जग्गा खरिद गरेर दान
नुवाकोट : नुवाकोटको पञ्चकन्यामा विभिन्न सरकारी संरचना निर्माणका लागि जग्गा दान गरिएको छ।
पञ्चकन्या गाउँपालिकाका तेजबहादुर तामाङ (रमेश)ले गापाका विभिन्न स्थानमा स्वास्थ्य चौकी, प्रहरी कार्यालय र विद्यालयलाई आवश्यक जग्गा खरिद गरेर उपलब्ध गराएका हुन्।
उनले उपलब्ध गराएको जग्गा ३८ लाख रुपैयाँ बराबरको रहेको छ। अध्यक्ष तामाङले स्वास्थ्य चौकी, प्रहरी कार्यालय र विद्यालयलाई तीन कित्ता जग्गा आफ्नै रकमबाट खरिद गरेर दान गरेका हुन्।
तीनवटै कार्यालयलाई जग्गाधनी पुर्जासहित जग्गा हस्तान्तरण गरिएको हो। गाउँपालिका अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिका-३ मा प्रहरी चौकीको लागि दुई रोपनी जग्गा दान गरेका हुन्।
गाउँपालिका कार्यालय नजिकैको प्रहरी चौकीको स्थायी भवन निर्माणका लागि आफ्नै जग्गाको आवश्यकता परेपछि उनले व्यक्तिगत लगानीमा जग्गा खरिद गरेर प्रहरी चौकीलाई हस्तान्तरण गरेका हुन्।
उक्त जग्गाको मूल्य ६ लाख रुपैयाँभन्दा बढी रहेको पञ्चकन्या प्रहरी चौकीले जनाएको छ। यस्तै, पञ्चकन्या स्वास्थ्य चौकीलाई भवन निर्माणका लागि गाउँपालिका अध्यक्ष तामाङले ५ रोपनी जग्गादान गरेका छन्। उक्त जग्गाको मूल्य २४ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
यसका साथै गापा अध्यक्ष तेजबहादुर तामाङले पन्चकन्या-३ स्थित पञ्चकन्या माविलाई भवन निर्माणका लागि नौं लाख रुपैयाँ बराबरको जग्गादान गरेका छन्।
विद्यालय आसपासमा रहेको आठ लाख मूल्य बराबरको ६ रोपनी १२ आना जग्गा अन्य व्यक्तिसँग खरिद गरेर विद्यालयकै नाममा अध्यक्ष तामाङले पास गरिदिएको विद्यालयले जनाएको छ।
गाउँपालिका अध्यक्ष तामाङले तीनवटा कार्यालयका लागि ३८ लाख रुपैयाँभन्दा बढी रकमको जग्गा खरिद गरेर दान गरेका हुन्।
विद्यालय, प्रहरी तथा स्वास्थ्य कार्यालयलाई व्यवस्थित र थप प्रभावकारी पार्नका लागि आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष तामाङले बताए।
सार्वजनिक जमिनको संरक्षणमा आफू सचेत रहेको र संवेदनशील निकायहरूलाई परेको जग्गाको अभाव टार्न निजी लगानीमा सहयोग गरिएको उनले बताए।