दुबोमै ४५ लाख
![दुबोमै ४५ लाख](https://annapurnapost.prixacdn.net/media/albums/WalingG_20221014094709_kFpGfOrAul.jpg)
स्याङ्जा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत वालिङमा हुने महिला फुटबल सञ्चालन गर्न मैदानको दुबोका लागि मात्रै ४५ लाख रुपैयाँ खर्चिएको छ। वालिङ–८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वालिङ नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए। प्रतियोगितालाई लक्षित गर्दै दुबोसहित अन्य पूर्वाधार निर्माणमा झन्डै एक करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए।
मैदानमा बिछ्याउने दुबो पोखरा र नारायणघाटबाट ल्याइएको हो। एक सय ७० स्क्वायर मिटर दुबो बिछ्याउन ४५ लाख रुपैयाँ खर्च भएको हो। राष्ट्रिय खेलकुद परिषद्ले १० लाख उपलब्ध गराउने भएको छ भने बाँकी रकम वालिङ नगरपालिकाले नै बेहोर्ने छ। यस्तै जिल्लास्थित गाउँपालिकाले दुई-दुई लाख र नगरपालिकाले तीन-तीन लाख सहयोग गर्ने भएका छन्। स्याङ्जामा पाँच नगरपालिका र ६ गाउँपालिका छन्।
नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन शुक्रबार पोखरामा भए पनि महिला फुटबल बिहीबारबाटै सुरु भएको छ। प्रतियोगिता कात्तिक ३ गतेसम्म जारी रहनेछ। खेल मैदानको स्तरोन्नतिसँगै राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्ने अवसर वालिङलाई जुटेकोमा स्याङ्जाबासी उत्साहित छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)