उभरखाभर जिन्गी, सौंस्याटल मन

उभरखाभर जिन्गी, सौंस्याटल मन

विभिन्न इतिहासकारले थारू जातिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जाति मानेका छन्। यो नेपालको चौथो ठूलो भाषा हो। थारू भाषाका विभिन्न भेद छन्, जसमा डंगौरा थारू साहित्य सबैभन्दा समृद्ध मानिन्छ। ‘थारू साहित्यको इतिहास (२०७३)’ पुस्तकको अनुसूचीको आधार हेर्दा तथा यस पंक्तिकारको संकलन हेर्दा थारू साहित्यका विभिन्न विधामा तीन सय बढी थान पुस्तक तथा पत्रिका प्रकाशित छन्। जसमा दुई सयवटा पुस्तक, एक सयवटा पत्रिका छन्।

२०२८ सालमा प्रकाशित गोचाली थारू भाषाको पहिलो पत्रिका हो। त्यसअघि २००७–२०२७ सालसम्म पूर्वआधुनिक थारू साहित्य मान्दा यस काल खण्डमा ८ वटा मात्रै थारू कृति प्रकाशित भएको देखिन्छ । थरुहट के बउवा और बहुरियाले आख्यानको दैलो उघार्‍यो भने अन्य पुस्तकले खासगरी लोक साहित्यको संकलन तथा प्रकाशनको आधार बनाए।

२०२८ सालदेखि २०६० सम्मको समय आधुनिककालीन थारू साहित्य भन्न सकिन्छ। २०२८ सालमा थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल नामक संगठन वैशाख १ गतेका दिन दाङ वैवाङमा गठन गरियो। यही मञ्चको ब्यानरमा गोचाली पत्रिका (२०२८) पनि प्रकाशित भयो र यो गोचाली आन्दोलनको नामले परिचित भयो। मोही हक सुरक्षित हुनुपर्ने, जसको जोत उसको पोतको नारा लगायत विद्रोहको स्वरलाई मुखरित गर्दै थारू साहित्यको आधुनिक कालमा प्रवेश भयो। गोचालीले थारू साहित्यको जुन आधार कोर्‍यो, अझै थारू साहित्य त्यसमै रुमलिएको देखिन्छ। थारू साहित्यमा निबन्ध र समालोचना विधा खासै भेटिँदैन। यस आलेखमा थारू साहित्यमा आधुनिकताको चेत भरिएको साठीको दशकपछिको लेखनबारे समान्य चर्चा गरिएको छ।

थारू साहित्यमा उत्तर आधुनिक काल ?

२०५५ साल फागुन २८, २९ र ३० गते उदयपुरको हडियामा थारू कल्याणकारिणी सभाको स्वर्ण महोत्सवको अवसरमा धेरै पुस्तक प्रकाशित भएको देखिन्छ। २०५५ सालमा मात्रै १३ वटा पुस्तक प्रकाशित भएको देखिन्छ। थारू साहित्यमा २०६१ देखियताको समयलाई उत्तरआधुनिक काल भन्न सकिन्छ। खासगरी पत्रिका प्रकाशनमा अग्रासन मासिक, उक्वार भेट मासिकमार्फत आधुनिक चेत भित्रिनु, नयाँ थप साहित्यिक विधा थपिनु, पहिल्यै भित्रिएका विधा परिष्कार हुँदै जानु यस काल खण्डको महŒवपूर्ण उपलब्धि हुन्।

कविता विधा

जितबहादुर चौधरी ‘ट्रासन’को यी जितके हटल कविता (कविता संग्रह २०६१) मा भएको कवितामा नयाँ प्रयोगले उत्तर आधुनिकताको छनक दिन्छ। यस चरणका अन्य कविता संग्रहमा सुरेश चौधरीको ‘तुहिन’ (२०६१), अर्जुन दहितको ‘परिचय’ (२०६२), प्रेमलाल दहितको ‘टुटल झोप्री’ (२०६२), रामबहादुर बखरियाको ‘मुटुक धड्कन’ (२०६२) हो। यी सबै कविता संग्रहमा प्रेम प्रणयका बखान गरिएका छन्। यी कविता संरचना तथा भाव गाम्भीर्यताको हिसाबमा कमजोर देखिन्छन्। सन्तराम धारकटुवा थारूको ‘छिटकल भावना’ (२०६२) कविता संग्रह भने हालसम्म प्रकाशित अब्बल दर्जाको कविता कृति हो।

अन्य कविता संग्रहमा प्रेमलाल दहितको टुटल झोपडी (२०६१), मनिराम चौधरीको बापसे पुत ज्ञानी फाँडाले बझाइ पानी (२०६२) प्रकाशित छ। एम टेंर्राको फूला (२०६३) कविता संग्रह थारू, राना थारू र नेपाली तीन भाषामा प्रकाशित छ। श्रीराम चौधरीको चिट्किन (२०६४), कैलालीका रामलखन चौधरीको छलमल्की (२०६५), रामलखन चौधरी, मनबहादुर चौधरीको विश्व शान्ति (२०६७), लक्की चौधरीको नेन्धर (२०७१), सुशील चौधरीको नेपाली र थारू भाषामा बिरहुल बसिया (२०७२) कविता संग्रह प्रकाशित छ।

छन्द कविता थारू भाषामा कमै छन्। यस्तोमा खोपीराम लम्सालको भौका (२०७२), बमबहादुर थारूको छन्दकुमारी (२०७३) पद्य कविता संग्रह प्रकाशन भएको छ। २०६१ मा मानबहादुर चौधरी पन्नाको ‘किसानके जिन्दगी’ खण्डकाव्य प्रकाशित छ। कैलालीकी शर्मिला चौधरी ‘सृष्टि’ले मनके फूला (२०६२) खण्डकाव्यमार्फत नारी मनका समवेदना पस्केकी छन्। उनको पहिलो गहकिलो वजनदार कृतिले हुने बिरुवाको चिल्लो पातको उदाहरण दिएको छ।

आख्यान विधा

आख्यान विधाअन्तर्गत यस चरणमा बग्नाहा—७, बर्दियाका सन्तराम धारकटुवा थारू पनि थारू कथाकारमा सशक्त हस्ताक्षर हुन्। ६ वटा कथा समावेश गरिएको हमार जुनी कथा संग्रह (२०६१) प्रकाशित छ। यसमा प्रयुक्त विम्बले थारू साहित्यमा उत्तरआधुनिकताको छनक दिन्छन्। हमार जुनी कथा संग्रह (२०६१) लाई सोम डेमनडौराले नेपालीमा उल्था गरी अस्तित्व (२०७४) कथा संग्रहको रूपमा आएको छ।

कैलाली थारू साहित्यको लागि उर्वर क्षेत्र हो। यहाँका मनिराम चौधरीले ‘दुखियारी बगिया’ (२०६१), हीरालाल चौधरीले दुःखके भौंरी (२०६३) तथा एम टेंर्रा वास्तविकले लालमुरै (२०६४) कथा संग्रह दिएका छन्। चौधरीभन्दा टेर्राका कथा खँदिला छन्। कञ्चनपुरकी कल्पना चौधरीको उजरल घर दुवार (२०६२) कथा संग्रह प्रकाशित छ। केही पत्रपत्रिकाले कथा विशेषांक प्रकाशित गरे पनि विभिन्न कथाकारको कथा सँगालोको रूपमा एक मात्र संग्रह थारू भाषक् प्रतिनिधि कथा–१ (२०६८) प्रकाशित छ। जसको सम्पादन शत्रुघन चौधरीले गरेका छन्। सुर्खेतका मानबहादुर ‘पन्ना’ को ककनडरान छोटकी (२०७०) कथा संग्रह छ।

२०७३ चैत १९ र २० गते कैलालीको पटेलामा भएको दोस्रो थारू साहित्यिक मेलामा ६ जना स्रष्टाको नयाँ पुस्तक आयो। जसमा बर्दियाका शेखर दहितको गयर्वा बुडु कथा संग्रह छ। थारू साहित्यिक मेलाको तयारीमा २०७३ मा शिक्षक भोजराज चौधरी अनमोलको ‘उभरखाभर जिन्गी’ कथा संग्रह छ। तेश्रो थारू साहित्यिक मेला २०७४ मा सोम डेमनडौराको सौंस्याटल मन कथा संग्रह छ।

निबन्ध विधा

थारू साहित्यमा कुनै कृतिमा एक दुइटा निबन्ध परेका छन् तर निबन्धको कुनै सिँगो कृति प्रकाशित भएको देखिन्न। लक्की चौधरीले ‘तिहुवार’ (२०६१), मोर पहुरा (२०७०), मनिराम चौधरीले ‘हरबड्डा’ (२०६२) तथा भुलाई चौधरीको ‘थारू सस्ंंकृति’ (२०६१), थलीराम चौधरीको थारू साहित्य, इतिहास, संस्कृति, कला, परम्परा÷प्रविधि (२०७२) ले निबन्धको झल्को दिन्छन्।

भुलाईको संग्रहमा नेपाली लेखसमेत समाविष्ट छ। थलीराम चौधरीको थारू साहित्य, इतिहास, संस्कृति, कला, परम्परा÷प्रविधिमा भने थारू समुदायको इतिहास, चाडपर्व, भाषा, संंस्कृतिबारेका लेख छन्। पंक्तिकारकै ढों ढों पों पों (२०६८) थारू भाषाको पहिलो हाँस्य निबन्ध संग्रह हो। विशुद्ध साहित्यिक निबन्ध संग्रह अझै पनि थारू साहित्यमा प्रकाशन हुन सकेको छैन। सुशील चौधरी, दिलबहादुर चौधरीले निबन्ध विधामा थारू भाषामा निरन्तर कलम चलाए पनि थारू भाषामै संग्रह आएको छैन। बालिका चौधरीको १७ निबन्ध समेटिएको जीवनका बक्ररेखा (२०७३) संग्रहमा फिक्कल अस्टिम्की शीर्षकको निबन्धमात्र समेटिएको छ। यसरी फुटकर लेखनमा निबन्ध देखिए पनि संग्रहको रूपमा भने औंलामा गन्न सकिने देखिन्छ।

नाट्य विधा

नाटक संग्रहकै पुस्तक यस अवधिमा पनि देखिन्न। यद्यपि थारू समुदाय केन्द्रित नाटक भने मञ्चन हुने क्रम बढ्न थालेको छ। कमलरी (२०६१) ‘दहितान ढेंकी’ (२०७०), ‘भुरभुरा रहर’ (२०७३), ‘लवकी कन्या’ (२०७४), करोट (२०७४), बुधनी, हिटवा आदि मञ्चित नाटक हुन्। बमबहादुर थारूको माधोनल काम कमन्डलु (२०७४) कृतिलाई उहाँले इन्द्रासनी झुम्रा गीतसँगै लोकनाटक पनि भन्नु भएको छ।

लोकसाहित्य

पंक्तिकारको संकलनमा थारू लोककथा–१ (२०६७) नामक पुस्तक छ। यद्यपि पुस्तक नेपाली भाषामा छ। थारू लोककथा संग्रहमा सहयोग समाज नेपाल दाङले थारू मातृभाषामा बटकोही (लोककथा) संग्रह (२०६४) प्रकाशन गरेको छ। कैलालीका तुलसी चौधरीको माँगर (२०७३), दुर्जन चौधरीले हंसा (२०७४), सीतारम चौधरीले उरन्टा घोरवा (२०७४) शीर्षकमा थारू लोककथा संग्रह छ।

पंक्तिकारको थारू बालकथा संग्रह ‘सुख्ली’ (२०६२) हालसम्मको एकमात्र बालकथा संग्रह हो। यससँगै २०६६ सालमा हर जोत्ना मछरिया, अनारकलीके अन्तरकथा, तुलारामके चर्तिकला तथा सत्तलसिंहके कथा नामक ४ वटा सचित्र बालकृति छन्। यस्तै कमैया बस्तीमे भगन्वा (२०७२) लघुकथा संग्रह थारू तथा नेपाली भाषामा प्रकाशित छ।

थारू भाषाका अन्य कथाकारमा मंगल थारू, श्रीपती चौधरी, सोम डेमनडौरा, देवराज अमित, धर्मराज चौधरी, ओमप्रकाश गोइंजिहार, नरेश लालकुसम्या, प्रसादु थारू आदि हुन्। ३० को दशकमा लेखिएका कथा र हाल ७० को दशकमा आइपुग्दासम्म पनि थारू साहित्यको कथा लेखनको शैलीमा खासै भिन्नता आउन सकेको छैन। थारू साहित्यमा कथा लेखन गोष्ठीको सुरुआत अझसम्म हुन सकेको छैन।

अन्य पाटो

२०६९ माघबाट मात्र थारू युवा परिवारले ठुम्रार साहित्यिक बखेरीको नाममा काठमाडौंमा थारू कविता आन्दोलनलाई अघि बढाएको छ। छविलाल कोपिलाको सम्पादनमा थारू भाषाको लावा डग्गर त्रैमासिक (२०७१) प्रकाशन भइरहेको छ। प्रेस काउन्सिलको ‘क’ वर्गमा परेको लावा डग्गरले स्वर्ण अंक पार गरेको छ। यस पत्रिकामा समाविष्ट रचनालाई थारू साहित्यको आँखीझ्यालको रूपमा नियाल्दा थारू साहित्यले आधुनिकताको बाटो अझै अँगाल्न सकेको देखिन्न। 

साहित्यको विकासमा मातृभाषाका रचनाको अनुवाद प्रकाशनको उत्तिकै महŒव रहेको हुन्छ। तर थारू भाषाको प्रतिनिधि कथाहरूको सँगालो अनुवाद भई नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशनबाट प्रकाशित हुन सकेको छैन। सन्तराम धारकटुवालगायत केही कविका रचना नेपाली मात्रै होइन, अंग्रेजीमा उल्था गरेर अन्तर्राष्ट्रियकरण गर्न लायक छन्। २०७३ वैशाख ३ र ४ गते दाङको घोराहीमा पहिलो थारू साहित्यिक मेला सम्पन्न भयो। थारू साहित्यिक मेलाको अवसरमा नयाँ पुस्तक प्रकाशन गर्ने लहर आएको छ। गयर्वा बुडु, गयर्वा बुडुक ठाँह्रा तथा थारू जोधा गरी तीन कृति विमोचन गराएका शेखर दहित भन्छन्, ‘थारू भाषामै पाठक निकै कम भएको महसुस भएको छ। 

त्यसैले थारूका विषय नेपाली तथा अंग्रेजी भाषामा लेख्ने सोच बनाउँदैछु।’

कपिलवस्तुका चिन्तामणि थारूले आन्ही पानी (२०७०) बालकविता संग्रह प्रकाशित गरेका छन्। कैलालीकी रोदन चौधरी १२ वर्षको उमेरमा नेपाली तथा थारू भाषाको कविता संग्रह ‘पहिल कदम’ (२०७३) प्रकाशित भएको छ। उत्तर आधुनिक कालको दैलो कुल्चिए पनि थारू साहित्यको श्रीवृद्धिमा कोशेढुंगा सावित हुने कृतिको अझै पनि टड्कारो अभाव झुल्किन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.