मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
हेटौंडा : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनलक्षित तयारी सुरु गर्न हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ स्थित साविकको जिल्ला विकास समितिको भवनमा स्थापना गरिएको कार्यालय शनिबार उद्घाटन गरिएको हो।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत निरौलाले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। उनले निर्वाचन आयोगसँग समन्वय गरी आवश्यक तयारी अघि बढाइने जानकारी दिए।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, क्षेत्र नम्बर-२ का निर्वाचन अधिकृत मुकुन्दहरि पौडेल, निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेल सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू एवम् विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए।
दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कूल मतदाता संख्या तीन लाख ७३३ रहेको छ। मकवानपुरको क्षेत्र नम्बर १ र २ मा गरी १६७ वटा मतदानस्थल र ३६४ वटा मतदान केन्द्रहरू तोकिएको छ।
जसमा निर्वाचन क्षेत्र नम्बर १ मा ६२ वटा मतदानस्थल, १७२ वटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नम्बर २ मा १०५ वटा मतदानस्थल र १९२ वटा मतदान केन्द्र तोकिएको छ।