मल्लिकार्जुनको छलाङ

मल्लिकार्जुनको छलाङ

भारतीय राष्ट्रिय कांग्रेस पार्टीले स्थापनाको १ सय ३७ वर्षपछि नयाँ इतिहास रचेको छ। दक्षिण भारतको दलित परिवारका नेता पार्टी नेतृत्वमा पुगेका हुन्। पार्टी अध्यक्ष पदका लागि भएको निर्वाचनमा शशि थरुरलाई हराउँदै मल्लिकार्जुन खड्गे विजयी भएका छन्। उनी पार्टीका ९८औं अध्यक्ष हुन्। प्रायः सर्वसम्मतिबाट नेतृत्व चयन हुने गरेको कांग्रेसले निर्वाचित अध्यक्ष पाएको यो छैटौं पटक हो। थरुरको भन्दा ८ गुणा बढी मत ल्याएर खड्गेले जनतामाझ लोकप्रियता साबित गरे। खड्गेले कुल मतको ८४.१४ प्रतिशत पाए। थरुरले ११.४२ प्रतिशत पाए ।

भारत स्वतन्त्र भएयता पार्टीको कमान्ड प्रायः गान्धी परिवारमा रहँदै आएको थियो। खड्गेको जितले करिब साढे दुई दशक अवधिमा पार्टीको नेतृत्व गैरगान्धी परिवारका नेतामा पुगेको छ। सोनिया गान्धी, राहुल गान्धीलगायतका कांग्रेसका वरिष्ठ नेताहरूको समर्थन खड्गेलाई रहेकाले उनले चुनाव जित्ने अनुमान पहिले नै गरिएको थियो। नतिजा पछि कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीलाई पार्टीमा उनको भूमिकाका विषयमा पत्रकारको जिज्ञासामा उनले भने, ‘म कांग्रेस अध्यक्षको भूमिकामा अवश्य पनि टिप्पणी गर्न सक्दिनँ। यसमा खड्गेज्यूले नै गर्नुपर्छ। जहाँसम्म मेरो भूमिकाको सबाल छ, म एकदमै स्पष्ट छु। सभापतिले मेरो भूमिकाबारे निर्णय गर्नुहुनेछ।’

जितपछिको लक्ष्य

जितपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्गेले पनि पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीको भारत जोडो अभियानमा सघाउन सबैलाई अपिल गरे। आज देशमा महँगी धेरै बढेकाले धनी र गरिबबीचको खाडल धेरै बढेको बताउँदै उनले पूर्वअध्यक्ष गान्धीको कश्मीरदेखि कन्याकुमारीसम्मको भारत जोडो अभियानमा काँधमा काँध मिलाएर अगाडि बढ्न जनतालाई आग्रह गरेका हुन्। देशले स्वतन्त्रता हासिल गरेको ७५ सालको इतिहासमा कांग्रेसले लगातार देशको लोकतन्त्र बलियो बनाउँदै आएको उनले बताए।

देशमा लोकतन्त्र खतरामा रहेको अवस्थामा कांग्रेसले अध्यक्ष पदको निर्वाचन गराएर लोकतन्त्रलाई बलियो बनाउन उदाहरण प्रस्तुत गरेको प्रतिक्रिया पनि उनको छ। खड्गेले अक्टोबर २६ तारिखका दिन पदबहाली गर्ने तालिका छ। गान्धी परिवारले पार्टी अध्यक्ष बन्ने दौडमा भाग नलिने निर्णय गरेपछि खड्गे र थरुर यस पदका लागि दाबेदार बने। थरुर खड्गेसँग भारी मतले पराजित भए। यद्यपि नतिजापछि भारतका पूर्वविदेश राज्यमन्त्री थरुरले खड्गेको प्रशंसा गर्दै भने, ‘हाम्रो पार्टीको पुनर्उत्थान आजदेखि साँच्चिकै सुरु भएको विश्वास गरेको छु।’

पार्टी रूपान्तरणको चुनौती

कांग्रेस अध्यक्ष पदमा रहेकी सोनिया गान्धीको स्थान खड्गेले ओगटेका छन्। गान्धीले १९ वर्ष पार्टीको नेतृत्व सम्हालिन्। सन् १९९८ मा सीताराम केशरीलाई गान्धीले विस्थापित गरेकी थिइन्। पाँचवर्षीय कार्यकालमा दुई वर्ष बिताउन नपाउँदै उनलाई हटाइयो। अध्यक्ष पदमा जितसँगै खड्गेका सामु थुप्रै चुनौती छन्। कांग्रेस पार्टीलाई रूपान्तरण गरेर जनतासँग जोड्नु पहिलो चुनौती हो। आगामी चुनावमा पार्टीलाई मजबुत बनाएर यसको विजयी सुरुआत गराउनु महत्त्वपूर्ण पाटो हो। उनलाई आफू गान्धीको ‘प्रतिनिधि’ नभएको सावित गराउनु पनि कठिन कार्य देखिन्छ।

नजिकबाट मल्लिकार्जुन
८० वर्षीय खड्गे कर्नाटक राज्यको दलित समुदायका हुन्। मपन्ना खड्गे र साइबभ्व खड्गेका सन्तानका रूपमा उनको जन्म सन् १९४२ मा बिदार जिल्लामा भएको थियो। कर्नाटकमा भएको साम्प्रदायिक दंगामा उनले आमा गुमाएका थिए। त्यतिबेला आगोमा परी उनको सम्पूर्ण परिवार जलेको थियो। यही कारण उनी छिमेकी जिल्ला गुलबर्गामा सर्न बाध्य भए र त्यहीँ हुर्किए। गुलबर्गाको नूतन विद्यालयबाट विद्यालय शिक्षा पूरा गरे पछि त्यहीको एक सरकारी क्याम्पसबाट स्नातक पूरा गरे। उनले गुलबर्गाकै सेठ शंकर राहोटी कानुन कलेजबाट कानुनको उपाधि हासिल गरे। न्यायाधीश शिवराज पाटिलको कार्यालयमा जुनियरको रूपमा उनले कानुनी अभ्यास सुरु गरे। सुरुमा उनले ट्रेड युनियनका मुद्दाहरूमा काम गरे।

मल्लिकार्जुनको राजनीतिक करियर

कलेज पढ्दा नै उनले राजनीतिक यात्रा सुरु गरेका हुन्। स्नातक अध्ययनरत रहँदा उनी गुलबर्गाको सरकारी कलेजमा विद्यार्थी संघको महासचिवको रूपमा निर्वाचित भए। सन् १९६९ मा उनलाई मिल कर्मचारी संघको कानुनी सल्लाहकार बनाइयो। मजदुरका हकहितका लागि भएका धेरै आन्दोलनमा उनी सहभागी भए। त्यही वर्ष उनी भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध भए र गुलबर्गा सहर कांग्रेस समितिको अध्यक्षसमेत बने। सन् १९७२ मा उनी पहिलो पटक कर्नाटक राज्य विधानसभाको गुरमितकल निर्वाचन क्षेत्रबाट चुनाव लडे र विजयी भए। सन् १९७३ मा उनी अख्तियार उन्मूलन समितिको अध्यक्ष बने। यसैको एक वर्षपछि छाला विकास निगमको समेत खड्गे अध्यक्ष भए।

सन् १९७६ मा खड्गेलाई शिक्षा राज्यमन्त्री बनाइयो। सन् १९७८ मा उनी दोस्रो पटक गुरमितकल निर्वाचन क्षेत्रबाट विधायक बने। त्यसैगरी सन् १९८३, सन् १९८५ र सन् १९८९ मा क्रमशः तेस्रो, चौथो र पाँचौं पटक विधायक बने। उनी सन् १९९० मा राजस्व, ग्रामीण विकास र पञ्चायत राज्यमन्त्री नियुक्त भए। यसपछि पनि सन् १९९४, १९९९, २००४ र २००८ मा उनले गुरमितकलबाट नै कर्नाटक विधानसभाका लागि लगातार चुनाव जिते। सन् १९९९ मा उनी कर्नाटकको मुख्यमन्त्री पदको दौडमा अगाडि आए। विगत २० वर्षमा कांग्रेसले कर्नाटकमा धेरै पटक सरकार बनाउने मौका पायो। तर उनलाई कहिले मुख्यमन्त्री बनाइएन।
 मल्लिकार्जुनको राजनीतिक करियर ५० वर्षभन्दा लामो छ। त्यसयता उनी आठ पटक विधायक र दुई पटक सांसद भइसकेका छन्। 

सन् २००४ मा गठबन्धन सरकारमा उनी यातायात तथा जलस्रोत मन्त्री भए। यसको एक वर्षपछि कर्नाटक प्रदेश कांग्रेस समितिको अध्यक्ष नियुक्त भए। खड्गे सन् २०१४ को आम निर्वाचनमा गुलबर्गा संसदीय सिटमा लडे र जिते पनि। उनले भाजपाका प्रतिद्वन्द्वीलाई १३ हजारभन्दा बढी मतले हराएका थिए। २०१४, जुनमा उनी लोकसभामा कांग्रेस पार्टीको नेता नियुक्त भए। १२ जुन २०२० मा खड्गे कर्नाटकबाट राज्यसभामा निर्वाचित भए र फेब्रुअरी २०२१ मा लोकसभामा विपक्षी नेता बने।

खड्गे अध्यक्ष भएपछि कांग्रेसलाई कति फाइदा 

दक्षिण भारतसँग कांग्रेसको विशेष सम्बन्ध छ। त्यसैले दक्षिण भारतबाटै पार्टी अध्यक्ष बन्दा अब कांग्रेसलाई के फाइदा हुन्छ भन्नेमा धेरैको चासो हुन सक्छ। कांग्रेसले खड्गेलाई दलित नेताका रूपमा प्रस्तुत गरे पनि पार्टीको आगामी बाटो उनका लागि निकै कठिन भएको विश्लेषक बताउँछन्। विश्लेषकका अनुसार कांग्रेस र खड्गेका सामु वास्तविक परीक्षा कर्नाटकमा हुनेछ।

कर्नाटकमा अर्को वर्ष चुनाव आउँदैछ। यहाँ भाजपा धेरै बलियो छ। खड्गेको जितले कर्नाटकमा राम्रो सन्देश पुगेको छ। तर पनि यसले पार्टीलाई कति बलियो बनाउँछ भनेर अहिले अनुमान गर्न सकिन्न। उनलाई अध्यक्ष बनाएर कांग्रेस कर्नाटकमा पुनः सत्ता हातमा लिन चाहन्छ। तर सन् २०१९ मा उनी आफैंले त्यहाँ चुनाव हारेका थिए। त्यतिबेला ९५ हजार ४ सय ५२ मतान्तरले जाधवले खड्गेलाई हराएका थिए। त्यसैले कांग्रेसले आशा गरेअनुसार पूरै कर्नाटकमा खड्गेको राजनीतिक पकड त्यति बलियो नभएको विश्लेषण छ। खड्गे आठ वर्षयता दिल्लीमै बसेर राजनीति गरिरहेका छन्।

राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा परीक्षा

भारतमा अर्को वर्ष ९ राज्यको विधानसभा चुनाव हुँदैछ। त्यसमध्ये कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तीसगढको विधानसभा चुनाव सबैभन्दा महत्त्वका साथ हेरिएको छ। सन् २०२४ मा हुने लोकसभा चुनावको करिब ६ महिना अगाडि यी तीन राज्यमा चुनाव हुन लागेको हो। सन् २०१८ मा कांग्रेसले यी तीन राज्यमा भाजपा सरकारलाई हराएर ठूलो जित हासिल गरेको थियो। तर डेढ वर्षपछि मध्यप्रदेशमा ज्योतिरादित्य सिन्धियाको विद्रोहका कारण त्यहाँको सत्ता कांग्रेसको हातबाट फुत्किएर भाजपाको हातमा पुगेको थियो।

५० वर्ष लामो राजनीतिक अनुभव

खड्गेको राजनीतिक करियर ५० वर्षभन्दा लामो छ। त्यसयता उनी आठ पटक विधायक र दुई पटक सांसद भइसकेका छन्। यति लामो राजनीतिक यात्रामा उनले एक पटक मात्र हार व्यहोरे। उनको यति लामो राजनीतिक अनुभवका आधारमा उनलाई एक कुशल नेताका रूपमा चिनिन्छ। यही कौशलले उनले भारतीय कांग्रेसको कायापटल गर्न सक्लान् त भन्नेमा धेरैको चासो छ।

अध्यक्ष पदका लागि प्रचार गर्दा शशि थरुरले खड्गेलाई यथास्थितिवादी भएको आरोप लगाएका थिए। थरुरको आरोपको जवाफमा कांग्रेस प्रवक्ताले निर्वाचनपछि कांग्रेस संगठनमा व्यापक परिवर्तन गरिने बताए। यस्तो अवस्थामा सामाजिक सल्लाहकार परिषद् गठन गर्ने प्रस्ताव पनि आएको छ। यस परिषद्ले समाजका विभिन्न वर्गहरूलाई समेट्नेछ। 
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.