बन्दीहरूले कारागारमै लगाए भाइटीका
नुवाकोट : नुवाकोट जिल्ला कारागार ढुंगेका कैदी बन्दीहरूले एक आपसमा खुसीयाली साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको तिहार पर्व मनाएका छन्।
विदुर नगरपालिका-१ ढुंगेमा रहेको जिल्ला कारागारमा बन्दीजीवन व्यतित गरिरहेका बन्दीहरूले बिहीबार एकआपसमा भाइटीका लगाउनुका साथै सामूहिक रूपमा देउसीभैलो खेलेर यस वर्षको तिहार मनाएका हुन्।
विभिन्न मुद्दामा कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन बिताइरहेकाहरूले कारागारभित्रै आपसमा रमाइलो गर्दै तिहार मनाएको कारागार कार्यालयले जनाएको छ।
कारागारमा रहेकाहरूले नै दाजुभाई र दिदीबहिनी मानेर एकआपसमा भाइटीका लगाएका हुन्।
कैदीबन्दीहरूलाई कारागारमै पुगेर बिहीबार बिहान नौ बजेदेखि नै आफ्ना दिदीबहिनी तथा दाजुभाइले भाइटीका लगाइदिएको कारागारका जेलर गंगालाल योगीले जानकारी दिए।
कतिपय बन्दीहरूले कारागारमै दाजुभाई तथा दिदीबहिनी मानेर सप्तरंगी टीका लगाए भने केहीका दिदीबहिनी पनि कारागारमै आएर भाइटीका लगाइदिएको योगीले बताए।
कारागारमा १५ महिलासहित एकसय ६७ जना कैदीबन्दी छन्।