दोस्रो बडादसैं कप फुटबल सुरु, विजेतालाई ४० किलोको खसी
नुवाकोट : नुवाकोटको पिपलटारमा दोस्रो बडादसैं कप जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।
खेलाडीहरूको पहिचान तथा खेलको प्रवर्द्धन गर्ने उद्देश्यले लामिबगैंचा सामाजिक युवा क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उद्घाटन गरे। उनले खेलले मानव जीवनलाई अनुशासित बनाउने भएका कारण यसको विकास तथा संवर्द्धनको जरुरी रहेको बताए।
लामिबगैंचास्थित खेल मैदान पिपलटारमा सञ्चालित प्रतियोगिताको उद्घाटन खेलमा कोलोनी युथ सर्कलले आयोजक लामिवगैचा सामाजिक युवा क्लवलाई पराजित गरेको छ। कोलोनीले लगातार २ गोल गरेर आयोजकलाई उद्घाटन खेलमै पराजित गरेर आफ्नो अंक तालिका माथि उकालेको हो।
दोस्रो खेलमा एनारपाटी युवा कलवले माझीगाउँ युवा क्लवलाई ०-५ गोलले पराजित गरेको छ। यससँगै इनारपाटीले खेलमा आफ्नो अंक बढाएको छ।
प्रतियोगितामा नुवाकोटका विभिन्न नौ क्लबको सहभागिता रहेको आयोजक लामिबगैंचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेलले जानकारी दिए।
प्रतियोगिताका विजेताले ४० किलोग्रामको एउटा खसी, मेडल र प्रमाणपत्र पाउने आयोजक लामिबगैचा सामाजिक युवा क्लबले जनाएको छ।
प्रतियोगितामा दोस्रो हुनेले २५ किलोग्रामको एउटा खसी, मेडल र प्रमाणपत्र पाउने छन्। प्रतियोगिता उद्घाटनका क्रममा विदुर नपाकी उपमेयर प्रभा वोगटीले खेल जगतको विकास र विस्तारका लागि नपाले आवश्यक कदम चाल्ने बताइन्।
कार्यक्रममा बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले खेलबाट मानवलाई अनुशासन, सभ्यता तथा स्वास्थ्य रहन सिकाउने भएको हुँदा विद्यार्थी जीवनदेखि नै यसको विस्तारमा गरिनुपर्ने बताए।
यसैगरी वडादसैंको अवसर पारेर नुवाकोटको लिखु गाउँपालिकामा असोज ११ गते मंगलबारदेखि वडा कप फुटबल प्रतियोगिता आयोजना गरिएको छ।
लिखुको गड्खार जनजागरण युवा क्लबको आयोजनामा प्रतियोगिताको विजेताले एउटा घोर्ले खसी, मेडल र प्रमाणपत्र पाउने छन्।
यस्तै दोस्रो हुनेले दाह्री बोका, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। क्षेत्रपाल क्याम्पसको मैदानमा आयोजित प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत मेडल र प्रमाणपत्र वितरण गरिने आयोजक गड्खार जनजागरण युवा क्लबले जानकारी दिएको छ।