नेपाली चलचित्रमा तिहार

नेपाली चलचित्रमा तिहार

'तिहारै आयो लौ झिलिमिली 

सुन हजूर भैलिनी आईंन आँगन ' 
जब तिहार नजिकिन्छ, तब चलचित्र 'स्वर्ग'को यो गीत गाउँ, शहर र बजारमा घन्कन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्कन थालेको पनि २५ वर्षभन्दा बढी भैसक्यो । आज पनि यो गीतको चर्चा, वजन र उचाईमा कमी आएको छैन । लगभग तीन पुस्ताले यो गीत गाएका छन् भने सुन्नेहरू पनि त्यति नै  पुगिसके । 

२०५० सालमा बनेको यो चलचित्रको तिहार झल्काउने यो गीत आज पनि जनजिब्रोमा झुण्डिरहेको छ । चलचित्र स्वर्ग अघि र पछि पनि तिहारको भैंलो सम्बन्धि गीत-संगीत नबनेका होइनन्, तर शम्भूजित बाँस्कोटाको संगीत, लोचन भट्टराई र नुतन प्रधानको आवाज रहेको यो गीतको चर्चालाई तिहार सम्बन्धि अन्य गीतले छायांमा पार्न सकेको देखिँदैन । 

 नेपाली चलचित्रमा समावेश भएका तिहारका गीतमध्ये कालजयी गीत बन्न सफल यो गीतमा अभिनय गर्ने अभिनेत्री गौरीमल्लको मानस्पटलबाट आज २५ वर्षसम्म पनि यो गीतको छायांकनको क्षण हट्न सकेको छैन । उनले विगत यसरी सम्झिन, 'मैले जीवनमा धेरै राम्रा गीतमा काम गर्ने अवसर पाएँ । ती गीतमध्ये यो गीत मलाई चिनाईरहने र दर्शक माझँ सम्झाइरहनेको सूचीमा पर्छ । हामीले यो गीत चांगुनारायण क्षेत्रमा खिचेका थियौँ । तीन रात निकै मेहनत गरेर खिचेको यो गीत मेरो कलाकारिताको उच्चतम उपलब्धि भित्र पर्दछ।'

शम्भू प्रधानको निर्देशन अनि अर्जुन श्रेष्ठ निर्माता रहेको चलचित्र स्वर्गको यो गीतको अडियो चक्का नै तात्कालिन समयमा धेरै बिकेको थियो । यो गीतको भिडियोमा बसन्त श्रेष्ठको नृत्य निर्देशनले झनै जीवन भरेको छ ।

चलचित्र स्वर्गको तिहार सम्बन्धि यो गीतसँगै तुलना गर्ने अर्को गीत चलचित्र चिनोको  'दियो बाली' हो ।

दियो बाली साँझको 
फूल चढाई पूजाको 
माता लक्ष्मी बसीदेउ आज 
घर संसार सानो हाम्रो 

चलचित्र चिनोको यो गीतमा रञ्जित गजमेरको संगीत छ, भने निर्देशक तुलसी घिमिरे हुन । यो गीतमा स्वर्गीय सुभद्रा अधिकारी अर्का स्वर्गीय कलाकार केशब भट्टराईको अभिनय छ । साथमा खलपात्रको रूपमा सुनिल थापाले अभिनय गरेका छन् । अहिले भारतीय चलचित्र बजारमा व्यस्त थापाले यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए । चलचित्र चिनोमा  सुनिल थापाको पहिलो दृश्य तिहार सम्बन्धि यही गीतमा समावेश गरिएको छ । 

तिहारकोआगमनसँगै रेडियो, टेलिभिजन तथा घरघरमा घन्किने गीतको सूचीमा यो गीत पर्छ । 

त्यस्तै चलचित्र ‘अन्याय’मा समावेश भैलेनी आइन आँगन भन्ने गीत पनि धेरै बज्ने गीत हो । २०४६ सालमा रिलिज भएको चलचित्र अन्यायको यो गीतमा रनजित गजमेरको संगीत छ भने गीतमा मनिला सोताङलेआवाज दिएकी छन । 

यो चलचित्रलाई तुलसी घिमिरेले निर्देशन गरेका छन् भने विश्व बस्नेत र मीरा माधुरी यो चलचित्रका कलाकार हुन् । 'चलचित्रमा हामीले गीत मात्र होइन, टीका लगाएको र तिहारको थप परिवेसलाई पनि समेटेका छौं । यी कारणले यो चलचित्र हेर्न पारिवारिक दर्शकहरूको भिड लागेको थियो,' चलचित्र अन्यायका नायक तथा निर्माता विश्व बस्नेतले जानकारी दिए ।

पुराना चलचित्रहरूमा भैलीनी सम्बन्धि गीतहरू समावेश गरिएता पनि अर्को पुरानो चलचित्र 'विजय पराजय' मा भने भाइटीकालाई गीतमा प्रस्तुत गरिएको छ । बहिनी बनेकी रूपा रानाले दाजु बनेका दुई अभिनेता भूवन केसी र कृष्ण मल्ललाई  भाइटीका लगाएको दृश्यलाई गीतमा निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । गीतमा नै बहिनीले आशिष  दिएकी छन । 

निधारमा लर्काएर सप्तरंगी टीका 
हिँडिरहु सधैँ तिमी शिखरको बाटो 
ओखरमा फोरी दिएँ बाधाहरू मैले...

राजेन्द्र शलभ निर्देशक रहेको चलचित्र विजय पराजयको यो गीतमा शम्भूजित बाँसकोटाको संगीत छ भने गीत दिनेश अधिकारीले लेखेका हुन । २०४७ सालमा प्रदर्शनमा आएको चलचित्र विजय पराजयमा समावेश दाजु र बहिनीबीचको आगाध माया प्रस्तुत गर्न सफल यो गीत पनि तिहारमा धेरै घन्कने गीत हो । 

चलचित्रमा तिहारको गीतलाई आकर्षणको रूपमा धेरै चलचित्रहरूले राख्ने गरेता पनि भाइटीकालाई नै प्रमुख कथा बनाएर र नाम नै भाइटीका राखेर निर्माण गरिएको चलचित्र भने ‘भाइटीका’ हो । १७ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र भाइटीकालाई लक्ष्मीनाथ शर्माले निर्देशन गरेका हुन । 

अर्को चलचित्र बन्दीमा पनि तिहार सम्बन्धि गीत समावेश गरिएको छ । सन्चिता लुईंटेल अभिनित चलचित्र बन्दीको तिहार सम्बन्धि ‘भैंलो खेलौं है भैलिनी हो…..’गीत दयाराम पाण्डेले लेखेका हुन । यो गीतलाई अन्जु पन्तले गायकी छन्  । संगीत महेश खड्काको छ । 


एक  समय नेपाली सिनेमामा चाडपर्व र रीतिरिवाजले अत्याधिक प्राथमिकता पाउने गर्दथ्यो । सिनेमामा यस्ता पक्ष समावेश गर्दा सर्जकहरूले समाजप्रति कर्तव्य निभाएको प्रतित हुन्थ्यो र हलमा पारिवारिक दर्शक पनि जाने गर्दथे । सिनेमाले  समाज र संस्कृति बारे बोल्दा वा यस्ता विषय उठान गर्दा भावी पुस्ताले पनि सिनेमामार्फत चाडपर्व र रीतिरिवाजको जानकारी लिनसक्थे । 

आजभोलि बन्ने सिनेमाले यस्ता कुरा बिर्सन थालेको आरोप पनि लाग्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.