राष्ट्रिय खेलकुदमा खेलाँची
![राष्ट्रिय खेलकुदमा खेलाँची](https://annapurnapost.prixacdn.net/media/albums/9th-sports-day-pokhara_20221015090353_9oYgSvnAwb.jpg)
६ हजारभन्दा धेरै खेलाडी। ३६ थरी खेलका ४ सयथरी इभेन्ट। विभागीय, गैरआवासीय र प्रदेशका समूहसमेत गरी ११ टोली। ४ सय स्वर्ण पदकका लागि प्रतिस्प्र्धा। शुक्रबार पोखरामा सुरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विशेषता धेरै छन्। देशका कुनाकन्दरा हुँदै आएका खेलाडीले आफ्नो खेलशिल्प र कौशल प्रदर्शन गर्ने र आफूलाई तिखार्ने, निखार्ने मञ्चका रूपमा यो प्रतियोगिता विशेष छ। सिंगो राष्ट्रलाई जोड्ने एउटा कडी भएकैले यसपालिको प्रतियोगिताको नारा पनि तय छ—एकताबद्ध देश, खेलकुदको सन्देश। साँच्चीकै खेलकुद देशको सान, मान बढाउने महत्वपूर्ण माध्यम पनि हो।
खेलाडीहरूलाई त्यसैले नै राष्ट्रका आभूषण मानिएको हो। २०३८ सालदेखि नेपालले सुरु गरेको राष्ट्रिय प्रतियोगितात्मक खेलकुद प्रत्येक २/२ वर्षमा आयोजना हुँदै आएको छ। पछिल्लो समय यसले समयको त्यो अन्तराललाई पछ्याउन सकेन। कोभिड महामारीले विश्व आक्रान्त हुँदा ४ वर्षको अन्तरालपछि गण्डकी प्रदेशलाई यो अवसर प्राप्त भएको छ। ३९ वर्षअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको ठाउँले लामो समयपछि मौका प्राप्त गरेको छ। यो प्रतियोगिता पर्यटकीय नगरी पोखराको पर्यटनलाई पुनर्जागरण गर्ने मौका पनि हो। खेलकुदले पर्यटनमा गर्ने योगदान छुट्टै छ।
खेलाडीहरूको ठूलो उत्साह रहने यस्ता राष्ट्रिय पर्वमा राज्यका तर्फबाट हुँदै आएका कमजोरी भने यसपालि पनि उस्तै रहे। तसर्थ खेलाडीमा उत्साह कम खल्लोपना बढी देखिएको छ। खेलकुदको महाकुम्भलाई जसरी राज्यले हरेक संस्करणमा थप आकर्षक बनाउँदै स्तर वृद्धि गर्नुपर्ने थियो, त्यता पटक्कै ध्यान पुगेको छैन। व्यवस्थापन पक्ष निकै फितलोमात्रै होइन लथालिंग छ। यस्ता प्रतियोगिता अघि खेलाडीले तयारी गर्नुपर्छ। गतिलो प्रशिक्षण उनीहरूलाई उपलब्ध गराइनुपर्छ। तर प्रतियोगिताअघि त्यस्तो अवसर खेलाडीले पाएनन्। कतिपय प्रशिक्षण त प्रशिक्षकबिनै पनि गरियो। त्यसलाई प्रशिक्षण भन्ने कि नभन्ने ?
खेलाडीले प्रशिक्षण र अभ्यास दौरान आवश्यक खेल सामग्री पाएनन्। सुटिङका खेलाडीले बन्दुकबिनै काठको खेलौनाका आधारमा त्यसको तयारी गर्नुपर्ने अवस्थाले राज्यको हविगत उजागर गर्यो। यसबाट के देखिन्छ भने राज्यले खेल र खेलाडीमाथि हदैसम्मको खेलाँची गरेको छ। एक त बजेट पर्याप्त खेलकुदलाई सरकारले कहिल्यै छुट्ट्याउँदैन। छुट्टिएको बजेट पनि खेलाडीसम्म पुग्दैन। त्यसैको नतिजा हो, खेलाडीले अभ्यास र प्रतियोगिताका लागि पोसाक पाएनन्। पोषण पाएनन्।
दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा पोखरामा राज्यले पूर्वाधारमा ठूलो लगानी गरेको थियो। त्यसैको प्रतिफल त्यहाँको रंगशाला निर्माण भयो। त्यही रंगशालाले झन्डै ४० वर्ष पोखराको खेलकुदका गतिविधि थाम्यो। यसपालि भने पूर्वाधारमा लगानी खास भएन। त्यही भएर स्कुलका मैदानमा समेत प्रतियोगिता खेलाइएको छ। निजी प्यार्टी प्यालेसमा खेल खेलाइएको छ। वास्तवमा त्यो बिजोग लज्जाको विषय हो।
कुनै पनि काम गर्दा कमजोरी नहुने भन्ने हुँदैन। हरेक काममा मानवीय त्रुटि हुन सक्छ। कमजोरी हुन सक्छ। तर राष्ट्रिय खेलकुुदको व्यवस्थापन भने टोलस्तरीय प्रतियोगिता जस्तो अव्यवस्थित र फितलो हुने गरी आयोजना गर्नु कमजोरी होइन, खेलकुदप्रतिको ठूलो भूल हो। झन् हरेकपटक हुँदै आएका कमजोरी दोहोरिने रोगले यसपालि पोखरालाई पनि अछुतो राखेन। यसको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय र सरकारकै थाप्लोमा जान्छ। राज्यले खेललाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने पुरातन नजरले हेर्ने रोगको उपज हो यो। जिम्मेवार अधिकारीहरूमा गम्भीरताको सवर्था अभाव र राजनीतिकर्मीको ध्यान घृणित कुर्ची प्रतिस्पर्धामा सीमित बन्दा खेलकुद जगत पीडित भएको छ। यस्तो दीर्घरोगको उपचार हुनुपर्छ। खेलकुद राष्ट्रको प्राथमिकताको क्षेत्रमा पर्नुपर्छ। असल र कुशल नागरिक उत्पादन गर्ने क्षेत्रमाथिको अन्याय र बेवास्ता अमान्य छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)