विकृतिको अखडा बन्दै झापा कारागार, आवाज उठाउने निर्दोष कैदीबन्दीकै सरुवा

विकृतिको अखडा बन्दै झापा कारागार, आवाज उठाउने निर्दोष कैदीबन्दीकै सरुवा

झापा : झापा कारागार भद्रपुरका चौकीदार (नाइके) समूहले अन्य कैदीबन्दीलाई यातना दिनुका साथै अवैध कारोबारको अखडा बन्दै गएको भनी एक जना महिलाले चार महिनाअघि झापाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी एउटा खुलापत्र लेखेकी थिइन्। कारागारबाट छुटेकी इलामकी महिलाले लेखेकी त्यो खुलापत्र सामाजिक सञ्जालमार्फत भाइरल भयो। कैदीबन्दीले भोग्दै आएका दयनीय पीडाबारे त्यस पत्रलाई आधार मानेर सञ्चारमाध्यममा समाचार आयो। 

समाचार सार्वजनिक भएसँगै कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्यो। जसले झापाका प्रहरी, प्रशासनभित्र खैलाबैला नै मच्चियो। जिल्ला प्रशासन कार्यालय झापाले तत्काल सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठक र राष्ट्रिय अनुसन्धान कार्यालयका डीएसपी दुर्गा चापागाईँको नेतृत्वमा छानबिन समिति गठन गर्‍यो। 

छानबिन समितिले महिला चौकीदार रिता राईलाई जिम्मेवारीबाट हटाउनुका साथै सुरक्षामा खटिएका सबै प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय तानियो। सो घटनाले तरङ्ग फैलिएपछि एक-दुई महिना कारागारभित्र आन्तरिक गतिविधि सबै ठिकठाक चल्न थाल्यो। तर, विडम्बना अहिले फेरि कारागारभित्र पहिलाकै जस्तो बेथिति मौलाएको छ। 

चौकिदार (नाइके) समूहको ज्यादतीले हद पार गरेपछि कारागारभित्रै चौकीदार पक्ष र पीडित कैदीबन्दी पक्षबीच कुटाकुट नै हुन थालेको छ। घटना विवरण अनुसार गत शनिबार बिहान करिब साढे १० बजे कारागारको महिला सेलमा दुई पक्षबीच विवाद भएको थियो। पीडित महिला बन्दीहरूले भ्रष्टाचारी चौकीदार चाहिँदैन भन्दै सोही  दिन राती फेरि विवाद गरेका थिए। पीडितहरूले चौकीदारलाई कोठाबाहिर बस भन्दै ताला नै लगाइदिए। ‘त्यसपछि दुवै पक्षबीच कुटाकुट भयो,’ एक कैदीबन्दीले भने।  

चौकीदार सीता कटुवाल, रिता राई, निशा राई (लुङगा०), रिना करुवा समूह र पीडित बनेका महिला बन्दीहरू कमला मास्के, विमला चाम्लागाई, विना तामाङ र उर्मिला सन्दास समूहबीच कुटाकुट भएको ती कैदीबन्दीले जानकारी दिए। 
कारागारभित्रै विवादसँगै कुटाकुट भएको घटना भएलगतै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेल घटनास्थल पुगेका थिए। झापा कारागार प्रशासनले पीडित कमला, विमला, बिना र उर्मिलालाई अन्यत्र सरुवाका लागि जिल्ला प्रहरी कार्यालय झापा पठायो। 

चौकीदार कटुवाल समूहमाथि कारागार प्रशासनले कुनै एक्सन लिएनन्। चौकीदार कटुवाललाई रिता, निशा र रिनाले प्रयोग गरिरहेका छन्। उनीहरूलाई झापामै राखियो।  प्रहरीले आइतबार बिहान चारै जना महिला बन्दीलाई वीरगन्ज कारागार पठाइसकेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। कारागारभित्रको घटनाको बारे प्रहरीले केही बोल्न नमिल्ने बताउँदै डीएसपी पाठकले भने, ‘कारागारको बाहिरी सुरक्षाको जिम्मा मात्र प्रहरीको हो, थप भित्री कुरा बुझ्नु पर्‍यो भने सीडीओ वा कारागार प्रशासनसँगै बुझ्नु पर्ने हुन्छ।’ झापा कारागारका निमित्त प्रमुख सुब्बा हिमा पौडेलले महिलाहरुबीच कुटाकुट नभइ विवाद मात्र भएको बताइन्। ताला लगाउने विषयमा विवाद भएको बताउँदै उनले भनिन्, ‘विवादलाई साम्य बनाउन चार जनालाई यहाँबाट वीरगन्ज सरुवा गरिएको हो।’ 

त्यस्तै असोज १० गते घटस्थापनाका दिन पनि पुरुष कारागार बेसमा चौकीदार समूह र अन्य कैदीबन्दीबीच कुटाकुट भएको थियो। चौकीदारले अवैध कारोबार चलाउनुका साथै मंहगी बढाएको भन्दै दुई पक्षबीच विवाद भएको थियो। घटनाले उग्र रुप लिएपछि कारागार प्रशासनले चौकीदार विशाल गिरी र टंक सार्कीलाई इलाम कारागार सरुवा गरेका थिए। चौकीदार गिरीको सरुवा भएपछि हाल लय सिवाकोटीलाई चौकीदारको जिम्मेवारी दिएको छ।

विकृतिको अखडा बन्दै कारागार 

कारागारभित्र चौकीदारले रक्सी, खैनी, सुर्ती, चुरोट, हुक्का चर्को मुल्य असुलेर बिक्री वितरण गर्नुका साथै पैसा लिएर तास खेलाउने गरेको कैदीबन्दीहरु बताउँछन्। राज्यले दिने सेवा सुविधाको भाग खोस्ने, बाहिरबाट सरसामान छिराउन नदिने, भित्र कुनै सामान किन्नु परेमा तीनदेखि चौगुना बढी रकम तिरेर किन्नुपर्ने चौकीदारको अत्याचारबाट कैदीबन्दीहरु गुज्रिरहेका छन्। 

चौकीदार समूहको विपक्षमा बोल्ने वा बाहिर आवाज उठाउने बन्दीहरूलाई मरणासन्न हुने गरी कुटपिट पनि गर्छन्। केही महिनाअघि रिहा भएकी निशा माझी, सविना चौधरी र आशा उप्रेतीलाई चौकीदार समूहले निर्घात कुटेका थिए। उनीहरू कारागारभित्रबाट बचेर बाहिर आएको घटना पनि कैदीबन्दी सुनाउँछन्। 

कारागार प्रशासन र सम्बन्धित निकायले त्यसतर्फ खासै चासो नदेखाएकोले कैदीबन्दीहरु चौकीदारको ज्यादती सहन बाध्य  रहेको भर्खरै रिहा भएकी निता प्रसाईँले अन्नपूर्णकर्मीलाई बताए। अपराध गरेको सजाय भोग्न कारागार गएका हुन्छ। ‘कारागारभित्र पनि चरम यातना सहनु कतिको जायज हो,’ प्रसाईँले भनिन्, ‘पहुँच र पैसा नहुने बन्दीहरूलाई भित्र निरिह बनाएर दैनिक पेलाइन्छ, कुटपिट गरिन्छ, छुट्टै राखिन्छ।’ 

राज्यले कैदीबन्दीलाई दैनिक ६० रुपैयाँ भत्ता र ७०० ग्राम चामल दिन्छन्। तर, चौकीदारले मासिक रुपमा सरसफाइको ४०, भान्सामा खान खाएको ८००, अन्य कामको भनेर ६० रुपैयाँ लिएर ९०० मात्र दिन्छन्। ७०० ग्राम चामलको हिसाबकिताब हुँदैन। ती चामल चौकीदारले बाहिर बेच्ने गरेको कारागारमा रहेको प्रसाईँले गुनासो पोखिन्। एक बुक तासको ८०० र एक क्वाटर रक्सी दुई हजारदेखि २५ सयमा बिक्री गर्ने गरेको उनको भनाइ छ। 

चौकीदारको अत्याचार सहेर बसेका पीडित कैदीबन्दीहरु कसैलाई केही भन्न सक्दैनन्। केही बोल्यो कि कुटिहाल्ने वा अन्यत्र सरुवा गर्ने धम्की दिन्छन्। चौकीदारको अत्याचारको सीमा नाघेपछि शनिबार मात्र केही महिला बन्दीहरूले आवाज उठाएका बताएका छन्।  ‘झापाका प्रहरी, प्रशासनले चौकीदार समूहलाई त्यतिकै छाडेर निर्दोष चार महिला बन्दीलाई अन्यत्र सरुवा गरिदियो,’ उनले भनिन्, ‘घटना भएपछि दुवै पक्षलाई राखेर यथार्थ बुझ्नु पर्नेमा पीडितहरूको कुरै नसुनी प्रशासन पक्षले एकलौटी ढङ्गबाट उनीहरूलाई मात्र वीरगन्ज पठाउनु कतिको जायज हो।’ 

यस बारेमा सीडीओ साब र एसपी साबलाई पनि जानकारी गराएको बताउँदै उनले भनिन्, ‘तर, उहाँहरूले पनि ज्यादती गर्ने चौकीदार समूहकै पक्षमा निर्णय लिनुभयो, यो घटनाले भित्र बस्ने अन्य कैदीबन्दीका लागि फेरि दुःखद हुन्छ।’ यता प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कारागार जस्तो संवेदनशील क्षेत्रमा यस्तो घटना हुन राम्रो नभएको प्रतिक्रिया दिएका छन्। 

कारागारमा विवाद भएको दिन आफू बाहिर रहेकोले घटनालाई सूक्ष्म रुपमा अध्ययन गर्न नपाएको बताउँदै प्रजिअ रिजालले भने, ‘चारलाई अन्यत्र सरुवा गरिएको जानकारी पाएँ। ती महिला निर्दोष हुन भन्ने पनि सुनियो। कारागार प्रमुखको सरुवा भएकोले पनि यस्तो समस्या आएको हो। यस घटनाको बारेमा फेरि बुझेर गलत गर्नेलाई कारबाहीका लागि सिफारिस गर्छु,’ उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.