बालेन दाइलाई चिठी  !

बालेन दाइलाई चिठी  !

प्रिय बालेन दाइ !

बूढीऔंलाको नङमा लागेको मसी देखाउँदै बा भन्छन्, ‘मेरो त्यो भोट बालेनजस्तोलाई परेको भए पनि मर्ने बेलामा एउटा त राम्रो काम गरें भनेर सन्तोष मान्न पाइन्थ्यो।’ बाको जिम्मेवारी बोध र आमाको समर्पणका कारण सिद्धि पाएको छ तिम्रो नामले। समाचारका शीर्षकहरूमा तिम्रो नाम उच्चारण भइरहन्छ। 

‘दिदी ! बालेन जत्रै कहिले हुन्छु ? बालेनको जस्तै गालामा कपाल कहिले पलाउँछ ?’ बालप्रश्नले खित्का छुटाउँछ। पेसाले शिक्षिका हुँ। प्लस टु सकाएकी छु। गाउँको सरकारी स्कुलमा भाइकै उमेरका भाइबहिनीलाई पढाउँछु। उनीहरूका अनेक बालप्रश्न मतिर तेर्सिन्छन्।

प्रश्न गर्न मन लाग्यो र सोधिहालें, ‘तिमीहरूले बालेनका बारेमा सुनेका छौ ?’ यत्ति के सोध्न भ्याएकी थिएँ, तँछाडमछाड गर्दै उत्तर दिन तम्सिए। ‘मिस ! बालेन भनेको नराम्रो काम गर्ने मान्छेको घर भत्काइदिने मान्छे हो है ?’ घरमा टीभी, रेडियो हुनेहरूले त समाचार सुनेको भरमा तिम्राबारे धेरथोर जानकारी लिएका छन्। अचम्ममा परें, स्कुलमा पढ्ने विद्यार्थी फरक पारिवारिक पृष्ठभूमिका थिए। अधिकांश समय जंगल र खेतबारीमा बिताउने बालबालिकाले तिम्राबारे कसरी थाहा पाए ?
न तिनको घरमा टीभी, रेडियो न त मोबाइल नै।

स्कुलमा वाईफाई छैन। बेलाबेला डाटा लिएर समाचार हेर्थें। निर्वाचन र जितेपछि अधिकांश समाचारको शीर्षकमा तिम्रै समाचार हुन्थ्यो। आदत नै बसेछ तिम्रा बारेमा अपडेट रहने। विद्यार्थी स्कुलको चौरमा तिम्रै गीत गाउँदै हिँड्छन्। कक्षामा विद्यार्थीलाई ‘तिम्रो भविष्यको लक्ष्य’ नामक शीर्षकमा निबन्ध लेख्न दिएँ। अधिकांश विद्यार्थी इन्जिनियर बन्न चाहन्थे, तिमीजस्तै देशप्रेमी र स्वतन्त्र व्यक्तित्व बनेर देशको धरोहर बन्न चाहेको लेखेका रहेछन्।

अहिलेका बालबालिका भर्सटाइल छन्। युवा फ्याक्टफुल छन्। हिजो बा फलानाका पार्टीका थिए, म उही हुनुपर्छ। यो उनीहरू स्वीकार्दैनन्। जनताको क्रेज सधैं एउटै वस्तुमा हँुदैन। देश भाषणले मात्रै चल्दैन। भाषण कम गरे पनि पुग्दोरहेछ, आफ्नो व्यक्तित्व र विचारलाई सधैं जनताको नायक बनेर प्रस्तुति दिनुपर्दो रहेछ भन्ने पाठ तिमीले निकै उच्च कोटीका राजनीतिक व्यक्तित्वहरूलाई सिकाएका छौ। वास्तवमै प्रणालीले देश चल्ने हो भने अपराध र अन्याय आफैं पर सर्छन्। कसैको कोही गुलाम बन्नु पर्दैन। जीवन जिउने बाटाहरू खुल्न थाल्छन्। अबोध मुनाहरूलाई अस्तित्वविहीन बनाई मिल्काउने मानवरूपीहरूलाई कुन डोजर लगाएर बाहिर निकाल्न सकिन्छ ?

तिम्रो इन्जिनियरिङ सीपले यो अपराधलाई पनि छिट्टै चिरफार गर्न सकोस्। पीडित पक्षलाई न्याय दिलाउन सक्नुपर्छ। परदेशमा पसिना बगाइरहेका महावीर दाइहरूको अनुहारमा तिमीमा जस्तै उत्साह देख्छु तर फरक यत्ति छ उनीहरूको पृष्ठभूमिमा अभावले खाडल बनाएको छ। खाडल पुरिन धेरै समय लाग्ला तर तिमीप्रतिको आशामा तुषारापात नहोस्।

प्रिय दाइ बालेन ! हरेक घरका बालेनहरू बूढो घरको मक्किएको दलिन फेर्न परदेसिएका छन्। पिँजडामा थुनिएरै भए पनि तिम्रा नाममा ताली पड्काएर समर्थन गरिरहेका छन्। टुकुचा जस्तै बनेका छन् धेरै बालेनरूपी दाइहरू। आमाको छातीमा बसेर पनि आफूलाई असुरक्षित महसुस गरेका धेरै चेलीको भरोसा बन्न थालेका छौ तिमी। तिमीप्रतिको यति धेरै प्रशंसा अनि भरोसा हाम्रो कमजोरी कहिल्यै नबनोस्। हरेक गाउँ, कुना कन्दरामा तिमी फुल्नुपर्छ। 

टुकुचा जसरी दबिएका आवाजहरूलाई तिमीले बुलन्द पार्नुपर्छ। शुभकामना बालेन दाइ।

माया गर्ने बहिनी !
– कमला अधिकारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.