बसपार्कबाटै बस सन्चालन गर्न निर्देशन
नुवाकोट : नुवाकोटको बट्टारस्थित बसपार्कबाटै बस सन्चालन गर्नुपर्ने भएको छ। निर्माण भएको एक दशक भइसक्दा पनि बसपार्क पूर्ण रूपमा सन्चालनमा नआएपछि उक्त निर्णय गरिएको हो।
यसअघि नुवाकोटमा सन्चालित बसहरू अनिवार्य रूपमा बसपार्कमा जान पर्ने थिएन।
विदुर नगरपालिका- ४ वट्टारस्थित बसपार्क सञ्चालनका लागि पूर्वाधारका संरचना निर्माण लगायतको सम्बन्धमा विदुर नगरपालिकाका जनप्रतिनिधिको समूहले अवलोकन गरेको छ।
मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडा नं. १ का वडाध्यक्ष लेनिन रञ्जित, २ का वडाध्यक्ष दिपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल लगायतका जनप्रतिनिधिको टोलीले बसपार्क पुगेर निरीक्षण गर्दै बसहरू बसपार्कबाटै छुट्नुपर्ने निर्देशन गरेको हो।
विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल, यातायात व्यावसायी, ट्राफिक प्रहरी लगायत सरोकारवालाहरूको टोलीले असोज २६ गते बसपार्क सञ्चालन गर्नुका साथै बजार क्षेत्रमा रहेका सबै टिकट काउन्टरहरू
बसपार्क भित्रै राख्नु निर्देशन दिएको छ।
यसैगरी बजार क्षेत्रमा यात्रु चढाउने र ओराल्ने मात्र गर्नुपर्ने निर्णय गरेको छ। बसपार्कमा १५ मिनेट गाडीले यात्रु पर्खन पाउने, बसपार्कभित्र आवश्यक भौतिक संरचनाहरू नगरपलिकाले निर्माण गर्ने, असोज ११ गतेदेखि त्रिशूलीबजारसहित कोलोनी, ढुङ्गे, विदुरको सडकमा पार्किङ गर्न नपाइने निर्णय भएको मेयर श्रेष्ठले बताए।
बसपार्क अवलोकनका क्रममा बट्टारबजारमा दैनिक आलोपालो गरेर दाँयाबाँया पार्किङ गर्ने व्यवस्था मिलाइने, त्रिशूलीको पार्किङ प्राधिकरणको ढोका अगाडिको पुरानो बसपार्कमा गरिने र ढुङ्गेको पार्किङ कृषि विकास बैंक अगाडि व्यवस्था मिलाइने निर्णय भएको छ।