घ्यू उत्पादन गर्ने बारामा दुई उद्योग सील
वीरगन्ज : घ्यू उत्पादन गरी बजारमा बिक्री गर्ने बाराको दुईवटा उद्योगमा सिलबन्दी गरेको छ ।
बाराको फेटा गाउँपालिका- २ जगतपुर टोलमा सञ्चालित दुई घ्यू उद्योग अनुगमन टोलीले सिलबन्दी गरेको हो ।
जगतपुरस्थित एउटै गाईगोठमा गुणस्तरहिन तरिकारले घ्यू उत्पादन गर्ने गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योग र जयमाँ लक्ष्मी डेरी उद्योग सिलबन्दी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ दुवै उद्योगमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा एउटै गाँइगोठमा सञ्चालित ती दुवै उद्योगमा उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ गुणस्तरहिन पाइएकोले सिलबन्दी गरिएको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए ।
अनुगमनका क्रममा गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योगले उद्योग सन्चालनका लागि सरकारबाट इजाजत नै नलिएको , दुवै उद्योग एकदमै फोहोर रहेको र नक्कली ब्राण्डको लेबल टाँसेर घ्यू बजारमा पठाउने गरिएको भेटिएको बोगटीले बताए ।
अनुगमन पछि दुवै उद्योगमा रहेको तयारी घ्यू ११६१ लिटर , बेकरी १६ सय लिटर र कच्चा पदार्थ १५० लिटर बरामद गरि दुवै उद्योगमा सिलबन्दी गरिएको उनले बताए । दुवै उद्योग सिल गरि अनुसन्धान अगाडि बढाइएको जानकारी पनि उनले दिए ।