बाजागाजासहित तलेजुमा भित्र्याइयो बडादसैंको फूलपाती
नुवाकोट : नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा आइतबार बाजागाजा र तामझामका साथ बडादसैंको फूलपाती भित्र्याइएको छ।
विदुर नगरपालिका-२ स्थित तलेजु भवानी मन्दिरमा सरकारका प्रतिनिधि, सर्वसाधारणको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती विशेष कार्यक्रमका बीच भित्र्याइएको हो।
नुवाकोटको फूलपाती भित्र्याउने परम्परा मल्लकालदेखि नै सञ्चालन भएको र १८०१ असोज १५ गते पृथ्वीनारायण शाहले तेस्रो प्रयासमा नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्बारे महेन्द्रकुमार शाहीले बताए। फूलपाती भित्र्याउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण छ, नुवाकोटको पनि उत्तिकै छ।
विशेष गरी फूलपाती बोक्न र बडादसैंमा आउनेहरूको सुविधाका लागि विभिन्न स्थानको गोरेटो बाटो मर्मत गरिएसँगै यस कार्यमासमेत सुविधा भएको हो। नुवाकोटको फूलपाती भित्र्याउने परम्परा गोरखा र काठमाडौंको हनुमानढोकाको जत्तिकै महत्वपूर्ण रहेको छ।
नुवाकोटवासीले सदियौं पुरानो मंगल गाउने कल्छिनी २०६४ सालदेखि बन्द भएकोमा त्यसलाई निरन्तरता दिन सरकारसँग अनुरोध गरेका छन्। यसको निरन्तरताका लागि आफूहरूले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिसकेको भए पनि काम पुनः सुरु हुन नसकेको द्बारे शाहीको भनाइ छ।
मंगल गाउने कल्छिनीको पुनः सुरु गर्न सरकारीतर्फबाट पहल भइरहेको सरकारी पक्षबाट निरन्तरताको आस्वासन आएको पनि शाहीले बताए। नुवाकोटको तलेजु मन्दिरमा आइतबार सरकारका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागितामा फूलपाती भित्र्याइएको हो।
हनुमान ढोकामा मंगली गाउने नौ जनाको समूह रहेकोमा सरकारले त्यसलाई नुवाकोटको फूलपातीमा ल्याएर पहिले झैं पुनः सुरु गर्न दवाव दिन स्थानीय, प्रदेश तथा संघीय सरकारका प्रतिनिधिलाई नुवाकोटवासीले अनुरोध गरेका छन्।
ब्राम्हणहरूद्बारा संकलित फूलपाती नुवाकोटको तलेजु मन्दिरसम्म उपासेद्बारा बोकेर भित्र्याउने प्रचलन रहेको छ। सरकारी प्रतिनिधिसहितका सर्वसाधारण पहिले साततले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर जंगल पुगेर बाजागाजासहित नौ प्रकारका फूलपातीलाई विशेष जात्रासहित भित्राएका हुन्।
प्रसिद्ध तलेजुमा फूलपाती भित्राउनुअघि फूलपाती ल्याउने स्थान र फूलपाती भित्र्याउने स्थानमा लिपपोत गरी शुद्ध, चोखो बनाई विशेष पूजापाठ गरिएको थियो।
सयौंको संख्यामा उपस्थित सर्वसाधारण साततले दरबार राष्ट्रिय संग्रहालयबाट र्यालीसहित निस्केर फूलपाती लिन धोवीधाराको चौतारामा पुगेर संकलित फूलपाती लिएर तलेजुमा बाजागाजा र तामझामका साथ भित्र्याइएको हो। सो अवसरमा तलेजु भवानीको मन्दिरमा सरकारीस्तरबाट एउटा बोका बलि दिइएको छ।
जंगल र बगैंचा पुगेर बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती बाजागाजा र उच्च सुरक्षाका साथ भित्र्याइएको हो। बाजागाजासहित दुई किलोमिटर दूरीबाट लावालस्करसहित पुगेर संकलन गरेर ल्याइएको फूलपाती भित्र्याइएको हो।
नुवाकोटको तलेजु मन्दिरमा भित्र्याइएको फूलपाती विजयादशमीको प्रसाद ग्रहणका लागि काठमाडौं हनुमानढोका लैजाने चलन रहेको छ। हनुमानढोकामा पुगेको नुवाकोटको फूलपातीलाई टीकासहित प्रसादका रूपमा राष्ट्राध्यक्ष लगायतले ग्रहण गर्ने प्रचलन रहेको छ।
ऐतिहासिक रूपले गोरखामा फूलपाती भित्र्याउने चलन जति महत्वपूर्ण छ, त्यति नै नुवाकोटको तलेजुमा फूलपाती भित्र्याउने कार्य पनि उत्तिकै महत्वपूर्ण रहेको प्रसिद्ध भैरवी मन्दिरका पुजारी हरिमानसिह डंगोलले बताए।
नुवाकोटमा गत १८०१ साल असोज १५ गते पृथ्वीनारायण शाहको तेस्रो प्रयासमा युद्ध जितेपछि २५ वर्षसम्म देशकै राजधानी भएको स्थान हो। नुवाकोटको प्रसिद्ध तलेजुमा फूलपाती भित्र्याउने कार्यमा हाल अधिकांश कार्यहरू छुटाइँदै आएकोमा नुवाकोट सम्पदा संरक्षण मञ्चले आपत्ति जनाएको छ।
परिवर्तित सन्दर्भसँगै नुवाकोटको तलेजुमा भित्र्याइने फूलपातीको सांस्कृतिक मौलिकता लोप हुँदै गएकोमा सर्वसाधारण चिन्तित हुँदै गएको विश्व हिन्दु महासंघ नुवाकोटका अध्यक्ष यज्ञराज केसीले जानकारी दिए।
महिलाहरूले मंगली गाउने, देशका राष्ट्राध्यक्षलाई सलामी दिइने र कर्नाल, काल, भेरी र बुढीनङ्ग्रा बजाउने सदियौंदेखिको चलन बन्द गरिएको गुनासो फूलपाती भित्र्याउने कार्यमा अगुवाइ गरेका सर्वसाधारणले गुनासो गरेका छन्।
स्थानीयवासीका अनुसार देशमा गणतन्त्र आएपछि सो परम्परा हटाइएकोमा निकै दुःख लागेको बताउँछन्। मंगली गाउने लगायतका चलन पुनः सञ्चालनका सम्बन्धमा माथिल्लो निकायमा जानकारी गराइसकेको भए पनि सुरु हुन नसकेको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटले जनाएको छ।
स्थानीय मौलिकता जोगाउने पक्षमा आफूहरू रहेको स्थानीय युवा सामाजिक कार्यकर्ता महेन्द्र श्रेष्ठको भनाइ छ। फूलपाती भित्र्याउने कार्यमा नेपाली सेनाको मैथलस्थित तालिम गण, जवरजंग गणबाट सरिक सैनिक टुकडीले मंगल सलामी र निशान झण्डा दिएका छन्।
तलेजुमा फूलपाती भित्राएपछि सवैले प्रसाद स्वरूप भैरवी र तलेजुको टिका ग्रहण गरेका थिए। तलेजु मन्दिरमा फूलपाती भित्र्याउने कार्यमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, विदुर नपाका मेयर राजन श्रेष्ठ, सरकारी कार्यालयका प्रतिनिधि, अन्य जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
विगतको कार्यहरूको निरन्तरताका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने विदुर नपाका मेयर राजन श्रेष्ठले प्रतिवद्धता जनाएका छन्। नुवाकोटको अर्को विशेष महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको बेलकोटको निरञ्जना भगवती मन्दिरको दसैं घरमा पनि आइतबार फूलपाती भित्र्याइएको छ।
बेलकोटगढी-१० को धन्सारबाट बोकेर लगिएको फूलपाती बाजागाजासहित जमरा घरमा भित्र्याइएको हो। यस मन्दिरमा काठमाडौं हनुमान ढोकाको वैद्धिक विधिअनुसार हरेक बडादसैंमा विशेष पूजा हुँदै आएको स्थानीयवासी पुर्व जनप्रतिनिधि वासु कडुवालको भनाइ छ।
दलित, आदिवासी जानजाती तथा ब्राम्हण समुदायले संयुक्त रूपमा जमरा राखेका कारण सो स्थानको गतिविधि निकै चर्चित रहेको छ। नुवाकोट भैरवी मन्दिरबाट फूलपाती बेलकोटमा भित्र्याउने चलन रहेपनि यो परम्परा लामो समयदेखि हराइसकेको स्थानीय निरञ्जना भगवती संरक्षण समितिका अध्यक्ष दिपकवहादुर मानन्धरको भनाइ छ ।
दसैंघर तथा देवी मन्दिरमा उखु, केरा, बेलपत्र, दारिम, जयन्ती धानका बाला, अशोकका पात, अदुवाका पल्लव तथा फलफूललाई शुभसाइतका प्रतीक फूलपातीका रूपमा भित्रयाउने गरिन्छ।
केही वर्ष अघिसम्म गोरखाबाट ल्याइएको फूलपाती नुवाकोटको भैरवी मन्दिरमा भित्र्याउने र भैरवी मन्दिरबाट ल्याएर बेलकोटको निरञ्जना भगवती मन्दिरमा भित्र्याउने गरिए पनि यो परम्परा पछिल्लो वर्षदेखि लोप भइसकेको स्थानीय बुढापाकाहरूको भनाइ रहेको छ।
सदियौंदेखि बेलकोटगढीमा बढादसैंको अवसरमा सामूहिक जमरा राख्ने गरिन्छ। सामूहिक राखिएको जमरा घरमा दुई जना रानामगर थर भएका व्यक्तिहरूले बोकेर ल्याएको फूलपाती भित्र्याएपछि बडादसैं विशेष मेलाको रौनक सुरु हुन्छ।
निरञ्जना भगवति मन्दिरमा महाष्टमीको राति कालरात्री गर्ने चलन रहेको छ। कालरात्री गरेको हेर्न विभिन्न स्थानबाट दर्शकहरू पुग्ने गरेको निरन्जना मन्दिरका उपासे मानबहादुर रानामगरले बताए। बडा दसैंको नवौँ दिन महानवमीमा पनि मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित पशुहरूको बलि दिने तथा अन्य मालश्री भन्ने लगायतका कार्यक्रम हुने गरेको छ। बेलकोटगढीको निरञ्जना भगवति मन्दिरमा सामूहिक जमरा राख्ने र विशेष मेला सञ्चालनका लागि बेलकोटगढी नगरपालिकाले सहयोग गरेको १० का वडाध्यक्ष प्रल्हाद थपलियाले बताए ।
डोलीमा बोकेर लगिएको फूलपाती बाजागाजासहित जमरा घरमा भित्र्याइएको हो। सो मन्दिरमा काठमाडौं हनुमान ढोकाको वैद्धिक विधिअनुसार हरेक बडादसैंमा विशेष पूजा हुँदै आएको छ।
सो स्थानमा राखिने सामूहिक जमरा नेपालमै चर्चित रहेको छ। यस अघि स्थानीयवासी तथा संघसंस्थाको आयोजनामा मन्दिर वरपर सरसफाई तथा बाटो मर्मत गरिएको छ।