सप्तरीमा १७६ जना चुनावी मैदानमा
राजविराज : आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरू गाउँगाउँ घुम्न थालेका छन्।
ठूला दलका उम्मेदवारहरू असन्तुष्ट कार्यकर्ता र बिद्रोही कार्यकर्ताहरूको चित्त बुझाउन समय खर्चिरहेका छन् भने चुनाव चिह्न पाएपछि स्वतन्त्र उम्मेदवारहरूले भेटघाट सुरुवात गरेका छन्।
अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारहरूको गतिविधि बढ्न थालेको हो। सप्तरीमा १ सय ८१ जनाको मनोनयन दर्ता भएकोमा कसैमाथि पनि दावी विरोध नपरेको र रद्द नभएको तर पाँचजनाले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार सप्तरीमा प्रतिनिधिसभाको चार सदस्यका लागि ७० जना र प्रदेशसभाको आठ सदस्यका लागि १०६ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि सप्तरीको निर्वाचन क्षेत्र १ बाट २० जना, क्षेत्र २ बाट १६ जना, क्षेत्र ३ बाट १८ जना र क्षेत्र ४ बाट १६ जना गरी ७० जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए।
यस्तै प्रदेश सभा १ (क) मा ११ जना, १ (ख) मा १० जना, प्रदेश २ (क) मा १७ जना, २ (ख) मा १४ जनाको उम्मेदवारी कायम रहेको छ। प्रदेश ३ (क) मा १८ जना, ३ (ख) मा ११ जना, ४ (क) मा १३ जना र ४ (ख) मा १२ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।
झण्डै आधा सङ्ख्यामा मतदाता रहेको महिलाको उम्मेदवारी भने १०.८० प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ। साना दल र स्वतन्त्रबाट १९ जना महिला उम्मेदवार भए पनि ठूला दलले एकै जना महिलालाई उम्मेदवार बनाएका छैनन्।
सप्तरीमा पुरुष मतदाता २ लाख १७ हजार २८२ छन् भने महिला मतदाता २ लाख १ हजार ७१ र अन्य २१ छन्। प्रतिनिधि सभा सदस्यका लागि पाँच जना तथा प्रदेश सभा सदस्यका लागि १४ जना महिला चुनावी मैदानमा छन्।