महानायक–नायिकाको त्यो जोडी

महानायक–नायिकाको त्यो जोडी

सुचित्रा र उत्तामको जोडीलाई सम्झेर युवाहरू एउटा गीत गाउँछन्– ‘एई पोथ जोडी ना शेष होय. . . ।’


नेपाली फिल्म क्षेत्रमा एउटा प्रश्न अझै अनुत्तरित छ। पहिलो नेपाली सिनेमा कुन हो ? राजा हरिश्चन्द्र कि आमा ? 

राजा हरिश्चन्द्र नेपालीमा बनेको हो कि नेपालीमा ‘डब’ गरिएको हो ? 
यी दुई प्रश्नको सही उत्तर कसैसँग छैन। किनकि, यसबारे न पर्याप्त शोध (अनुसन्धान) भएको छ न त पुराना सिनेमाहरूको सही रूपमा संरक्षण नै गरेर राखिएको छ। 
भारतको कोलकातामा बनेको भनिएको पहिलो नेपाली फिल्म राजा हरिश्चन्द्र हिन्दीमा बनेको सत्य हरिश्चन्द्र बनेको कैयौं वर्षपछि बनेको थियो। 
त्यसैगरी हालैका वर्षमा अर्को विवाद पनि सुरु भएको छ। राजेश हमाललाई महानायक मान्ने कि नमान्ने ? 

यसबारे पनि कलाकार नै दुई कित्तामा विभाजित भए। विवादकै कारण पनि कैयौं कलाकार ‘वायकट’ मा परे। कैयौं बीचमा आपसी मनमुटाव भयो। त्यसैकारण तनाव पनि देखा पर्‍यो। तर सिनेमा उद्योगमा महानायकको दाबी गर्न तीनैजना नायक एकआपसमा ठोकिएका छन्। 

राजेश हमाललाई ‘अनफिसियल रूपमा एक टेलिभिजनकर्मीले महानायकको घोषणा गरे। सामाजिक सञ्जाल र बोलीचालीमा पनि हमाललाई महानायक भन्न थालियो। महानायकको सम्बोधन र पगरीको विवाद चलिरहेकै बेला महानायिकाको पनि पदवी बाँडियो। सिनेमा क्षेत्रमा यसले झनै विवाद निम्त्यायो। घेरा प्रवृत्तिको चरमचुली बढ्दै गयो। 

महानायक र महानायिकाबारे नेपालमा विवाद भए पनि यस्तो घोषणा गर्ने चलन भारतको कोलकाताबाट सुुरु भएको हो। त्यहाँ भने विवादको सामना गर्नु परेन। 
भारतमा बम्बई फिल्म उद्योग बलिउड र दक्षिण भारतको केरला फिल्म उद्योग कलिउड बन्नुअघि नै कोलकातामा मोडर्न थिएटर र न्यु टाकिजले आफ्नो झन्डा गाडिसकेका थिए र यसैको बलबुततामा टलीगन्जको जन्म भएको हो। 

टलीगन्जमा एक से एक चलचित्र निर्माता, निर्देशकले बंगाली फिल्मबाहेक हिन्दी सिनेमा जगत्लाई पनि उत्साह दिइरहेका थिए। बंगाली भाषामा बन्ने फिल्मका नायक उत्तम कुमार र नायिका सुचित्रा सेनलाई सन् १९५५ को हाराहारीमै महानायक र महानायिकाको घोषणा गरिएको थियो। 

पहिलो घोषणा महानायिकाको 

बंगाली भाषामा बन्ने चलचित्रका अभिनेता उत्तम कुमारलाई सुटिङस्थलमा महानायक भन्न थालियो। फिल्म निर्देशक तरुण मजुमदारले उत्तमकुमार महानायक मानिन्छ भने सुचित्रा सेनलाई महानायिका भन्नुपर्ने तर्क गरे। हुन पनि, त्यतिबेला बंगाली सिनेमामा सुचित्राको प्रस्तुति र ख्यातिलाई अरूले छुन सक्दैनथे। सुचित्राले त्रिपन्नओटा बंगाली फिल्म र सातओटा हिन्दी फिल्ममा नायिकाको भूमिका निभाएकी थिइन। सुचित्रा सेनले अभिनय गरेका अधिकांश बंगाली फिल्म हिन्दीभाषामा ‘रिमेक’ भएर बनेका छन्। त्यसमध्ये ‘दीप ज्वेले जोइ र देवदास’ त बंगालीमा बनेलगत्तै हिन्दीमा पनि तिनै निर्देशकले बनाएका हुन्। 

सन् १९६३ मा पहिलो पटक मस्को फिल्म फेस्टिभलमा उनलाई बंगाली फिल्म ‘सात पके बन्धा’ मा अन्तर्राष्ट्रिय उत्कृष्ट अभिनेत्रीको पुरस्कार दिइयो। सन् १९५८ मा उनले अभिनय गरेको फिल्मको संवेदनशील अभिनयका निम्ति बेलायतको लन्डनस्थित ब्रिटिस ब्रोडकास्टिङ कर्पाेरेसन (बीबीसी) ले बंगाली सिनेमा र उनको अभिनय क्षमताबारे वार्ता गर्न बोलाएका थिए। उनका लागि मात्र नभई सिनेजगत्कै निम्ति नै ठूलो सम्मान थियो। 

सात ओटा सफल हिन्दी फिल्ममा अभिनय गरेकी सुचित्रालाई आँधी फिल्मका निर्देशक गुलजारले उनको भव्य व्यक्तित्व देखेर ‘सर’ भनेर सम्बोधन गर्थे, सम्भवतः उनलाई ‘सर सुचित्रा सेन’ भन्ने पहिलो व्यक्ति नै गुलजार थिए। 

महानायक उत्ताम कुमारले खेलेका धेरै फिल्म हिन्दीमा पुनर्निर्माण भएका छन्। कतिपय फिल्ममा बलिउडका सुपरस्टार राजेश खन्नाले नै अभिनय गरेका छन् भने कतिपय फिल्ममा अमिताभ बच्चनले।

गुलजारको ‘आँधी’ भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनसित प्रभावित भएर बनाइएको थियो। उक्त फिल्म हलमा चल्दै गर्दा सेन्सरको बखेडा सुरु भएको थियो। आँधीभन्दा अघि सुचित्राले हिन्दीमा विमल राय निर्देशित देवदास (सन् १९५५), हृषिकेश मुखर्जीको मुसाफिर (सन् १९५७), राज खोसलाको बम्बईका बाबु, (१९६०) असित सेनको ममता (सन् १९६६) मा नायिकाको भूमिका निर्वाह गरेकी थिइन। यी सबै फिल्म त्यतिबेलाका चर्चित नायकहरू दिलीपकुमार र देव आनन्दले खेलेका थिए। सन् १९७५ मा प्रदर्शित गुलजार निर्देशित आँधी मा उनी सञ्जीवकुमारसँग आएकी थिइन्। 

सुचित्रा सेन बंगाली फिल्ममा आउँदा यति चर्चित भइसकेकी थिइन् किसन् १९६२ मा विपाशा फिल्ममा अभिनय गर्दा रु. एक लाख पारि श्रमिक लिएकी थिइन्। सोही फिल्मका निम्ति उत्तमकुमारले असी हजार पारि श्रमिक लिएका थिए। 

अमर बौ का निर्देशक खगेन रायले सुचित्राबारे भनेका छन्– सुचित्रा बंगालकी पहिलो ग्ल्यामरकी रानी हुन्। बंगाली दर्शकले पहिलो पटक उनीबाटै ग्याल्मर के हो भन्ने थाहा पाए, बुझे पनि।’
सुचित्राभन्दा अघिकी नायिका काननदेवीलाई गायनकी स्टार भनिन्थ्यो भने साधना बसुलाई नर्तकी एवम् अभिनेत्री मात्रै भनियो। त्यतिबेला बम्बईमा अभिनय गरिरहेकी नरगिस, मीनाकुमारीलाई ‘स्टार’ सम्म भन्न नरुचाइएको बेला सुचित्रा सेनलाई बंगाल सरकारले महानायिकाको पदवीबाट सम्मानित गर्‍यो। यो सम्मानको उनले कतिसम्म कदर गरिन् भने ‘भारत सरकारले सन् २००५ मा दादा साहब फाल्के सम्मान’ दिने निर्णय गर्दा उनले त्यसलाई अस्वीकार गरिन्। दादा साहब फाल्के पुरस्कार भारतीय सिनेजगत्मा दिइने राष्ट्रिय स्तरको एक उच्चकोटीको पुरस्कार हो। 

उनीसित काम गर्न नपाए पनि विश्वप्रसिद्ध निर्देशक सत्यजित रेले महानायिका सुचित्राबारे भनेका छन्– ‘उनी एउटा यस्तो अभिनेत्री हुन् जसले हरेक शैली र प्रविधिको सही उपयोग गरेकी छन्।’ तर ‘रे’ भने ‘स्टार घोषणा’ को विपक्षमा थिए। सुचित्राको व्यक्तित्वको अगाडि स्टार भ्याल्यु स्वीकार्न गर्न रे कहिल्यै पनि तयार भएनन्। फिल्म अध्येता सोमेश घोषले आफ्नो पुस्तक बंगाली सिनेमा पलाबदलमा लेखेका छन्,– स्टार भनेको एक अर्थमा एउटा सर्वगुण सम्पन्न सुन्दरता वा आकर्षक व्यक्तित्व भएको र त्यसलाई अभिव्यक्त गर्न सक्ने अनि आफ्नै बलमा अभिनयको गुरुत्व कायम राख्न सक्ने प्रतिनिधि पात्र हो। स्टारले आम मान्छेलाई सपना देखाउन सक्ने र सपनाको बाटो लान सक्ने क्षमता राख्छ। साथसाथै उसले वा उनले काल्पनिकी दुनियाँमा पनि तान्न सक्छ।’ बंगाली सिनेमामा स्टार सिस्टम सन् १९३० बाट सुरु भयो। महानायिका सुचित्रा यस अर्थमा धेरैकी प्रिय र आत्मीय थिइन्। 

उनको रूप र अभिनयबाट प्रभावित भएर प्रसिद्ध चित्रकार एमएफ हुसैनले उनका कैयन् फिल्मका पात्रहरूको आधारमा विभिन्न चित्रकला बनाए। त्यसलाई मिस्टिक नाम दिए। बेलायतका सर्वप्रिय फिल्मसमीक्षक डेरेक मैल्कमले सुचित्राबारे भनेका छन्– उनलाई सधंै हेर्न मन लाग्छ। उनी अभिनय गर्दिनन्, अभिनयभित्र नै हुन्छिन् र त्यो नै तिनलाई सुन्दर बनाउने कला हो।’ 

उत्तमकुमार र सुचित्राको जोडीलाई बंगाली फिल्म उद्योगमा ‘पर्दाका राधा कृष्ण’ भन्न थालियो। राधाकृष्णको यो पदवी यी जोडीलाई अर्की प्रख्यात अभिनेत्री माधवी मुखर्जीले दिएकी थिइन्। 

प्रसिद्ध बंगाली फिल्म समीक्षक रञ्जन बन्द्योपाध्यायले अत्यन्त चलेको भाषामा तिनलाई ‘भिन्टेज वाइन’ को उपनाम दिएका थिए। महानायिका सुचित्राले विश्वप्रसिद्ध साहित्यकार शरतचन्द्र चट्टोपाध्यायका अमर कृति देवदास बाहेक सन् १९५७ मा चन्द्रनाथ, सन् १९५८ मा राजलक्ष्मी ओ श्रीकान्तो, सन् १९६९ मा कमललता, सन् १९६७ मा गृहदाहमा अभिनय गरिन्। ताराशंकर वन्द्योपाध्यायको हर मना हर (१९७२), विपाशा ( १९६२), सप्तापदी (१९६१) मा पनि अभिनय गरेकी थिइन्। उनले बंगालीमा अभिनय गरेका प्रायः फिल्म हिन्दीमा रिमेक भएका छन्। 

को हुन् महानायिका सुचित्रा ? 

महानायिका सुचित्राको सन् १९३१ अप्रिल ६ मा जन्म भएको थियो। पिता करुणामय दासगुप्ता र आमा इन्दिरादेवीका पाँचछोरीमध्ये माइली छोरीका रूपमा हालको बंगलादेशको पबनामा उनको जन्म भएको हो। उनको वास्तविक नाउँ रोमा हो। उनकी दिदी उमा हुन्। हिना, लिना र रुना उनका बहिनी हुन्। 

‘रोमा’ दासगुप्ताको बाल्यकाल नृत्य र संगीतमै बित्यो। उनका पिता पबना स्कुलका हेडमास्टर थिए र उनले प्रारम्भिक शिक्षा त्यही स्कुलमा गरिन्।  पबना गल्र्स स्कुल पढ्दापढ्दै भारत पाकिस्तान विभाजन भएपछि यो परिवार भारतको पश्चिम बंगालमा स्थापित भयो। केही समयपछि बंगालका उद्योगपतिका छोरा दीवानाथ सेनसित रोमाको बिहे भयो। 

रोमाले बिहेपश्चात् बुहारीको भूमिका निर्वाह गर्नुपथ्र्यो। तर पतिको इच्छाले रोमा गीत गाउनतिर लागिन्। मजुमदारको शब्द र बरिन चट्टेपाध्यायको संगीतमा गीत गाउने क्रममा रोमाको भेट सुकमार दासगुप्तासित भयो। उनलाई पहिलो पटक सुकुमार दासगुप्ताले फिल्ममा रोल अफर गरे। सुकुमारकै सहायक निर्देशक नीतिश रायले रोमालाई नयाँ नाम दिइन्, सुचित्रा सेन। 

सुचित्रा सेनको फिल्मी जीवन त्यति सहज भएन। धेरै कठिनाइ र अस्वीकारका बाबजुद पनि उनी संघर्ष गरिरहिन्। सम्पन्न घरकी बुहारी अनि बाहिरी दुनियाँमा संघर्षरत एक अभिनेत्री। उनका ससुरा सुरुवातदेखि नै घरबाहिर काम गर्ने बुहारीका विरोधी थिए। तर उनकै मामाससुरा विमल रायको फिल्मी कनेक्सनले उनलाई बंगाली फिल्मसित जोडिन सजिलो बनायो। 

सुचित्राले त्रिपन्नओटा बंगाली फिल्म र सातओटा हिन्दी फिल्ममा नायिकाको भूमिका निभाएकी थिइन। सुचित्रा सेनले अभिनय गरेका अधिकांश बंगाली फिल्म हिन्दीभाषामा ‘रिमेक’ भएर बनेका छन्।

सन् १९५३ मा सुकुमार दास गुप्ताको सात नम्बर कैदीमा जहर गाँगुलीसित सुरु भएको अभिनय यात्रा सारे चौतार, कजोरी, भगवान् श्री श्री कृष्ण चैतन्य, एटम बमपछि सातौँ नम्बरको सिनेमा ओरा थाके ओढारेमा गएर चमत्कार भयो। सुकुमार दास गुप्ताको यो फिल्ममा नायक थिए– उत्तम कुमार। उत्तमकुमारसँगको यो फिल्मको सफलतापछि सुचित्रा ‘स्टार’ बनिन्। स्टारकै रूपमा फिल्म क्षेत्रमा चिनिन थालिन्। त्यसपछिका हरेक फिल्म सफल हुँदै गए। उत्तमकुमारसित मात्र उनले सत्ताइस फिल्ममा अभिनय गरिन्। 

उत्तमकुमार र सुचित्राको जोडीलाई बंगाली फिल्म उद्योगमा ‘पर्दाका राधा कृष्ण’ भन्न थालियो। राधाकृष्णको यो पदवी यी जोडीलाई अर्की प्रख्यात अभिनेत्री माधवी मुखर्जीले दिएकी थिइन्। उत्तम र सुचित्राको जोडी यति सफल र प्रख्यात थियो कि, त्यति चर्चा त बलिउडका अन्य कुनै पनि नायक–नायिकाको थिएन। बलिउडमा त्यतिबेला राजकपुर र नर्गिसको सफल जोडी थियो। यी दुईको सन् १९४८ देखि सन् १९५६ सम्म १६ ओटा फिल्म बने।

देव आनन्द र सुरैयाको प्रेम प्रसंगसँगै फिल्म पनि चर्चित थिए। सन् १९४८ देखि १९५१ सम्म यी दुईले अभिनय गरेका जम्मा ६ वटा फिल्म थिए। दिलीपकुमार र मधुबलाको प्रेम प्रकरणको सफलता र असफलताका बीचमा सन् १९५१ देखि १९६९ का बीचमा यो जोडीले खेलेका आठ फिल्म थिए। गुरुदत्त र वहिदा रहमानका पाँच फिल्म थिए। विवाहित गुरुदत्त र अविवाहित वहिदा रहमानको प्रेमप्रसंग र फिल्मको यात्रा वहिदाको विवाह पछि टुंगियो। तर कुनै प्रेम प्रसंग नभइकन र कुनै तिलस्मी कथा नभइकन पनि बंगाली फिल्म उद्योगमा उत्तम–सुचित्राको जोडी पछिसम्मै कायम रह्यो। 

बलिउडका फिल्ममेकर गुलजारले भनेका छन्– सच्चा प्रेमकहाँ नेर देखिन्छ भने त्यो उत्तमकुमार र सुचित्रा सेनको अँगालोमा मात्र सम्भव छ।’ र, संयोगले यो जोडी नै भारतको पहिलो महानायक र महानायिकाबाट सम्मानित भयो। 

महानायक उत्तमकुमार बंगाली फिल्म उद्योगका यति प्रसिद्ध अभिनेता मानिन्छन् कि उनको नाममा कोलकाताको रेल वे स्टेसनको नामकरण नै गरिएको छ। दक्षिण कोलकातामा उत्तम मञ्च स्थापना गरिएको छ। जसले हरेक वर्ष साप्ताहिक रूपमा उनका सिनेमा प्रदर्शन गरिरहन्छन्। दक्षिण कोलकाताको टलीगन्ज मेट्रो स्टेसन नजिक उनको पूर्णकदको सालिक स्थापना गरिएको छ। प्रसिद्धीको हद कतिसम्म छ भने न्यु थिएटर्स स्टुडिओको उनले मेकअप गर्ने कोठा पूरै सजाएर राखिएको छ। विशाल ऐना, ड्रेसिङ टेबल, उनी बस्ने कुर्सी, उनको लुगाको सेल्फ र उनले लगाउने एकजोर जुत्तासहितको कोठामा ‘महानायक’ को प्रतीक्षा भइरहेको भान हुन्छ। 

को हुन् त महानायक ? 

विश्वप्रसिद्ध फिल्मकार सत्यजित रेले बंगाली फिल्म उद्योगमा उत्तम कुमारको ख्याति देखेर सन् १९६६ मा उनलाई हिरो बनाएर ‘नायक’ बनाए। नायक सिनेमामा अनुबन्धित भएको समय नै उत्तम कुमारलाई बंगालको सुहृद समाजले महानायक भन्न थालिसकेको थियो। 

सन् १९५५ बाट श्यामली फिल्मबाट चर्चामा आएका उत्तम कुमारलाई सफलताको शिखर चुम्न भने कम्ती पापड पेल्नु परेको थिएन। पाएको काम पनि खोसिने, वचन दिएको मान्छेले काम नदिने, काम मिति र सन्दर्भ बदलिरहने’ जस्ता कैयौं कठिनाइ भोग्नुपरेको थियो। उनको जीवनमा उनले यतिसम्म दुःखलाग्दो घटना भोग्नुपर्‍यो कि, सुटिङ गर्न उनलाई बोलाएको थियो। उनी पुग्दा अर्कैलाई नायक बनाएर सुटिङ चलिरहेको थियो। सन् १९५३ मा ‘बहु ठकुरानी र हात’ साइन गरेपछि उनी मुहूर्तमा गए। तर उनको ठाउँमा अर्को कलाकारले फिल्ममा सुटिंग गर्दै गरेको हेरेर उनी फर्कनु परेको थियो। 

आफ्ना साथी गणेश मुखर्जीको सहयोगले कुनै समय यी महानायकले हिन्दी फिल्म मायादोरमा काम पाए। उनलाई साह्रै राम्रो रकम दिइने भनियो, तर सुटिंगपछि पाँच रुपैयाँ दिएर बिदा गरियो। दुर्भाग्यवश त्यो फिल्म रिलिज नै भएन। 

बंगाली रंगमञ्चका प्रसिद्ध अभिनेता नरेशचन्द्र मित्र, निर्मलेन्दु लाहिरी र शिशिरकुमार भादुरी (अभिनेत्री जया बच्चनका पिता) को अभिनयबाट प्रभावित भएर सिनेमामा आएका उत्तमकुमारलाई सन् १९४८ मा नीतिन बोसले दृष्टिदानमा पहिलो ब्रेक दिए। उनको अभिनयको तारिफ भयो तर यसपछि आएका उनका कमोना ( १९४९), मर्जादा ( १९५०) र सहजात्री ( १९५१) भकाभक लडेपछि उनलाई फ्लप मास्टर जनरल भन्ने पदवी दिइयो। 
यसपछि उत्तमकुमार आफ्नो पुरानो पेसा गायनतिर फर्कनै लागेका थिए। त्यहीबेला सिनेमामा उनको सुचित्रा सेनसित जोडी जम्यो। यी जोडीका सफल फिल्मपछि उत्तमले पछि फर्केर हेर्नु परेन। आजसम्म बंगाली फिल्मको इतिहासमा सुचित्रा र उत्तमको जोडीलाई सम्झेर युवाहरू एउटा गीत गाउँछन्– ‘एई पोथ जोडी ना शेष होय ...।’

सिनेमा इतिहासमा यसपछि यी जोडीको तुलना वा सम्झना हलिउडको गन विद द विन्डका सफल जोडी क्लार्क गेबल भिभेन लेगसित गर्न थालियो। क्यासाब्लाँका का हम्फ्रे बोगार्ट र इन्ग्रिड बर्गम्यानसित हुन थाल्यो। सुचित्रा सेनसितबाहेक उत्तमकुमारले अरु दुई सय फिल्म खेले। ती सबै सफल नै रहे। उनले माधवी मुखर्जी, सुप्रिया देवी, माला सिन्हा, शर्मिला टैगौर, अपर्णा सेन आदिसित पनि काम गरे। उत्तम कुमार पहिलो भारतीय अभिनेता हुन् जसले एन्थोनी फिरंगी र चिडिया खानामा अभिनय गरेबापत पहिलो पटक राष्ट्रपति पुरस्कार पाए। यसपछि नै उनलाई महानायक भन्न थालियो। 

उनको महानायक सम्बोधनको कथालाई उद्धृत गर्दै मैत्रेयी बी चौधरीले आफ्नो शोध पुस्तक उत्तम कुमार एन्ड सुचित्रा सेन, बंगाली सिनेमाज् फस्र्ट कपलमा लेखेका छन्– महानायक टर्मको सुरुवात निकै रोचक छ। जब उत्तमकुमार कुनै दृश्यमा लामो समय लगाउँथे वा तयारी गर्थे। त्यतिबेला स्टुडिओमा भएका अन्य सहकर्मीहरू अल्छी मान्दै महानायक सट दिँदै छन् भन्ने गर्थे। तर त्यतिबेला तिनीलाई यो थाहा थिएन कि, तिनीहरू भविष्यका सच्चा महानायकलाई सम्बोधन गर्दैछन्।’ 

सन् २०१३ मा प्रकाशित यस पुस्तकपछि महानायक र महानायिकाका बारेमा धेरै पुस्तक प्रकाशित भए। तर हरेक पुस्तकमा सुचित्रा सेनलाई राष्ट्रले महानायिका पदवी दिएपछि मात्र उत्तम कुमारलाई दिएको प्रसंग उल्लेख छ।  सत्यतः नायकका निर्देशक सत्यजित रेलाई एउटा प्रश्न सोधियो जसमा उनलाई भनिएको छ। ‘तपाईंले महानायकको छवि टाउकोमा बोकेर नायक बनाउनु भएको हो ? ’ महान् फिल्मकार रेले यति मात्र भने– मलाई गाह्रो भएको थियो।’ महानायक उत्तम कुमारले खेलेका धेरै फिल्म हिन्दीमा पुनर्निर्माण भएका छन्। कतिपय फिल्ममा बलिउडका सुपरस्टार राजेश खन्नाले नै अभिनय गरेका छन् भने कतिपय फिल्ममा अमिताभ बच्चनले। 

भनिन्छ, बलिउडका यी दुवै हिरो कोलकाता आउँदा उत्तम कुमारलाई ढोगेर जान्थे रे।’ यो कुरा उत्तमकुमारका छोरा गौतम कुमारले भनेका थिए। सन् १९२६ सेप्टेम्बर ३ मा उत्तर कोलकातामा माता चपला देवी र पिता सत्कोरी चटर्जीका जेठा छोरा अरुणकुमार चटर्जीका रूपमा जन्मेका उनले पछि आफू जन्मेको ठाउँको नाउँ नै आफ्नो नाउँमा बदलिदिए। उनका पिता मेट्रो सिनेमाका अप्रेटर थिए। उनी चाहँदैन थिए कि, छोरा सिनेमामा आओस्। तर छोराले सौखलाई पेसामा बदले पछि उनले केही गर्न सकेनन्। 

सिने समीक्षक शोमा ए चटर्जी आफ्नो पुस्तक सुचित्रा सेन दी लिजेन्ड एन्ड एनिग्मामा लेख्छिन्– होला उत्तमकुमारमा दिलीपकुमारको जस्तो भव्यता र सौमित्र चटर्जीजस्तो प्रतिभा छैन होला। तर प्रसिद्धी ती दुईकोभन्दा बढी थियो।’ उत्तमकुमार र सुचित्रा सेन दुवैलाई बंगालका गभर्नरको उपस्थितिमा विभिन्न पुरस्कार र सम्मान दिइयो। महानायक र महानायिकाको पदवी भने दर्शकको सिफारिसमा बंगाल सरकारले दिएको हो। यसबारे रिचार्ड डाएरले आफ्नो पुस्तक स्टार्समा सविस्तार लेखेका छन्– स्टार एउटा इमेज हो। त्यो बनाएको वास्तविक मान्छेका स्वरूप होइन।’ डाएरले मार्लिन मुनरो र सुचित्रा सेनको तुलना गरेर अर्को प्रसंगमा भनेका छन्– दुवैको अलगअलग व्यक्तित्व छ। तर यहाँ करिश्मा भन्ने कुराले पनि खेल खेलेको छ।’

डाएरले यो कुराको चर्चा गरेको वर्षौंपछि पनि महानायक र महानायिकाको फिल्म युवाहरूलाई चिनाउन कोलकातामा प्रदर्शन भइरहन्छन्। त्यो इतिहासको अर्को पाटो हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.