइते र मृतकका आफन्तलाई क्षतिपुर्तीको माग गर्दै स्थानीयले सडकमा बन्द गरेर प्रदर्शन गरिरहेका थिए। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएको छ ।