८० घरपरिवारलाई खानेपानी
नुवाकोट : नुवाकोटको बेशीकठेरीका बासिन्दाले धेरै वर्षपछि खानेपानीको सुविधा पाएका छन्।
जिल्लाको पञ्चकन्या गाउँपालिका-२ स्थित बेशीकठेरीमा पिउने पानीको संरचना निर्माण गरिएसँगै ८० घरपरिवारले खानेपानीको सुविधा पाएका हुन्।
बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको पहलमा प्रदेश सरकारबाट प्राप्त २० लाख रुपैयाँको लागतबाट आयोजना पूरा गरिएको उपभोक्ता समितिले जनाएको छ।
आयोजनाको निर्माणसँगै राई समुदायको बहुल्यता रहेको सो स्थानमा ७८ घरपरिवारले स्वच्छ खानेपानी पाएको समितिका अध्यक्ष बैद्यनाथ मिश्रले जानकारी दिए।
उनका अनुसार यसबाट गाउँवासी निकै खुसी भएका छन्। प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीले आयोजनाको उद्घाटन गरे।
उनले गाउँवासीको समस्या समाधानका लागि आफू सदैव क्रियाशील रहेको उल्लेख गर्दै अन्य बाँकी योजनाहरूको पूर्णताका लागि अगाडि बढिरहेको बताए।
सो स्थानमा करिब दुई किलोमिटर टाढाबाट पानी ल्याएर दुईवटा ठूला ट्यांकी बनाएर खानेपानी सुविधा पाएपछि स्थानीय निकै खुसी भएका स्थानीय युवा दीपक कार्कीले जानकारी दिए।