हराउँदै पिङको रौनक
नुवाकोट : आधुनिकताका कारण नेपालीहरूको परम्परागत विविध प्रकारका पिङको रौनक नुवाकोटमा हराउँदै गएको छ। छिटपुट स्थानमा बाहेक हाल पिङको संस्कृति हराउँदै गएको छ।
नेपालीको ठूला पर्वहरू दसैं तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द बेग्लै छ। तर, केही वर्षयता नुवाकोटका गाउँघरमा पिङ कमै देख्न पाइन्छ।
केही स्थानहरूमा पिङको संरक्षणका लागि स्थानीय सरकार, सामाजिक संघसंस्था तथा युवा कलबहरूले सक्रियता देखाएपनि आधुनिकताले गाँजेका कारण पिङको प्रभावकारी रूपमा संरक्षण हुन नसकेको वृद्धवृद्धाहरूको भनाइ छ।
नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने लिंगे, जाते, रोगटे लगायतका पिङ पहिले पहिले हरेक टोल र गाउँ-गाउँमा हालिने गरेकोमा यस वर्ष नुवाकोटका केही स्थानमा मात्रै सीमित रहेको छ।
पिङको महत्वलाई साथ दिएर नुवाकोटको तारकेश्वर गापाले यस वर्ष रोगटे पिङ संरक्षण कार्य गरेर गाउँमा पिङ हालेको थियो।
पिङको संरक्षण गर्नका लागि गापाले पिङ निर्माणमा सहयोग गरेको गापा अध्यक्ष शिव अधिकारी अबिरलले बताए।
नेपालको परम्परा र चाडपर्वलाई खुशी साथ मनाउनका लागि पिङको ठूलो महत्व रहेको तारकेश्वर-२ का वडाध्यक्ष शिव पनेरुले बताए। उनले संरक्षणको निरन्तरता जरुर रहेको बताए।
विगतका वर्षमा भन्दा पिङको सङ्ख्या घटेकामा अबका पुस्ताले पिङका विषयमा कमै जानकारी लिने गरेको बेलकोटगढी-८ का वृद्ध नीलप्रसाद पुडासैनी चिन्तित छन्।
चाडपर्वका समयमा एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने किम्वदन्तीअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ।
वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर चाडपर्वलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेको पिपलटारका सोमराज गजुरेल बताउँछन्।
पहिले आफूहरूको समयमा चाडपर्वमा पिङ खेल्न पाइएन भने मज्जा नै नआउने उनी बताउँछन। सोमराजजस्तै पिङ खेलेर मज्जा लिनेहरू गाउँमा धेरै भए पनि पिङ भने कमैमात्र देखिन थालेका छन्।
केही दशक अघिसम्म टोल र गाउँभरिका बासिन्दा जम्मा भएर दोहोरी गीत गाउँदै रातभर जाग्राम बसेर पिङ खेल्ने गरेको पिपलटारकै वृद्ध कृष्णप्रसाद गजुरेल बताउँछन।
रातभर जाग्राम बसेर दोहोरी गाउँदै पिङ खेल्दा छुट्टै मज्जा हुने गरेको बताउँदै गजुरेल अहिले गाउँघरमा पिङ बिरलै देख्न पाइएको बताउँछन।
पहिला-पहिला पिङ खेलेर रमाइलो गर्दै चाडपर्व मनाउनेहरू हाल आधुनिकताका कारण आधुनिक प्रकारका खेलहरू खेलेर समय कटाउने गरेका छन्।
लामो समयदेखि नेपाली र नेपालको संस्कार बनेको पिङको संस्कृति हराउँदै गएकोमा सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्।